 
                                            
                                        
                                     
                                महेश नेपाली
 
                                नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ जनयुद्धकालमा तीन वर्ष जुम्लामा बसेर राजनीतिक संगठन निर्माण गरेका थिए। माओवादीको मूल नेतृत्वबाट भएका भूलमा फरक मत राखिरहने उनले ‘संसदीय व्यवस्थाको दलाल पुँजीवादी भेलमा नफस्ने’ भन्दै फरक पार्टी निर्माण गरे।
फरक पार्टी निर्माणको क्रममा कहिले भूमिगत जीवन त कहिले खुला राजनीतिक आन्दोलन गर्दै आएका उनले शान्ति प्रक्रियापछि पनि अशान्तिपूर्ण समय व्यतीत गर्नु पर्यो। कम्युनिस्ट नेतृत्वको सरकार बनेको अवस्थामा जनवादी व्यवस्था चाहने विप्लवका राजनीतिक गतिविधि प्रतिबन्धित हुन पुगे।
सँगै लडेका सहयोद्धबाट लगाइएको प्रतिबन्ध र पक्राउ पुर्जीको डटेर सामना गर्दै आएका उनले हालसम्म सत्ता र संसदको अभ्यास गरेका छैनन्। बरु यो व्यवस्थाको विकल्प खोजिरहेका छन्। अहिले उनी नेपाली विशेषताको समाजवाद र वैज्ञानिक समाजवादी व्यवस्थाको वकालत गर्दै छन्।
सडकमा बलियो प्रतिपक्ष राजनीतिक आन्दोलनको नेतृत्व गरिरहेका विप्लव पछिल्लो समय रचनात्मक देखिन थालेका छन्। त्यसैले उनी समग्र क्रान्तिलाई नै उत्पादन र अर्थतन्त्रसँग जोड्ने अभियानमा छन्।
नेकपाको उत्पादन विभागले राजनीतिक आन्दोलनसँग उत्पादन जोड्ने निर्णय गरेपछि उत्प्रेरक बन्न जुम्ला पुगेका विप्लवसँग बिएल नेपाली सेवाका लागि महेश नेपालीले गरेको अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत छ:
सामूहिक स्याउ खेतीका लागि जुम्ला आइपुग्नु भएको छ। यसबाट दिन खोजेको सन्देश के हो? अनि सामूहिक उत्पादन र कम्युनिस्ट राजनीति बिचको तालमेल के छ?
यसबाट दिन खोजेको सन्देश तीनवटा छन्। पहिलो कुरा यो हाम्रो पार्टीको मात्रै होइन। अर्थतन्त्रमा आत्मनिर्भर बन्नका लागि, जनताको जीवन सुखी बन्नका लागि, धेरै ठूलो कुरा छैन। हामीसँग भएको स्रोत साधनलाई उचित परिचालन गर्यौं भने नेपाल उत्पादनमा आत्मनिर्भर हुन योग्य छ भन्ने सन्देश हामीले देशमा दिन चाहेको हो।
दोस्रो, हाम्रो पार्टीमा धेरै लामो अनुभवपछि हामी संश्लेषण गरेका छौं कि नेताहरुले, कार्यकर्ताहरुले श्रममा भाग नलिएसम्म राजनीति अत्यन्तै अव्यवहारिक हुँदो रहेछ भन्ने। यो कुरा हामीले सबैभन्दा धेरै महसुस गरेका छौं। परनिर्भर भइने रहेछ भन्ने महसुस भएको छ। त्यसैले राजनीतिलाई आत्मनिर्भर बनाउनका लागि नेता र कार्यकर्ताहरुले हरावारा जीवन जिउनका लागि आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न उत्पादन र श्रममा भाग लिन जरुरी छ।
तेस्रो, राजनीतिलाई हामीले आर्थिक जीवनमा बदल्नै पर्छ। सिद्धान्तलाई व्यवहारमा बदल्नु पर्छ। त्यो सिंगो राजनीतिक आन्दोलनको एउटा दायित्व हो भन्ने हामीलाई लाग्छ। यो केवल हाम्रो पार्टीको मात्रै कुरा होइन। नेपालका हरेक राजनीतिक पार्टीका नेता, कार्यकर्ताहरुको दायित्वभित्र हुनुपर्छ भन्ने सन्देश पनि हामीले दिन चाहेका हौं।
उत्पादनमा कम्युनिस्ट राजनीतिको असाध्यै राम्रो तालमेल छ। हामीले समाजवादबाट ल्याएको एउटा ठूलो परिवर्तन के हो भने हरेक मान्छे, हरेक व्यक्ति आफूलाई चाहिने उत्पादन गर्न योग्य छ। अझ एक जना मान्छेले गरेको उत्पादनले असहाय अथवा विभिन्न ढंगले दु:खी भएका जनतालाई सहयोग पुर्याउन, राहत दिन योग्य छ। त्यसका लागि उत्पादन नै हो र श्रम नै हो। त्यो कुरा समाजवादी सिद्धान्तमा भनेकै कुरा भयो।
यसलाई हामीले व्यवहारमा उतार्दा कस्तो हुन्छ भन्ने देखाउन चाहेका थियौं। हामीले प्रयोग गरिरहेका छौं। हामी एकदमै सफल छौं। खुसी के लागेको छ भने हाम्रो पार्टीले सामूहिक उत्पादन सँगसँगै यसलाई हामीले एकीकृत उत्पादन पनि भनेका छौं। मतलब यो स्याउ पार्टीको पनि हो, रोप्न सहभागी हुने सबैको हो भने स्याउ रोपाइँमा भाग लिने सबैको हो। यो सिंगो यो समाजको पनि हो। त्यसैले उत्पादनको सम्बन्ध कम्युनिस्ट राजनीतिसँग अझ बढी जोडिन्छ।
जनयुद्धताका माओवादीले अभ्यास गरेका कम्युन, सामूहिक उत्पादनको अस्तित्व लगभग समाप्त भइसकेको अवस्था छ। तर, अहिले निर्माण गरिएको सामूहिक बगैंचाको आयु कति होला?
त्यो असफलको शिक्षासहित हामीले यो सामूहिक खेती सुरु गरेका छौं। तर, जनयुद्धमा गरिएको उत्पादनमा असफल भएको होइन। नेतृत्वले त्यसको रक्षा गर्न नसकेको हो। यसलाई आन्दोलनमा बदल्न नसकेको हो।
त्यसका कारणहरु के थिए?
त्यसको मुख्य कारण जब हामी शान्ति प्रक्रियामा गयौं तब त्यसको स्वामित्व लिने, संरक्षण गर्ने र विकास गर्ने नीति पार्टीसँग रहेन। म इन्चार्ज भएको आधार इलाकामा पाँचवटा कम्युनहरु थिए। दर्जनौं श्रम सहकारीहरु थिए। २३ वटा उपभोग सहकारी थिए। एउटा वित्तीय सहकारी थियो। कोही पनि घाटामा थिएनन्। तर, जब हामी काठमाडौं छिर्यौं अनि हामीले शान्नि प्रक्रियामा अरुसँग प्रतिस्पर्धा गर्न समय छोडिदियौं। हाम्रो उत्पादन संयन्त्र बिग्रियो। लिडरसिपले संरक्षण नगरेको कारण त्यो ध्वस्त भयो।
विश्वभर कमजोर बन्दै गएको कम्युनिस्ट आन्दोलनको स्थिति नेपालमा पनि रक्षात्मक स्थितिमा पुगेको छ। यस्तो अवस्थामा यो व्यवस्थाको विकल्पमा नेपाली विशेषतासहितको समाजवाद वा समाजवादी क्रान्ति कसरी सम्भव हुन्छ?
तपाईंले भन्नुभएको एकदम सही कुरा हो। त्यसैले हामीले समीक्षा पनि गर्यौं। कम्युनिस्टहरु विश्वमा निकै लोकप्रिय पनि हुन। २०औँ शताब्दीको उत्तर्रद्धमा आउँदा र २१औँ शताब्दीको पूर्वार्धमा आउँदा समाजवालका साफताहरुलाई निरन्तर अगाडि बढाउन नसक्दा, विकास गर्न नसक्दा ढलेका छन्।
सफलताका हिसाबले हेर्ने हो भने अहिले पनि मान्छेको आकर्षण समाजवादमा नै छ। एउटा सानो देश उत्तर कोरियाकै कुरा गर्नुस् न त्यत्रो ६० वर्षदेखि प्रतिबन्ध छ। बाहिर सामान बेच्न पाउँदैन, बाहिरबाट भित्र सामान ल्याउन पाउँदैन। यस्तो हुँदा पनि उत्तर कोरियाले जुन खालको जीवन बाँचिरहेको छ, त्यसले समाजवादको झलक दिन्छ। क्युवाकै कुरा गर्नुस् न, ६ दशक बढी समयदेखि अमेरिकाको नाकाबन्दी छ। तर, पनि सुन्दर देश छ। क्युवाको शिक्षालाई संसारले अनुसरण गर्छ, स्वास्थ्य प्रणाली उस्तै छ। त्यसैले समाजवाद नै हो चाहिने।
तर, समाजवादीहरुले गरेको विकासलाई निरन्तर अगाडि बढाउन सकेका छैनन्। त्यहाँ कमजोरीहरु छन्। त्यो समीक्षा हामीले गरेका छौं। नेपालमा पनि जनताले चाहको समाजवाद नै हो। तर, यहाँको लिडरसीपले त्यसलाई टुङ्ग्याउन नसक्दा जनतामा अलिकति वितृष्णा छ। हामीले फेरि पनि समाजवाद नै नेपालको भविष्य हो भनिरहेका छौं। जनताको मत त्यसैमा छ। त्यसलाई अलिकति हामीले एकताबद्ध गर्नु पर्नेछ। मोर्चाबद्ध गर्नुपर्ने छ। विश्वास दिलाएर लानुपर्छ। यी सबै कामहरु विश्वास दिलाउने अन्तर्गत पर्छन्। राजनीतिमा पनि हामी त्यो गर्छौं।
नेपाल कम्युनिस्ट पार्टीले नेपाली विशेषतासहितको समाजवाद भनिरहेको छ। एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादको कुरा पनि गरिरहेको छ। यो व्यवस्थामा जनताले के-के सुविधा पाउँछन्?
अहिले जनतालाई एकदमै समस्या अनुभूत भएको छ। त्यसको समाधान समाजवादले गर्छ। पहिलो कुरा जनताले समस्या अनुभूत गरेको भनेको राजनीतिमा अस्थिरता भयो। मूल्यांकन भएन। इमानदार को हो, बेइमान को हो भन्ने कुरा अन्यौल छ। को जनताको प्रतिनिधि हो र को होइन भनेर छुट्याउन जनतालाई एकदमै गाह्रो भयो। त्यसैले एउटा स्थिर खालको राजनीतिक प्रणाली जनताले चाहेका छन्। त्यो समाजवादले दिन्छ।
दोस्रो कुरा अर्थतन्त्रमा जुन पार्टी आए पनि, जुन सरकार आए पनि खासै सुधार हुन सकेन। आफ्नै बलबुँताले जनताले गर्ने बाहेक राज्यको प्रेरणाबाट विकास गर्ने कुरा एकदमै कम भयो। यो कमी पूरा गर्ने काम समाजवादले गर्छ।
अहिले रोजगारीको क्षेत्र डामाडोल छ। उद्योगधन्दाहरु बन्द छन्। यी सबै काम समाजवादले गर्छ। युवाहरुलाई स्वादेशमै रोजगारी दिलाउने सुनिश्चितता समाजवादले गर्छ।
शिक्षाको कुरा गर्नुस्। कस्तो शिक्षा लागु गर्ने भन्ने विषयमा अहिले ठूलो बहस भइरहेको छ। पढ्यो पढ्यो अदक्ष भएर साइड लाग्नुपर्ने वा फालिनुपर्ने अवस्था छ। रोजगारमूलक शिक्षा, उत्पादनमूलक शिक्षा दिएर यी समस्याको समाधान समाजवादले गर्छ।
स्वास्थ्यको कुरा, सूचना संचारको कुरा, कृषि, भूमि यी सबै कुरामा समाजवादले समाधान दिन्छ। जनतालाई अप्ठ्यारो परेको छ भने त्यसको निकास समाजवादले दिन्छ।
माओवादी युद्धकालमा कर्णालीमा पार्टी संगठन निर्माण गर्न तपाईंको भूमिका उल्लेख्य रहेको यहाँका नेता, कार्यर्ताहरुको भनाइ छ। अहिले तपाईं माओवादी पार्टीभन्दा अलग हुनुहुन्छ। कर्णालीलाई हेर्ने नेपाल कम्युनिस्ट पार्टीको दृष्टिकोण के हो?
एउटा, कर्णाली निकै लामो समयदेखि उत्पीडित रहेको क्षेत्र हो। अर्को, कर्णाली भनेको स्रोत साधनले सम्पन्न क्षेत्र हो। क्षमताका हिसाबले पनि कर्णाली अब्बल नै छ। तर, कर्णाली केन्द्रीय सरकारसँग जोडिन पाएको छैन। हामीले जनयुद्ध लड्दाखेरि पनि यसलाई केन्द्रीय राजनीतिमा जोड्ने हाम्रो चाहना थियो। आज पनि त्यो पूरा भएको छैन। त्यो समाजवादले पूरा गर्छ। मेरो दायित्व त्यो छ।
त्यतिबेला कर्णालीले जनयुद्धलाई माथि पुर्याउनका लागि दोस्रो पिलरको रुपमा काम गरेको थियो। राप्ती पछि सबैभन्दा बढी बलियो क्षेत्र कर्णाली नै थियो। त्यो आधारशीला हो, कर्णाली।
अहिले पनि माओवादी संगठन यही क्षेत्रमा राम्रो छ। हाम्रो संगठन पनि यसै क्षेत्रमा राम्रो छ। यो सबै जोड्दाखेरि धेरै राम्रो पनि छ। यति हुँदा पनि कर्णाली केन्द्रसँग जोडिएको छैन। यस क्षेत्रका थुप्रै गुनासाहरु छन्। त्यसैले हाम्रो दायित्व के छ भने परिवर्तन समृद्धिको अपेक्षासहित कर्णालीले जुन खालको राजनीतिक योगदान गरेको छ त्यसलाई पूर्णता दिने र सफल बनाउने हाम्रो दायित्व छ।
कर्णालीलाई शासकीय दृष्टिकोणले हेर्ने नजर र तपाईंहरु सत्तामा पुगेपछिको नजर एउटै हुने त होइन कतै?
त्यो कहिले पनि हुँदैन। किनकि, कर्णालीले अहिले जस्तो हाम्रो पार्टीमा नेतृत्वदायी भूमिका निभाइरहेको छ त्यसले पनि तपाईंहरु सजिलै बुझ्न सक्नुहुन्छ। यो हामीले गरिदियौं भन्ने खालको दया भावले भएको होइन। स्वतस्फूर्त हो। ठिक ढंगले समायोजन गर्यौं, नेतृत्व दिन सक्यौं भने कर्णालीको क्षमता छ। यो कुरा साँचो हो। यद्यपि, कर्णालीमात्रै होइन नेपालका सबै श्रमिक जनतालाई जुटाउन जरुरी छ।
सत्तामा रहेको माओवादी केन्द्र र सत्ताको नेतृत्व गरिरहनु भएका प्रधानमन्त्री प्रचण्डलाई तपाईं कसरी चित्रण गर्नुहुन्छ?
(थोरै हाँस्दै) होइन यो अलिकति अप डाउनमै जान्छ। हामी उतारचढावबाट आएका छौं। मिल्ने पनि संघर्ष गर्ने जस्तो पनि भइरहेको छ। हाम्रा कयौं गुनासाहरु, असन्तुष्टिहरु छन्। संघर्ष पनि गर्यौं।
यो असहमतिको बिन्दु पनि चरम नै छ नि?
अहिले फेरि एकता र सहमति पनि माओवादीसँगै चलिरहेको छ। रमाइलो कुरा के भने प्रचण्ड कमरेडसँग हाम्रो कयौं कुराहरु मिल्छ। माओवादीमा हेर्दा बुढो भए पनि गतिलाई पकड्न सक्ने हिसाबले प्रचण्डजी नै अगाडि हुनुहुन्छ। लिडरसिपका हिसाबले म ठिकै देख्छु।
सत्ता संचालनको दृष्टिकोणले भन्नू न। मैले खोजेको उत्तर यो होइन।
(हास्दै) होइन सत्ता र सरकार भनेको अलिकति फरक कुरा हो। सत्ता हामीप्रति असाध्यै पूर्वाग्रही छ। यही स्याउ खेतीकै कुरा गरौं न नर्सरीमा बुढा भइरहेका छन्, बुटाहरु त। दिन मानिरहेको छैन। पैसा उता फ्रिज भइरहेको छ। त्यसलाई संचालन गर्ने राज्य संयन्त्र यस्तो छ। सरकारसँग त अहिले हाम्रो ठिकै छ। यो बेलामा राम्रो भएको छ। राम्रै कुरा गर्नुपर्छ।
संसदीय व्यवस्था दलाल पुँजीवादी हो कि अर्थतन्त्रको मोडेल? कम्युनिस्ट पार्टीको नीतिले युवाहरुलाई स्वदेशमै केही गरि खाने वातावरण किन बनेन्?
मूख्य समस्या नै अर्थतन्त्र हो। दलाल पुँजीवादको सबैभन्दा ठूलो प्रभुत्व, दबदबा, उत्पीडन अर्थतन्त्रमा छ। त्यसको अभिव्यक्ति वित्तीय एकाधिकार पुँजीमा भइरहेको छ। बाहिरबाट ल्याउने, नेपाली जनतामा लगानी गर्ने, यहाँ भएको पैसा पनि केही मान्छेले कब्जा गर्ने, फेरि यसलाई पलायन गर्ने। उत्पादनमा नलगाउने। जनताको पैसालाई उत्पादनमा जान नदिने भइरहेको छ। यसैलाई दलाल पुँजीवाद भनिन्छ। रोजगारी नदिने, उद्योग नखोल्ने, उत्पादनमा वृद्धि नगर्ने, पैसाबाट पैसा मात्रै कमाउन खोज्ने र त्यो पनि विदेशी ठूलो पुँजीलाई आयात गरेर त्यसको बलमा जनतामा शोषण उत्पीडिन गर्ने जुन चरित्र छ त्यो नै अर्थतन्त्रको दलाल पुँजीवाद हो।
लामो समयदेखि कम्युनिस्ट पार्टीहरु सरकारमा रहने वा बहुमत ल्याउने भयो। चुनावको आँकडा हेर्दा यस्तो देखिन्छ। तर, पनि कम्युनिस्ट पार्टीले अख्तियार गरेको नीतिका कारण युवाहरु स्वदेशमै रहिरहने वा काम पाउने वातावरण त बनेन् नि? यसको कारण के हो?
मैले यहि कुरा अघि नै राखेको थिएँ। व्यवस्थाको पूर्णता पनि छैन। आर्थिक दृष्टिकोण पनि राम्रो बन्न सकेको छैन। सरकारले पनि ठिक ढंगले काम गर्न सकेको छैन। अहिलेकै सरकार ढल्नुको एउटा कारण के थियो भने अर्थमन्त्री र प्रधानमन्त्रीबीचको सहकार्यको अभाव पनि हो।
प्रधानमन्त्री राज्यमा उद्योग खोल्नुपर्छ भन्नुहुन्छ, अर्थमन्त्री अहिले राज्यको स्वामित्वमा भएका उद्योग पनि निजीकरण गर्ने भन्नुहुन्छ। अनि कसरी मिल्छ? यस्ता खालका समस्याले नै युवाहरु पलायन भएका हुन्। यसलाई रोक्न सकिन्छ।
देशको वर्तमान राजनीति र सत्ता समीकरणलाई तपाईंले कसरी लिनु भएको छ?
यो हाम्रो पार्टीको कुरा हो। अलिकति सजातीय भित्र आएको फिल हुन्छ(हास्दै)। हिजो विपरीत विचारहरु पनि थिए। अर्थतन्त्रलाई बुझ्ने मामलामा नेपाली काँग्रेस र हाम्रो बिचमा ठूलो एउटा ग्याप छ। उहाँहरु निजीकरणलाई समृद्धिको आधार भन्नुहुन्छ। हामी राज्यको नेतृत्वसहितको अर्थतन्त्र चाहिन्छ भन्छौं। निजी पनि चाहिन्छ। तर, मूल नेतृत्व चाहिँ राज्यकै चाहिन्छ। केहीले त यतिसम्म भने कि सम्पूर्ण अर्थतन्त्रको जिम्मा निजी क्षेत्रलाई दिएर राज्यले व्यवस्थापनको काम मात्रै गरिदिए पुग्छ। यस्तो खालको समय विरोधी, वस्तु विरोधी कुरा गलत हुन्छ।
सिधै विदेशी धनाड्यहरुलाई नेपाल हुल्ने। अहिले सिंहले सिकार गरेको छ भने सिंह ल्याउने कुरा राम्रो होइन।
तपाईंको दृष्टिकोणमा एकातिर दलाल पुँजीवादी व्यवस्थामा रमाउने कम्युनिस्ट पार्टीहरु छन्। अर्कोतिर तपाईंहरु हुनुहुन्छ। तर, यही व्यवस्थामा रमाइरहेका कम्युनिस्टहरुसँग मिलेर निर्माण गरिएको समाजवादी मोर्चाको तपाईं संयोजक हुनुहुन्छ? यो विवादास्पद र विरोधाभासपूर्ण कुरा भएन र?
यो विवादास्पद होइन। एकदम अग्रगामी छ।
कसरी अग्रगामी मान्न सकिएला?
किनभने, समाजवादी मोर्चाको लक्ष्य भनेको संसदीय व्यवस्था होइन। दलाल पुँजीवादी राज्यसत्ता होइन।
तर, त्यहाँ भएका पार्टीहरु त संसदीय व्यवस्थामै रमाइरहेका पार्टीहरु हुन नि?
हामीले चाहेको नेपाली विशेषताको समाजवाद हो। हामीले त समाजवाद चाहियो भन्छौं नै। यही सरकारमा बसेका पार्टीहरुले पनि यो व्यवस्था काम लागेन समाजवादमा जाउँ भन्नुहुन्छ भने त यो स्वागतयोग्य कुरा भयो। उहाँहरु यो व्यवस्थामा सरकारको नेतृत्व गरिरहँदा पनि समाजवाद नै चाहियो भन्नुहुन्छ र नेकपाले भनेका कुराहरु ठिक छन् भन्नेमा सहमत हुनुहुन्छ भने त जनताका लागि निकै खुसीको कुरा हो।
यसमा हामीले नेपाली काँग्रेसलाई पनि सँगै आउनुस् भन्छौं। नेपाली काँग्रेस पनि समाजवाद भन्छ नि त।
समाजवाद भनेको भन्नलाई मात्रै हो कि काम गर्नलाई पनि हो?
नेपाली काँग्रेसले भन्ने समाजवाद प्रजातान्त्रिक समाजवाद हो। अर्थात् वीपीको समाजवाद। तर कम्युनिस्टहरुले भन्ने समाजवाद त वैज्ञानिक समाजवाद हो नि। वैज्ञानिक समाजवाद र काँग्रेसको समाजवादमा त फरक छ।
यस्तो अवस्थामा कसरी नेपाली काँग्रेसलाई पनि सँगै जाउँ भनेर भन्न सकिन्छ?
होइन समाजवादका केही आधारभूत मान्यताहरु सबैका मिल्छन्। सायद तपाईंले पनि हेर्नुभएको होला। वीपीले एउटा कुरा भन्नुभएको थियो नि। वर्ग संघर्ष र सर्वहारा वर्गको अधिनायकत्व झिक्ने हो भने समाजवाद एकै हो। ठिक छ त्यो दुईवटा कुरा पछि गरौंला। अहिले काँग्रेससहित एक भएर समाजवादी राज्य निर्माणको काम गरौं न।
अर्थतन्त्र, उद्योग, शिक्षा, स्वास्थ्यमा, कृषि राम्रो गरौं न। कम्तिमा यहाँसम्म सँगै जाउँ न त। वर्ग संघर्ष पछि सोचौंला। अब काँग्रेसले वीपीको लाइनमा लैजावस न त आफ्ना नीतिहरु।
कम्तिमा उत्पादनमा सामूहिक स्वामित्व हुनु पर्यो। उत्पादनलाई जनतातिर फर्काउनु पर्यो। समाजवादको मूल चरित्र के हो भने राजनीति, अर्थतन्त्र, सामाजिक सम्बन्धलाई जनतासँग सम्बन्धित बनाएर सोच्नुपर्छ। त्यतातिर काँग्रेस फर्किनुपर्छ।
उदाहरणका लागि भारतको अर्थतन्त्र बलियो हुनुको एउटा मेजर कारण इन्टरनेसनल सोसलिस्टअन्तर्गत जवारलाल नेहरुहरुले सोभियत संघसँग मिलेर अर्थतन्त्रको निर्माण गरे नि, त्यसको प्रभाव अहिले देखिँदैछ। यसलाई हामीले राम्रोसँग हेर्नुपर्छ।
त्यतिबेला सोभियत संघले नेपाललाई पनि सहयोग गरेको थियो। तर, त्यसलाई निजीकरण गरियो नि?
नेपाल निजीकरण तिर गयो। किनकि, नेपालमा एउटा प्रगतिशील पुँजीवादी पार्टी पनि भएन। काँग्रेसले त्यो गरोस भन्ने थियो। गरेन। प्रगतिशील पुँजीवादी पार्टीको प्रतिनिधित्व काँग्रेसले गर्यो भने दलाल पुँजीवाद विरुद्धको संघर्षमा हामी सँगै हुन सक्छौं।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया