इजरायलसँग ६० दिने युद्धबिराम प्रस्तावका लागि हमासले पनि सहमतिको संकेत देखाएको छ। योसँगै वर्षौंदेखि चल्दै आएको एउटा लामो अनि अत्यासलाग्दो युद्ध अन्त्यको सम्भावना बढेको छ।
‘हामीले मध्यस्थकर्ताहरूलाई सकारात्मक संकेत दिएका छौं। र हामी तुरन्त वार्तामा बस्न चाहन्छौं’ हमासले एक बक्तव्यमार्फत भनेको छ।
अमेरिकाको प्रत्यक्ष सहभागितामा तयार पारिएको युद्धबिराम प्रस्तावलाई यसअघि नै इजरायलले स्वीकार गरिसकेको थियो। त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमाससँग कुराकानी अघि बढाउनका लागि मध्यस्थकर्ताका रुपमा बिशारा वाहवाहलाई खटाएका थिए। प्यालेस्टाइन-अमेरिकी संवादको मध्यस्थता उनैले गर्दै आएका छन्।
‘विश्वकै लागि यो एउटा अत्यासलाग्दो युद्ध अन्त्य गर्ने दिशामा हामी एकदमै नजिक पुगेका छौं’ हमासको प्रतिक्रियापछि बिशाराले भनेका छन्।
अमेरिकाले अघि सारेको अनि इजरायलले समेत सहमति जनाइसकेको उक्त युद्धविराम प्रस्तावमा हमासले केही संशोधन पनि गरेको छ। त्यसलाई सबैपक्षले स्वीकार गर्न बाँकी छ।
‘मलाई लाग्छ कि यी संशोधन प्रस्तावहरूले युद्धविराम सम्झौतालाई रोक्ने छैनन्। बरु त्यसका लागि यी सकारात्मक संकेत हुन्’ बिशाराले भनेका छन् ‘सम्भवत: आगामी साता हामी सबै सहमतिमा पुग्नेछौं।’
यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमतिमा आउन र युद्ध बिराम सम्झौता स्वीकार गर्न हमासलाई चेतावनीपूर्ण आह्वान गरेका थिए।
अहिलेसम्म गाजामा कम्तीमा ५६ हजारभन्दा धेरै मानिस युद्धमा मारिइसकेका छन्। लाखौं मानिस भोकभोकै छन्। लाखौं विस्थापित र घरवारबिहीन भएका छन्।
इजरायलले हमासको पूर्ण बिघटन हुनुपर्ने शर्त अघि सारिरहेको छ। त्यस्तै हमासले भने गाजा क्षेत्रबाट इजरायल पूर्णरुपमा फिर्ता हुनुपर्ने बताएको छ।