मिटरव्याज पीडित आन्दोलन

ज्ञानेन्द्र शाहीले आन्दोलनको आगोमा आफ्नो रोटी सेक्न खोजेपछि लखेटेका हौं: थोमन (भिडियोसहित)

महोत्तरीको बर्दिवासदेखि १२ दिन पैदल हिँडेर काठमाडौंमा न्याय माग्न आएका मिटरव्याज पीडितहरु तीन दिनदेखि धर्नामा छन्। उनीहरु चैत्र २ गतेदेखि सरकारलाई दबाब दिन काठमाडौंका लागि पैदल यात्रा गरेका थिए।

चैत्र १३ गते काठमाडौँको खुलामञ्चमा आएका पीडितहरुले १४ गते बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा आन्दोलन गरे। त्यसपछि उनीहरु दिउँसो माइतीघर मण्डलामा धर्ना दिन आएका थिए।

माइतीघरमा धर्ना दिन थालेका पीडितको आन्दोलनलाई समर्थन गर्न प्रतिनिधिसभा सदस्य तथा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही पुगे। तर, उनलाई राजावादीको समर्थन चाहिँदैन भन्दै विरोध भयो। जसमा केही युवाहरु र केही मिटरव्याज पीडितहरुले बिरोध जनाएका थिए।

त्यसपछि सांसद शाही पीडितहरुलाई नभेटेर उनी फर्किए। उनले बाहिरबाट आएका केही ब्यक्तिबाट घुसपैठ भएको भन्दै प्रतिक्रिया दिइरहेका छन्। पीडितहरुले पनि घुसपैठ भएको भनेर प्रतिक्रिया दिएका छन्।

विशेष गरेर घुसपैठ गरेको भन्दै आन्दोलनमा सहभागी भएका युवा थोमन एक्सलाई आरोप लागिरहेको छ। आज हामीले उनलाई किन सांसद शाहीलाई आन्दोलनको समर्थन गर्न नदिएको ? किन घुसपैठ गरेको लगायत प्रश्न गरेका छौँ। बिएल नेपाली सेवाले उनै आरोप लागेका युवा थोमनसँग कुराकानी गरेकाे छ। प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः 


सांसद ज्ञानेन्द्र शाहीमाथि घुसपैठ भएको हो ?

सांसद ज्ञानेन्द्र शाहीमाथि घुसपैठ गर्ने यही हो भनेर म माथि आरोप लागिरहेको छ। यसको म खण्डन गर्छु। अहिले केही मिडियाबाट गलत सूचना प्रवाह भइरहेको छ। गलत सूचनाका कारण मेरो परिवारबाट तँ किन त्यस आन्दोलनमा गएको भनेर भन्न थालिएको छ।

तर, तपाईंहरुले देखिरहनुभएको छ। निरन्तर आन्दोलमा हामीहरु छौँ। आन्दोलन सुरु गरेदेखि मलगायत साथीहरु यही नै छौँ। जो तराईमुलकै एक जनाले मलाई भगौडा भन्नुभयो। उहाँ चाहिँ ज्ञानेन्द्र शाहीसँग आउनुभएको रहेछ। उहाँले भनेको जस्तो म भगौडा होइन। म भगौडा भएको भए अहिले बाहिर हुन्थे होला म।

म पीडित त होइन तर म आन्दोलनको सहयोगी हुँ। सबैलाई थाहा छ। पहिले पनि मलाई पत्रकारहरुले कभर गर्नुभएको थियो। सुस्ता आन्दोनल वा सुस्ताबाट आएका मिटरव्याज पीडितहरुले आन्दोलन गर्दा म पनि थिएँ। त्यहाँ प्रहरीले धरपकड गर्दा मेरो टाउकोमा चोट लागेको थियो। कीर्तिपुर अस्पतालमा मेरो टाउकोमा चार वटा टाँका लगाइएको थियो।

अहिले पनि तपाईं यो आन्दोलनको सहयोगी हो ?

हो, म यो आन्दोलनको सहयोगी हो। पूर्वबाट मिटरव्याज पीडितकै सहयोगमा यो आन्दोलन काठमाडौं ल्याउन सफल भएका छौँ। हामीले कोडिनेसन(समन्वय) गरियो। म जनकपुर गएको थिएँ। जनकपुरको बाह्र बिघामा ठुलो कार्यक्रम गरेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र पनि दिएका थियौँ। त्यसपछि यो पदयात्रा सुरु भएको हो।

पदयात्रा गर्ने भनिएपछि म काठमाडौंमा पढाउका लागि आएँ। मिटरव्याज पीडितहरु मकवानपुर आइसकेपछि म यहाँबाट कुलेखानीमा भेट्न गएँ। मातातिर्थसम्म आउँदा आन्दोलन ठिकै थियो। मातातिर्थ आइसकेपछि जनमत पार्टीका अध्यक्ष सिके राउत आउनुभएको थियो।

ज्ञानेन्द्र शाहीकाे विरोध किन गरेको त ?

हाम्रो के थियो भने, कोही समन्वय गरेर आउँछ भने आन्दोलनप्रति समर्थन जनाउन पाउँछ। हामी कुनै पार्टीको मान्छे त होइन। विशुद्ध स्वतन्त्र रुपमा आन्दोलन गरेका ब्यक्ति हौँ। तर, कोही पार्टीका मान्छे आएर हामीलाई समर्थन जनाउँछ भने कुनै ठुलो टाउको दुखाइ थिएन।

मातातिर्थमा सिके राउत आउनुभयो। उहाँले समर्थन जनाउनुभयो। हामीले केही भनेनौँ। भोलिपल्ट काठमाडौँको खुलामञ्चमा आएपछि हामीले हण्डर खानुपर्‍यो। खुलामञ्च जनताका लागि खुला गर्नुपर्ने थियो। बालेन साहले एकछिन पनि खुल्ला गर्न सकेनन्। मिटरव्याजी पीडितलाई रातभरि प्रताडित पारे।

त्यो पीडा सहेर अर्कोदिन हामी जब माइतीघरमा जम्मा भएका थियौँ। एकदमै फरक तरिकाले सधैंको तरिका झैँ आगमन भयो। पछि मैले थाहा पाएँ कि उहाँ (ज्ञानेन्द्र शाही)ले आफ्ना पाँच, सात जना युट्युबरलाई लिएर आउनुभएको रहेछ, एकदमै फरक तरिकाले। हामी १२ दिन पैदल हिँड्दासमेत कहिल्यै समर्थन मिलेन तर जब मिडिया कभरेज बढ्याे त्यसपछि यो आन्दोलनकाे आगोमा आफ्नो रोटी सेकाउन आउनुभयो।

त्यसपछि मिटिरब्याज पीडित संघर्षकै व्यक्तिहरुले उहाँलाई खेदाउनुपर्छ भन्नुभयो। वैचारिक रुपमा मिटरव्याज सामन्तवादको बिउ नै हो। म पनि वैचारिक रुपमा उहाँको सामन्तवादतर्फ सपोर्ट (सहयोग) गर्दैनँ। तर, उहाँको बोल्न पाउने अधिकारलाई हनन् गर्न चाहदैनथेँ। तर, पनि उहाँबाट कुरा आउट गर्ने, हाइज्याक गर्ने, आन्दोनलाई आफूभित्र विलय गराउने जुन काम हिजो पनि भएको हो।

पहिले दुर्गा प्रसाईंले सुस्ताको आन्दोलनलाई आइज्याक गर्न खोजेका थिए, त्यसकारण पहिलेको गल्ती नदोहोर्‍याउन हामीले शाहीलाई खेदाउन सफल भयौँ। उहाँ पच्छर लुकाएर भाग्नुभयो।

तर, जो उहाँको पछि लागेर आउनुभएको तराईमुलका व्यक्ति हुनुहुन्थ्यो, उहाँले मलाई पीडित हो भन्नुभयो। र, म पीडित होइन भनेर आरोप लगाउनुभयो। खासमा उहाँको घुसपैठ थियो। उहाँलाई हामीले लखेटिसक्यौँ।

घुसपैठ भएको थियो भनेर पीडितहरुले भनिरहेका छन्, कसले गरे ?

हो, पीडितहरुले भनेको जस्तै घुसपैठ भएको हो। ज्ञानेन्द्र शाहीसँग एक दुई जना तराईमुलकै युवाहरु हुनुहुन्थ्यो। उहाँहरु पीडित पनि होइन। उहाँले मलाई पीडित होइन भन्दै उहाँहरुबाट घुसपैठ भएको हो।

तपाईंहरुले सोधे पनि हुन्छ उहाँका पीडितहरुलाई कसबाट घुसपैठ भएको हो भनेर।

तपाईंलाई मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)को कार्यकर्ता भनिएको छ के हो ?

मलाई वैद्यनिकट मात्र हाेइन। प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको महोत्तरी जिल्ला सदस्य भन्ने आरोप पनि छ। मैले महोत्तरीको हाइवेबाहेक अरु देखेको पनि छैन। मलाई अरु थाहा पनि छैन।

मलाई अहिलेसम्म वैद्य, प्रचण्ड वा विप्लव कुनैमा संगठित भएको भेटेँ भने वा ज्ञानेन्द्र शाहीले भेटेँ भने म उहाँकै झोला बोक्न तयार छु। सत्ता वा सत्ताभन्दा बाहिर भएको कुनै कम्युनिस्ट पार्टीमा भेटेँ भने जसले भेट्छ उसको म झोला बोक्न तयार छु।

अहिले फलानो पार्टीको कार्यकर्ता भनेर गलत सूचना प्रवाह भइरहेकाे छ। राजावादी, अवसरवादी मिडियाहरुले अहिले गलत सूचना प्रवाह गरिरहेका छन्।

भिडियाे:

प्रकाशित मिति: : 2023-03-30 21:35:00

प्रतिकृया दिनुहोस्