हङकङमा प्रदर्शनः अन्तर्राष्ट्रिय विमानस्थलभित्रै प्रदर्शनकारी

तस्बिरः एजेन्सी

विगत डेढ महिनादेखि सरकारविरूद्ध प्रदर्शनमा रहेका हङकङका प्रदर्शनकारीहरू शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलभित्र छिरेका छन्।

शुक्रबार दिउँसो हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमै प्रवेश गरेका आन्दोलनकारीले आफ्नो आन्दोलन र मागबारे जापानी, अंग्रेजीलगायत विभिन्न भाषामा लेखिएका प्लेकार्ड आगन्तुकलाई वितरण गरेका थिए।

प्रदर्शन विमानस्थलका अधिकारी र प्रहरीको समन्वयमै भएको दावी उनीहरुले गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसैबीच प्रशासनले प्रदर्शन अगावै विमानस्थलको सुरक्षा व्यस्था कडा बनाएको जनाएको छ । विमान कम्पनीहरूले यात्रुहरूलाई तोकिएको समय अगावै विमानस्थल आइपुग्न उर्दि जारी गरेका छन्।

सरकारले ल्याएको सुपर्दुगी विधेयकविरुद्ध हङकङमा डेढ महिनादेखि आन्दोलन जारी छ। चीनले भने हङकङमा शान्ति व्यवस्था कायम गर्न जनमुक्ति सेना परिचालन हुन सक्ने चेतावनी दिइसकेको छ।

ब्रिटेनले हस्तान्तरण गरेपछि हङकङमा ‘एक देश दुई व्यवस्था’ अन्तर्गत स्वायत्त शासन चलिरहेको छ।

हङकङको कुनै अभियुक्तलाई चीन सरकारले चाहेमा मेनल्याण्ड चीनमा पठाउन सकिने विधेयक हङकङ सरकारले ल्याएपछि त्यहाँ आन्दोलन चर्केको हो।

यो व्यवस्था लागु भएमा बेइजिङले आफ्ना विपक्षीलाई तारो बनाउने र चीनको न्याय व्यवस्था पारदर्शी नभएकाले न्याय नपाइने भन्दै उनीहरु विरोधमा उत्रेका हुन् ।

हङकङ सरकारकी प्रमुख क्यारी ल्यामले विधेयक निष्क्रिय बनाइएको बताए पनि प्रदर्शनकारीले विधेयक फिर्ता नलिँदासम्म आन्दोलन नरोकिने बताउँदै आएका छन् ।

प्रकाशित मिति: : 2019-08-09 17:22:13

प्रतिकृया दिनुहोस्