अन्तर्वार्ता

टाेपबहादुरलाई एमालेले कहाँ लुकाएकाे छ, भनिदिए भइहाल्याे नि किन हल्ला गर्नुपर्‍याे?– भीम रावल (भिडियाे)

ध्रुब बस्याल

काठमाडाैँ

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहमा उच्च पदस्थ व्यक्तिको संलग्नता देखिएसँगै राजनीति तरंगित बनेको छ। सचिवदेखि नेतासम्मको संलग्नता देखिएपछि प्रहरीले पक्राउको डण्डा चलाएको छ। 

प्रहरीले हाई प्रोफाइलका तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ भने पूर्वमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी गरेको छ। उनी पक्राउ पुर्जी जारी भएपछि अहिलेसम्म फरार रहेका छन्। 

सागर राई, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल, टंक गुरूङ, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परिसकेका छन्। केहीलाई पक्राउ पुर्जी जारी भएको छ।

सिंहदरबारमा कानुनी रूपमा हाइ प्रोफाइलका व्यक्ति नै गठी धन्दामा लागेको कुरा सार्वजनिक भएपछि ठुला राजनीतिक दलमा तरंग छाएको छ। एमाले, काँग्रेसका नेताहरु थप मुछिन सक्ने आशंका छ। 

पक्राउ पुर्जी जारी भएका सचिव रायमाझीलाई लुकाएको एमालेमाथि आरोप लागिरहेको छ। के रायमाझीलाई एमालेले लुकाएको हो ? एमालेले यसलाई कसरी हेरिरहेको छ ? आदि विषयमा रहेर एमालेका नेता भीम रावलसँग बिएल नेपाली सेवाले कुराकानी गरेको छ।

प्रस्तुत छ, रावलसँग बिएल नेपाली सेवाका सम्वादाता ध्रुब बस्यालले गरेको कुराकानीको अंशः


नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीति तरंगित छ, यसलाई तपाईंले कसरी लिनुभएको छ ?

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने विषय २००७ सालपछिको  देश, जनता र कानुनको विषयमा सबैभन्दा ठुलो प्रकरण हो। यो प्रकरणमा संलग्न अनेकौं प्रत्यक्ष तथा अपत्यक्ष रुपमा सहयोग गरेका सम्बन्धित व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउनुपर्छ।

किनभने, यो प्रकरण ठगी मात्र होइन, मानव बेचबिखन गर्ने अपराधसँग जोडिएको छ। राज्यको विरुद्धमा आपराधिक तत्व पनि भएकाले यसलाई अत्यन्तै गम्भीर रुपमा लिनुपर्छ। अहिलेसम्म नेपाल प्रहरीले राम्रो काम गरिरहेको छ। अब कुनै पनि राजनीतिक नेताहरुको दबाबले अपराधिलाई जोगाउने जघन्य आपराधिक मुद्धा कमजोर बनाउन कसैले खेल खेलेछ भने यो नेपाल राष्ट्रको रुपमा आपराधिक गद्दारी काम हो।

शरणार्थी प्रकरणमा ठुला नेताहरुको नै संलग्नता देखिएपछि शीर्ष नेताहरुको भेघटाट बढेको छ, यसले खुलेयाम अपराधिहरु जोगाउन लागिरहेका छन् भन्ने सन्देश दिन्न र ?

नेताहरुको भेटबारे मलाई कुनै जानकारी नभएकाले कुनै टिप्पणी छैन। किनभने, अनुमानको भरमा संवेदनशील विषयमा यो वा त्यो कुरा गर्नु उचित हुँदैन तर मैले यत्ति मात्र भन्न सक्छु हाम्रो देशमा ठुला प्रकरणहरु दबाएर जाने राष्ट्रका विरुद्धमा गरिएका काम ओझेलमा पर्ने र संविधानको धारा ५ मा जसरी राष्ट्रको हितविपरीत आचरण र कामलाई दण्डीत गर्न संघीय कानुन बनाउनुपर्ने हो नबनाउने यस्ता खालका गतिविधि जो हामीले बेर्होर्दै आएका छौँ, त्यसैले यो प्रकरणलाई पनि यसरी प्रभाव पार्ने क्रियाकलाप हुन्छन् कि भन्ने आशंका जनतामा छ।

त्यसैले सचेत नागरिकहरु, संञ्चारकर्मी, राजनैतिक नेतालगायत आम नागरिकहरुले खबरदारी गर्नुपर्छ। नेताहरु भेटमा के–के कुरा भए नजानेर, नबुझेर बोल्न मिल्दैन। बाहिर जे–जे कुरा आएका छन् मैले यसबारे धेरै बोल्न उचित छैन।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काम त अपराध भएन र ?

मैले पहिले पनि भनिसकेँ यो ठगी मात्र होइन। नेपाल राष्ट्र, मानव बेचबिखनको गम्भीर अपराध, ठगी र नेपालको राष्ट्रिय स्वाभिमानको प्रतिठामाथि नै धक्का पुर्‍याउने गम्भीर अपराध हो। यसमा कुनै व्यक्त्तिलाई छुट दिने मुद्धालाई कमाजोर बनाउने कसैले कसैलाई बचाउने काम गरे अपराधिक दण्डनीय क्रियाकलाप हुनेछ। सबैले आवाज उठाउन जरुरी छ।

जो–जो व्यक्ति जोडिएको नाम आएको छ त्यो बाहेकका अरु कसैलाई शंका गर्न सकिन्छ ?

त्यो मलाई भन्दा तपाईंहरु जस्तो पत्रकारले खोजनीति गरेर बाहिर ल्याउनुस्। यदि कोही पनि छ भने व्यापक रुपमा बाहिर ल्याउनुपर्छ। नेपाल प्रहरीलाई बल पुग्ने गरेर सबैले प्रत्येक क्षेत्रबाट सहयोग गर्न आवश्यक छ।

तपाईंको पार्टी सचिव टोपबहादुर रायमाझीलाई पनि पक्राउ पुर्जी जारी भए पनि एमालेले नै उनलाई लुकाएको भनेर आरोप लागेको छ, के यो सत्य हो ?

एमालेले लुकाएको कसैलाई थाहा भए, कहाँ लुकाएको छ भन्दिए भइहाल्यो नि ? फरार अभियुक्त हो, नेपाल प्रहरीले पनि भनिसक्यो। खोज्ने काम सरकार र राज्यको हो नि। खै खोजेको लुकायो भनेर आरोप लगाएर मात्र हुँदैन।

लुकाएको कसैलाई थाहा भए यसले लुकाएको छ। अनुमानको भरमा भन्नु भएन। यदि कसैले लुकाएको छ भने लुकाउने व्यक्त्तिलाई पनि कारबाही गरौँन अनुमानको भरमा भन्नु हुँदैन।

रायमाझीलाई पक्राउ गर्न नसक्नु कसकाे कमजोरी हो ?

खाेजी गरेर कारबाहीको दायरामा ल्याउने काम राज्यको हो, राज्य नै कमजोर छ।

भिडियाे :

प्रकाशित मिति: : 2023-05-10 18:25:00

प्रतिकृया दिनुहोस्