जुम्लाको पहिलो छापामार योद्धा वीरबहादुर कुँवर उर्फ कमरेड सुरेशलाई २०५४ साल भदौ ५ गते आमा रुद्रकली कुँवरले घरको कुनामा राखेको खुकुरी र आफूले ओडेको बर्खी दिएर रुँदै बिदा गरेकी थिइन्। दृश्य साह्रै भावकु थियो। उनी हिमशिर मावि तातोपानीमा कक्षा १० मा अध्ययन गर्दै थिए। त्यतिबेला डोल्पाका नन्द न्याैपाने जुम्ला आइरहन्थे।
उनैको उत्प्रेरणाले माओवादीप्रतिको आकर्षण बढ्दै थियो। त्यसबाट उनले माओवादी गरीबहरुको पक्षमा युद्ध लडिरहेको छ भनेर बुझे। त्यस्तो अवस्थामा उनी आफ्नो घरको पारिवारिक अवस्था हेर्थे। कहिल्यै नदेखेका बुबाको अनुहार कस्तो थियो होला भनेर कल्पना गर्थे। एउटा अमूर्त चित्रले उनको मनमा बास गर्थ्यो।
सारा परिवारले एक छाक खाएर लगाएको घर शुभ भएन भनेर छोड्नु परेको थियो। अर्काको पाँड(आटी) मागेर बस्नु परेको थियो। घर किन अशुभ्य भयो? केही थाहा थिएन। विज्ञान भए कारण खोज्थ्यो। तथ्यहरुको नजिक पुग्थ्यो। तर गाउँमा त अन्धविश्वास थियो। व्यापक अन्धविश्वासको चौघेरीभित्र धामीको एकोहोरो शासन चल्थ्यो। संस्कृतिको अनुपम रुप बिग्रँदै सामन्तवादको ढोकापाले हुन पुगेको थियो।
त्यही निर्णयका कारण उनको परिवार घर छोडेर अर्काको पाँडमा बास बस्न बाध्य थियो। यी अवस्था देख्दा उनलाई आफ्नो परिवार निरपेक्ष गरिबीबाट पिल्सिरहेको छ भन्ने लाग्थ्यो। गरीबहरुको जीवनस्तरलाई मुख्य प्राथमिकतामा राखेर युद्ध गरिरहेको माओवादी पार्टी उनलाई आफ्नो लाग्यो। त्यसैले पनि पार्टीप्रतिको आकर्षण बढ्दै गयो।
त्यस अगाडि सर्मीस्थित उनको घरमा माओवादीका सिनियर नेताहरु आइरहन्थे। तीमध्ये हिमाल शर्मा र नेत्र विक्रम चन्द विप्लव थिए। हिमाल शर्माले उनलाई टोल कमिटीमा आवद्ध गराएका थिए। उनी टोल कमिटीका सचिव थिए। उनको जिम्मेवारी त्यहाँ आउने माओवादी नेताहरुको व्यवस्थापन गर्ने, उनीहरुको सुरक्षा दिने र बाटो देखाउने हुन्थ्यो।
पार्टी नेताहरू उनलाई युद्धमा लाग्न उत्साहित गरिरहेका थिए। उनको मनमा एसएलसी पास पछि लाग्ने भन्ने नै थियो। जब नेत्र विक्रम चन्द नै आए, तब उनले आफ्नो ढंगले उत्प्रेरित गर्न थाले। उनी आमासँग नजिक भए। जब चन्दले आमालाई समेत कन्मिन्स गर्न सके, तब वीरबहादुर पढाइ छोडेर युद्धमा लाग्नैपर्ने परिस्थिति आइलाग्यो।
आमा युद्ध ठिक हो भन्ने बलियो मतका साथ उभिएकी हुँदा सुरेश माओवादीले सुरु गरेको जनयुद्धमा सामेल हुन लाग्दा रोकिनन्। केवल रोइन् मात्रै। बरु प्रतिरक्षा गर्न खुकुरी दिइन्। आफ्नाे बर्खी दिइन्। आमाको रुवाइको अर्थ के थियो? थाहा भएन। सायद, आमाको मनमा हुँदो हो 'कि त म अगाडि मरुँला, यो मेरो मुख देख्न पाउन्या हो कि नाई? यो काँ पो मरला म मुख देख्न पाउन्या हुँ कि नाई?' दुइटाको बीचमा प्रश्नवाचक चिन्ह खडा भएको थियो। उत्तर आएको थिएन।
उनले पहिलो पाइला चाले हजार माइलको लामो यात्राका लागि। गरीबहरुको शासनका निम्ति। नौलो जनवादी क्रान्तिका निम्ति।
०००
आमाले बिदाइको हात हल्लाउँदै गर्दा रात परिसकेको थियो। दुईवटा दाइ, एउटा दिदी र आमा सबैले लाड प्यार गरेका कान्छो छोरा युद्धमा जान लाग्दा आमाको मन भारी भयो होला सायद। ढोकाभित्र आमाका बलिन्द्र धारा आँसु बगिरहेका थिए। ढोका बाहिर भदौरे झरी परिरहेको थियो। बाँकी दिनको यात्रा कस्तो हुन्छ होला, त्याे अनिश्चितताको गर्भमै थियो। तर क्रान्तिकारी बन्न हिँडेका कमरेड सुरेशको मनमा एक सुनौलो आशा थियो, नौलो जनवादी क्रान्तिको, वर्गीय मुक्तिको।
त्यस रात भदौरे झरी छिचोल्दै उनी रासा र ढिपुका लेकहरुमा हिँडे। यात्रा भर्खर सुरु हुँदै थियो। थकाइलाई शब्दकोषबाट नहटाई गन्तव्यमा पुगिँदैन भन्ने निष्कर्ष निक्लँदै थियो।
माओवादीले कालिकोट, जुम्ला र मुगुसहितको एउटा भूगोललाई प्रशासनिक विभाजन गरेर एक जिल्ला बनाएका थिए। ढिपुको मुल्लीमा पहिलोपल्ट छापामार तालिम भयो। रोल्पाबाट आएका कमरेडहरुले तालिम दिएका थिए। कमान्डर थिए, कमरेड हित्मल। २० दिन जति तालिम भयो। त्यसपछि सुरेश छापामार कमान्डरको भूमिकामा रहे। त्यो भूमिकाले माओवादी युद्धकालभरी छापामार र जनमुक्ति सेनाको शक्ति बलियो भयो।
उनी नेतृत्वमा आएपछि पहिलो छापामार टिम जुम्लाको हिँयाखोलामा तयार पारेका थिए। मिति थियो, २०५५ साल माघ महिनाको। सिंगो छापामार टिमको कमान्डर कालिकोटका हरिश शाही थिए। त्यतिबेला सुरेश सहायक कमान्डरको भूमिकामा थिए। २०५६ मा दुईवटा छापामार टिम बने, प्राप्ति र बेहोसी नामका। सहिदका नामबाट निर्माण गरिएका दुईमध्ये बेहोसी छापामार टिमका कमान्डर थिए, सुरेश।
जनयुद्धकालभरी सुरेश बढी सैन्य भूमिकामा रहे। सैन्य भूमिकाबाट ब्रिगेट कमान्डरसम्म पुगे। एउटा ब्रिगेट भनेको सेनाको गणजस्तै हो। एउटा ब्रिगेटमा तीनवटा कम्पनी हुन्थे। एउटा कम्पनीमा एक सय ५० सेना हुन्थे। यी सबैको कमान्ड उनले गर्थे। त्यसबेला देशभर ४३ वटा ब्रिगेट थिए। सँगसँगै उनी पार्टीको भूमिकामा पनि थिए।
२०६३ सम्म आइपुग्दा उनी जिल्ला कमिटी सदस्य हुँदै प्रदेश र केन्द्रीय सदस्यको भूमिकामा रहे। तर उनी बढी सैन्य भूमिकामै रहे। भूमिगत भएपछि पहिलो छ महिना उनी रुकुममा गएर तालिम लिए। त्यसबेला युद्ध अनुभव गर्नु थियो। फर्किएर आफ्नो कार्यक्षेत्रमा त्यस्तै गतिविधि सञ्चालन गर्नु थियो। जिम्मेवारको भारी गह्रुङ्गो हुँदै थियो। त्यो जसरी पनि बोक्नु नै थियो। बोक्न सीप र अनुभव दुबै नभई नहुने।
भूमिका सधैँ सैनिकको भएपनि बसाइँ एकै भूगोलको भएन। सुरुवाती केही समय जुम्लामा रहे पनि पछि बाहिरको भूमिका निभाउनुपर्यो। विभिन्न ठाउँका फौजी कारबाहीको कमान्ड उनले नै गरिरहेका हुन्थे।
उनले कतिवटा युद्ध लडे गन्ती छैन। तर स्मरण भएका केही फौजी कारबाहीहरुमध्ये कर्णालीमा पहिलो थियो, कालिकोटको सान्नीघाट प्रहरी चाैकी आक्रमण। त्यो २०५५ चैतको कुरा हो। आक्रमणको तयारी फागुनमा गरिएको थियो। तर त्यतिबेला कैलालीमा पार्टीका नेताहरु हिमाल शर्मा र प्रकाण्डलाई दुश्मनले कब्जामा लियो। त्यसैले केही समय ब्याक हुनुपर्ने भयो। दोस्रो फौजी कारबाही कालिकोट पाद्मघाट प्रहरी चौकीमा भयो। सान्नीघाटमा एउटा राइफल र पेस्तोल कब्जा भएको थियो भने पाद्मघाटमा ११ वटा राइफल कब्जा भए। २०५६ मा जुम्लाको रारा लिही प्रहरी चौकी कब्जा भयो।
सैन्य कारबाहीको सिलसिला रोकिएन। डोल्पा सदरमुकाम दुनै कब्जा भयो। दैलेखको नौमुले, अछामको विनायक, मंगलसेन, साँफेबगर, म्याग्दी, पूर्वको रूम्जाटार, सिन्धुली, सिराहको लाहानलगायत थुप्रै कारबाहीमा एउटा न एउटका कमान्ड सुरेशको हुन्थ्यो। बाँकेको कुसुम कारबाही, जुम्लाको मिनीरेड, बर्दियाको रम्बापुरलगायत असंख्य कारबाहीका अग्रमोर्चामा ज्यानको आहुती दिन तयार सुरेशले कयौँ विरताका लडाइँहरु लडे।
सैन्य जिम्मेवारीको क्रममा उनी चार वर्ष सुदूरपश्चिम बसे। सुदूरपश्चिममा हुँदा एक वर्षमै दर्जन बढी लडाइँ लडे। त्यहीबेला धनगढी कारागार कब्जा गरेर हिमाल शर्मालाई मुक्त गरेर ल्याउने कमान्डर उनै थिए।
२०५८ पछि उनी डेड सय जनाको फौजसहित पूर्व गएका थिए। दुई वर्ष त्यहीँको लडाइँमा लागे। ती डेड सय जनामध्ये गनेर १५/२० जना साथीहरु मात्रै बाँचेका छन्। पूर्वमा फौजी आक्रमण सशक्त हुन सकिरहेका थिएनन्। आधुनिक हतियार र युद्ध अनुभव पूर्वसँग पटक्कै थिएन। पश्चिमको सशक्त टिम भएपछि नै पूर्वमा युद्ध मोर्चा बलियो बनेको थियो।
त्यतिबेला दुश्मनले पूर्व र पश्चिम नेपाललाई माओवादी प्रभावको हिसाबले अलग बनाएको थियो। पश्चिममा माओवादी प्रभाव बढी छ। सबै शक्ति पश्चिममा प्रयोग गरेर सकाइदिने योजना बनाउँदै थियो। त्यो रणनीति फेल गर्न पार्टीले पूर्वमा शक्ति बढाउने निर्णय गर्यो। पूर्वमा को जान्छ त भन्दा सुरेशले बलियो मुठ्ठी कसेर भने, 'म जान्छु।'
त्यसपछि उनी पूर्व गएर युद्ध मोर्चा सम्हाले। दुश्मनले शक्ति पश्चिम केन्द्रित गरेको बेला उनले पूर्वका शाही सेनाका क्याम्पहरुमा बम बारुदको वर्षा गराए। त्यसरी पश्चिम केन्द्रित भएर माओवादी सकाउने दुश्मनको रणनीति असफल भएको थियो।
तर नयाँ योद्धाहरु तयार भइनसकेको हुँदा उनको फौजले ठूलो क्षति बेहोर्नुपरेको थियो। त्यो दुई वर्षमा उनी घर परिवार र जीवन साथी गोमा कुँवरको सम्पर्कमा समेत थिएनन्। गोमा पश्चिम नेपालको मुगुमा खटिएकी थिइन्। यता गोमालाई समेत ‘तिम्रो श्रीमान मरिसके’ भन्ने हल्लाहरु सुनाइन्थ्यो।
सुरेश जिउँदै थिए। तर सर्मीमा उनकी आमा जिउँदी रहिनन्। यो कुरा सम्पर्कविहीन सुरेशले थाहा पाएनन्। दुई वर्षपछि फर्किँदा मात्रै थाहा भयो। उनले भने, 'आमा बितेको दुश्मनले थाहा पाएछ। आमा बितेको बेला त पक्कै पनि छोरो आउला भन्ने सोचेर शाही सेना गाउँमै गएछ। उठाउन लागेको लास उठाउन दिएनछ। गाउँका सबैलाई कब्जामा लिएर चार घण्टा केरकार गरेर छोड्दा बल्ल दाहसंस्कार भएछ।'
आमाले छोरा युद्धमा लाग्ने दिन रुँदै बिदा गरेकी थिइन्। आँशुले एउटा अनुत्तरित प्रश्न सृजना गरेको थियो। उत्तर सुरेशले त्यही दिन थाहा पाए, जुन दिन उनले आमा मरेको खबर सुने।
०००
जनयुद्धका सुरुवाती दिनहरुमा माओवादीसँग घँगेरुका लठ्ठी र खुकुरी थिए। त्यसलाई ग्रामे वर्ग संघर्ष भनिन्थ्यो। गाउँमा सामन्तहरुसँग बाह्रवर राइफलहरु थिए, ती खोसिए। शिकारीहरुसँग भएका केही थान भरुवा बन्दुक पनि हत्याएपछि छापामार शक्ति बलियो भयो।
प्रहरीको शक्तिले नधान्ने भएपछि दुश्मनको सत्ताले शाही सेना परिचालन गरेको थियो। त्यसविरुद्धको पहिलो सैन्य कारबाही दाङमा भयो। २०५८ साल मंसिर ८ गते नेकपा माओवादीले जनमुक्ति सेना घोषणा गर्यो। त्यसभन्दा अगाडि छापामार र मिलिसियाको सैन्य संरचना मात्रै थियो। त्यही दिन दाङमा माओवादीले भिषण आक्रमण गर्यो। त्यसबेला जनमुक्ति सेनासँग केही थान भरुवा बन्दुक, ग्रिनेट र माइनहरु, केही बाह्रवर राइफल र थ्रिनट थ्रि राइफलहरु थिए। दुईवटा एसएलआर र एकएके फोर्टी सेभेन राइफल पनि थियो। ती अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरुबाट सहयोग स्वरुप प्राप्त भएका थिए।
ती तीनवटा आधुनिक हतियारलाई शाही सेनाले मुख्य हतियार भण्डारण गरेको ठाउँमा केन्द्रित गरिए। बाँकी आफूसँग भएका हतियारबाट लडाइँ भयो। छोटो समयमा नै ब्यारेक कब्जा भयो। त्यसपछि जनमुक्ति सेनासँग धेरै आधुनिक हतियार भए। लङ रेन्जका हतियार, मेसिन गन, एसएमजी, एसएलआरहरु ठूलो मात्रामा कब्जा भयो। त्यसपछि अछामको मंगलसेनलगायत धेरै ठूलो ब्यारेकहरुमा आक्रमण भए। लडाइँ जितिए पनि।
त्यसबेला प्रशिक्षण र ठूला कार्यक्रमहरु हुन्थे। जनयुद्धलाई राजनीतिक संघर्ष र जनताले लडेको लडाइँ भनी परिभाषित गरिन्थ्यो। हरेक कार्यक्रमबाट केही थप योद्धाहरु जनयुद्धमा सामेल हुन्थे। युद्धमोर्चा बलियो भएको भान हुन्थ्यो। थप आक्रमणको योजना बन्थ्यो।
कुनै ठाउँमा आक्रमण गर्नुपरेको खण्डमा दुश्मनको घेरा, क्याम्पको भौगोलिक अवस्थिति, त्यसको भित्री स्वरुप, भित्र पस्न सकिने ठाउँ, त्यसको पूरा नक्सा बनिसकेपछि कयौँपल्टको अभ्यासपछि मात्रै आक्रमणको योजना बन्थ्यो। अध्ययन गरिसकेपछि त्यसलाई टिममा ब्रिफिङ गर्ने गरिन्थ्यो। परिपक्व योजना हुँदा क्षति कम गर्ने विषय प्राथमिकतामा पर्थ्यो। त्यस्तो हुँदा धेरै हदसम्म असफल हुन पर्दैनथ्यो।
सुरेशले सम्झिएका केही प्रतिनिधिमुलक घटनाहरु यस्ता छन्:
'धेरै ठाउँमा मरेर बाँचेँ। उल्लेख गर्नुपर्ने कयौँ घटनाहरु सबै अहिले याद नहोला। कैलालीको टिकापुर दुर्गौलीमा हामी सेनाको ठूलो घेरामा पर्यौँ। दुईतिर आर्मी थियो। एकतिर सशस्त्र र माथिबाट हेलिकप्टरले फायर गरिरहेको थियो। मेरो आफ्नो टिमका छ/सात जना साथीहरुको सहादत भयो। दुश्मनको गोलीले मैले लगाएको टोपी नै उडाएर लग्यो। त्यो घटनामा हामीलाई थुप्रै क्षति भयो। मुस्किलले बाँच्यौँ। जुन दिन बर्दियामा गणेशपुर घटना भयो। उता त्यही स्टाइलमा दुश्मनले हामीलाई पनि घेराबन्दी गर्यो।
थप क्षति हुन नदिन मैले फौजी कासन दिएँ। दुश्मन त्यो घरमा पुग्दैछ। त्यहाँ पुग्न नदिएर आक्रमण गर भनेँ। शाही सेना थोरै ब्याक भयो। हामीहरु त्यो घरमा पुगेर हतियार उठाएर लड्न थाल्यौँ। त्यसपछि सहज भयो। अथाह गोली र बम बर्सियो। त्यो घटनापछि नै म कान अलि कम सुन्ने भएको हुँ।
म्याग्दीको बेनी आक्रमणको बेला उत्तर साइडबाट मेरो कमान्ड थियो। चारैतिरबाट जनमुक्ति सेनाले भिषण आक्रमण गरिरहेको थियो। पोष्ट खाली गरेर अगाडि बढ्ने क्रममा मेरो कम्बरमा गोली लाग्याे। म घाइते भएँ। साथीहरुले निकालेर बाहिर ल्याए। बाटोमा फर्किने क्रममा पनि धेरै आक्रमण भयो। हामीलाई डोको र स्ट्रेचरमा बोकिएको थियो। माथिबाट हेलिकप्टरले फायरिङ गरिरहेको थियो। हामी धौ गरी बच्यौँ।
बाँकेको कुसुम आक्रमणमा मेरो टिमका १३ जना योद्धाहरुले सहादत प्राप्त गरे। त्यहाँ जालीमा नराम्रोसँग फसेँ म। ब्लेड जालीमा फसेछु। मेरो ड्रेस पुरै च्यातियो। त्यसपछि छाला च्यात्तियो। शरीरको कुनै ठाउँ खाली थिएन। पुरै रक्ताम्य भएँ म।
पूर्व रुम्जाटारमा हुँदा पनि त्यस्तै भयो। पूर्वमा युद्ध अभ्यास कम थियो। सबै साथीहरु भागिहालेछन्। हामीलाई घेराबन्दी गरेर सकाउन खोजिएको थियो। त्यहाँ पनि बच्यौँ।
अन्तिम लडाइँ पिलीमा भएको थियो। त्यहाँको भूगोल साह्रै अप्ठ्यारो थियो। कर्नेल भर्खर हेलिकप्टरमा ल्याण्ड गरेर बसेका थिए। उत्तरतिरबाट आएको फौज हाम्रो थियो। अँध्यारो भइसकेको थिएन। अरु टिमलाई कठिन भूगोलको ज्ञान थिएन। करिब ४५ मिनेट लडाइँ गरेपछि रात पर्यो। अँध्यारो हुन्जेलसम्म मेरो टिमका १४ जना साथीको सहादत भयो। पछि बल्ल अरु टिमलाई सहज भयो। हामी रातभरि लड्यौँ। बिहान उज्यालो हुनेबेला बल्ल पिली कब्जा गर्यौँ।'
०००
युद्धका कठिन दिनहरुको उनी टिपोट गरिरहन्थे। २०५८ भन्दा अगाडि उनी अध्ययन बढी गर्ने र प्रत्येक दिनको घटनाक्रमको टिपोट गर्थे। राजनीतिक र फौजी हिसाबका के कति घटनाहरु घटे ती सबै उनको डायरीमा लिपिबद्ध थिए। 'युद्ध मोर्चाका ढोबहरु' नामको किताब २०५८ मा प्रकाशन भयो। जसले कयौँ योद्धाहरुलाई युद्धमोर्चामा सामेल हुन उत्प्रेरित गर्यो।
कमरेड सुरेश उर्फ वीरबहादुरजस्ता वीर योद्धाहरुले जितेको लडाइँ, जनवादी व्यवस्थाको सुन्दर कल्पना गर्दागर्दै युद्ध मोर्चामा ढलेका महान सहिदहरुको सपना माओवादी नेतृत्वले वार्ताको टेबुलबाट पूरा गर्न खोज्यो। संघर्षबाट सत्ता कब्जा नभएपछि वार्ताको टेबुलमा बस्दा आफ्ना कयौँ मुद्दाहरु छोड्नुपर्यो। नौलो जनावदी व्यवस्थाका लागि लडिएको युद्ध संसदीय व्यवस्थाको चौतारीमा गएर विश्राम लिन पुग्यो।
पहिलो संविधानसभाको निर्वाचनबाट पहिलो शक्ति भएको माओवादी त्यसपछि क्रमशः तेस्रो शक्तिमा सीमित भयो। संसदीय व्यवस्थाको विकल्पको बहस गर्दागर्दै पार्टी विभाजन हुन पुग्यो।
'तेस्रो शक्ति हुँदा र सत्ता सञ्चालन गरिरहेको बेला अदालतले जनयुद्धलाई हिंसात्मक संघर्ष या सशस्त्र संघर्ष भनेर जनयुद्धको अपव्याख्या गरिरहेको छ,' उनले भने, 'तर हाम्रो नजरमा माओवादीले २०५२ साल फागुन १ बाट सुरु गरेको युद्ध महान जनयुद्ध हो। महान जनयुद्धकै बलबाट अहिलेको व्यवस्था प्राप्त भएको छ। आगामी दिनको दिशा निर्देश पनि यसैले गर्नेछ। अदालती पश्चगमनका विरुद्ध संघर्ष चालू छ। संसदीय व्यवस्थाको विकल्पको विषयमा हुने बहस यत्तिकै सेलाएर जाने छैन।'