नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब कुन क्षेत्रमा रहेर मुलुकलाई योगदान दिन सकिन्छ भनेर आफू छलफलमा रहेको बताउँदै त्यो क्षेत्र राजनीति पनि हुनसक्ने बताएका छन्।
मध्यपूर्वी मुलुकहरुको भ्रमणमा जाँदै गर्दाको कुराकानीमा उनले यस्तो बताएका हुन्। मुलुकमा थुप्रै राजनीतिक परिवर्तनहरु भएपनि जनतामा आत्मविश्वास जगाउन नसकिएकाले जनतामा निरासा बढ्दै गएको उनले बताए।
प्राधिकरणबाट बाहिर आएपछि आफुपनि सर्वसाधारण नागरिक सरह भएको बताउँदै उनले आगामी दिनमा कुन क्षेत्रमा रहेर मुलुकलाई योगदान दिने भन्ने बारेमा छलफलमा रहेकाले त्यो क्षेत्र राजनीति पनि हुनसक्ने उनले बताएका हुन्।
‘जनताका समस्या सम्बोधन गर्न राम्रो लिडरसिप जरुरी छ। देशको समग्र अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा गर्दा त्यो क्षेत्र राजनीति पनि हुनसक्छ। तर, कसरी अघि बढ्ने भन्ने विषयमा हामी छलफल गरेर अघि बढ्छौं,’ घिसिङले भने।
‘विकास र समृद्धिलाई हामीले फोकस दिएर अघि बढ्नुपर्छ। मुलुकमा आर्थिक क्रान्ति गर्नका लागि धेरै समय लाग्दैन। हामीसँग प्राकृतिक स्रोत छ, जनशक्ति छ, सबै चिज छ। त्यकारण देशमा ठूलो परिवर्तन ५ देखि १० वर्ष भित्र हुन सक्छ। विकास हुन्छ भन्ने विश्वास मात्रै पनि जनतालाई दिलाउन सक्यो भनेपनि त्यो ठुलो परिवर्तन हुन्छ। त्यो भनेको नेतृत्वप्रतिको विश्वास हो। देशको नेतृत्वले राम्रो गर्छ, प्रस्ट रुपले काम अघि बढाएर जनतामा विश्वास दिलाउन मात्रै सकेपनि धेरै कुरा परिर्वतन हुन्छ।’
यसको अर्थ आफूले मुलुकमा सबै लिडरसिप नराम्रा छन् कसैले काम गरेकै छैन भन्न खोजेको नभइ राजनीति र सामाजिक परिवर्तन धेरै भएपनि नेपालमा आर्थिक रुपान्तरण हुन सकेन भन्न खोजेको उनले बताए। त्यसका लागि विकास गर्न सक्ने नेतृत्व आवश्यक भएको र सोहि डेडिकेसनसहित विकास निर्माणमा जानुपर्ने र द्रुत गतिमा विकास कसरी गर्ने भन्नेतिर सबैजना लाग्नुपर्ने घिसिङको धारणा छ।
राजनीतिक परिवर्तन भन्दा पनि देशको अर्थतन्त्र रुपान्तरण कसरी गर्न सकिन्छ भन्नेतर्फ अघि बढ्नुपर्नेमा उनले जोड दिए। त्यस्ता कुरामा ध्यान दिएर सुशासन कुराहरुमा प्रभावकारी काम गर्न सकेमा परिवर्तन हुन धेरै समय नलाग्ने घिसिङको भनाइ छ।
‘मैले ३० वर्षसम्म जुन डेलिभरी दिएर एउटा ठाउँमा पुगें सोही क्रममा लोडसेङि अन्त्य मात्र होइन घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई नाफामा ल्याउनेदेखि देशभर विद्युतीकरण गर्ने काम गरियो। त्यति मात्र नभएर भारतदेखि बंगलादेशसम्म विद्युत निर्यात भयो। गर्दाखेरी हुँदो रहेछ भन्ने एउटा उदाहरण पनि हो। यो एउटा क्षेत्रको सफलता हो। अब उज्यालो नेपाल वा उज्यालो अभियान भनेको बत्तिको मात्रै उज्यालोले भएन,’उनले भने, ‘अँध्यारो हटाउनुपर्ने ठाउँ धेरै छन्, धेरै क्षेत्रमा अँध्याराहरु छन्। सबै क्षेत्रको अँध्यारोलाई उज्यालोमा कन्भर्ट गर्नुपर्यो। सबै जनताको मुहारलाई उज्यालो गराउनु पर्छ।’
कमजोर सुशासन, गरिबी, समाजिक विभेद अन्त्य लगायत सबै कुराहरु सामाजिक र आर्थिक रुपान्तरणसँग जोडिएको बताउँदै उनले एउटा क्षेत्रमा मात्रै राम्रो भएर नहुने सहि मान्छे सहि ठाउँमा बसेर ‘टप टु बटम’ सबै निकायमा सही मान्छे हुनु जरुरी रहेको तर्क गरे। त्यसकारण मेरिटोक्रेसीको विषयलाई एकदमै गम्भीर रुपमा हेर्नुपर्ने उनको भनाई छ।
‘हाम्रा मान्छे होइन, राम्रा मान्छेलाई प्राथमिकता दिनुपर्छ। किन हामीले जनतामा आत्मविश्वास जगाउन सकेनौं। त्यसकारण निरासा बढ्दो छ। यी सबै कुराहरुलाई सम्बोधन गर्न राम्रो मान्छेको लिडरसिप जरुरी छ। देशको समग्र अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा गर्दा त्यो क्षेत्र राजनीति पनि हुन सक्छ। तर, कसरी अघि बढ्ने भन्ने विषयमा हामी छलफल गरेर अघि बढ्छौं।’
यद्यपि, अहिलेसम्म कसैसँग राजनीतिमा जाने विषयमा आफूले छलफल नचलाएको घिसिङको दाबी छ।
‘म पनि अब त सर्वसाधारण जनता भएको नाताले सबै किसिमका व्यक्ति, विज्ञ, नेतासँग छलफल गरि रहेको छु। हिजोको दिनमा जनताले जसरी माया, प्रेम र विश्वास दिनुभयो त्यहि नै मेरो उर्जा हो,’ उनले भने, ‘मैले कमाएको सामाजिक पूँजी जुन छ त्यसमा आँच आउन दिने छैन। त्यहि विश्वासलाई लिएर कसरी अघि बढ्ने भन्ने नै मेरो मुख्य प्राथमिकता हो।