दिनभरिका प्रमुख समाचार

देशभर संविधान दिवसकाे उल्लास, धरहरामा सर्वसाधारण

मनाइयो संविधान दिवस

आज संविधान तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइएको छ।

२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो। 

सरकारले सैनिक मञ्च टुँडिखेलमा संविधान दिवसको मूल समारोह आयोजना गरेको थियो। त्यसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत राजनीतिक दलका शीर्ष नेता कूटिनीतिक नियोगका विशिष्ट व्यक्तिहरू सामेल थिए। 

संविधान दिवस मनाउन दरबार मार्गमा कन्सर्टसमेत भइरहँदा मधेसी, थारु, आदिवासी जनजाति तथा दलित समुदायले भने यसलाई ‘कालो दिवस’का रुपमा मनाएका छन्।

कोरियामा धेरै कामदार पठाउने नेपाल पहिलो देश 

दक्षिण कोरियामा कामदार पठाउने देशमध्ये पहिलो स्थानमा परेको छ।

चालु वर्षको पहिलो चरणमा नेपालबाट कोरियाका लागि १ हजार २ सय जना कामदार छनोट भएका थिए। त्यो भनेको दक्षिण कोरियामा कामदार पठाउने देशहरूमध्ये पाँचौ स्थान थियो। दोस्रो चरणमा छनोट गर्दा नेपाल पहिलो स्थानमा परेको हो।

नेपालीको श्रम गन्तव्यमध्ये खाडी देशहरूपछि दक्षिण कोरिया पनि एउटा आकर्षण हो। गत वर्ष पानी जहाज निर्माणका लागि कोरियाको भाषा परिक्षा(इपिएस) मा अनुत्तीर्ण भएकाहरूले आन्दोलन गरेका थिए र त्यसक्रममा दुईजनाको मृत्यु भएको थियो। 

बितेको १५ वर्षमा इपिएसमार्फत करिब डेढ लाख नेपाली दक्षिण कोरिया गइसकेका छन् यो वर्ष चार चरणमा लगभग २२ हजार नेपाली कामदार कोरिया जानेछन्। 

ठडियो धरहरा, केही दिन नि:शुल्क चलढ्न पाइने

२०७२ सालमा भूकम्पले ढालेको नौ वर्षपछि धरहरा फेरि नयाँ स्वरुपमा ठडिएको छ। संविधान दिवसकै दिनदेखि सरकारले धरहरा आम नागरिकका लागि खुला गरेको छ।

सरकारले २०७५ सालदेखि धराहराको पुन:निर्माण सुरु गरेको थियो। पुरानो धरहराको अवशेषलाई छेउमै राखेर नयाँ धरहरा बनाइएको हो। २५ औं तलाको यो धरहरामा जमिनका दुई तलामा पार्किङ छ र २० औं तलाबाट काठमाडौं उपत्यकाको दृश्य हेर्न सकिन्छ। 

संविधान दिवसको दिनदेखि केही दिनसम्म धरहरा चढ्नका लागि पैसा तिर्नुपर्दैन। 

१६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन

१६ देशका लागि सिफारिस भएका नेपाली राजदूतको नाम अनुमोदन भएकाे छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिकाे बैठकले १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको हाे।

सरकारले १७ देशका लागि नेपाली राजदूतको नाम सिफारिस गरेको थियाे।

माइतीघरमा दलित समुदायको प्रदर्शन

दलितका लागि दलित अभियान नेपालले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

खगेन्द्र सुनारसहितका युवाहरूले चलाइरहेको ‘दलितलाई खै’ अभियानले संविधान दिवसकै दिन बिहीबार माइतीघरमा प्रदर्शन गरेको हो।
उनीहरूले सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई घृणा गरिएको भन्दै प्रदर्शन गरेका हुन्।
देशभर संविधान दिवस उल्लासपूर्वक मनाइरहँदा दलित अभियान्ताहरुले भने आफ्नो अधिकारका लागि प्रदर्शन गरेका हुन्।

प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूतविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको छ।

बिहीबार बसेको समितिको बैठकले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको उपर सार्वजनिक उजुरी आह्वान गर्ने गरेको हो।

यसअघि सिफारिस भएका १६ जना राजदूतको नाम भने समितिले नियुक्तिका लागि अनुमोदन गरेको छ। 

नदी किनाराका बासिन्दा आन्दोलित

काठमाडौँका नदी किनारका थप २० मिटरसम्म जग्गा छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाको विरोधमा प्रदर्शन भएको छ।

काठमाडौं र ललितपुरका बासिन्दाले माइतीघरमा भेला भएका मापदण्डको नाममा जनता विस्थापित गर्न नपाइने प्रदर्शन गरेका हुन्।

नदीको नयाँ मापदण्ड खारेज गर्नुपर्ने, नदी किनार वरपरका बासिन्दामाथिको धरपकड रोक्नुपर्ने, निजी घरजग्गामा अतिक्रमण बन्द गर्नुपर्ने उनीहरुको माग छ।

चाडपर्व लक्षित सुपथ मूल्य पसलहरू सञ्चालनमा

चाडपर्व लक्षित सुपथ मूल्य पसलहरू सञ्चालनमा आएको छ।

बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले थापाथलीस्थित सुपथ मूल्य पसलको उद्घाटन गरेका हुन्।

चाडपर्व लक्षित सुपथ मूल्य पसलहरू ४२ जिल्लाहरूको ६३ वटा स्थानहरूमा सञ्चालन गरिएको छ।

प्रकाशित मिति: : 2024-09-19 20:23:00

प्रतिकृया दिनुहोस्