प्रधानमन्त्री स्वदेश फर्कने तालिका फेरि सर्‍यो, सोमबार आउनसक्ने सम्भावना

फाइल तस्बिरः बिएल

काठमाडौं । स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने तालिका फेरि सरेको छ।

यसअघि शुक्रबार र आइतबार फर्कने भन्दै दुई पटक सरेको उनको स्वदेश आउने कार्यतालिका फेरि पछि सरेको हो।

प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले ओली आइतबार स्वदेश नफर्कने भएका हुन्।

अस्पतालले आइतबार साँझसम्ममा रिपोर्ट आउने जानकारी दिएपछि प्रधानमन्त्री ओली सोमबार स्वदेश फर्कने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालले जनाएको छ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराइरहेका छन्।

नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै प्रधानमन्त्री ओली साउन १८ गते सिंगापुर प्रस्थान गरेका थिए।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन्।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले आफ्नो स्वास्थ्य परीक्षणलाई उत्तिकै महत्व दिँदै आएका छन्। उनको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको थियो।

अधिकांश समय थाइल्याण्ड जाने गरेका प्रधानमन्त्री यसपटक सिंगापुर गएका हुन्। केही समयदेखि स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली केही दिन यताका कार्यक्रममा उपस्थिति न्युन गराएका थिए।

 

प्रकाशित मिति: : 2019-08-11 09:38:56

प्रतिकृया दिनुहोस्