बर्दिया यात्राको महत्वपूर्ण सौन्दर्य अरु केही हो भने त्यो हो पाटेबाघ। बाँसगढी नगरपालिकादेखि बर्दिया राष्ट्रिय निकुञ्जको गेटसम्म पुग्दा जताजतै बाघैबाघ। यात्रा गर्नेका लागि सावधानी अपनाउन। नयाँ पर्यटकका लागि जानकारी प्रदान गर्न। कतै सुन्दर फोटो ग्राफीमा त कतै धार्मिक आस्था राख्नेहरुका लागि मन्दिर परिसरमा।
वास्तवमा बाघमय छ बर्दिया। अहिले त बर्दिया भन्नेबित्तिकै ‘बाघको जिल्ला’ को रुपमा समेत चिनिन थालेको छ। तपाईं जहाँ जानुहुन्छ, त्यहाँ बाघ भेटाउनुहुन्छ। यहाँको ठाकुरद्वारा मन्दिर त साँच्चै बाघमय नै छ। मन्दिरको प्रवेशद्वार, भित्र मुख्य मन्दिर क्षेत्रमा। अझ बाहिर मुख्य सडकमा क्षेत्रमा ठूलो आकृतिमा कलात्मक रुपमा निर्माण गरिएको ‘बाघचोक’ पनि छ।
त्यहाँ पाटेबाघ उभिएको देख्न सकिन्छ, सुन्दर आर्टमा। बर्दियाका हरेक क्षेत्रमा बाघका फरक–फरक आकृतिको दृष्यावलोकन गर्न सकिन्छ। त्यहाँ पुग्ने प्रायः बाघसँग सेल्फी लिन्छन्। ढोग्छन्, श्रद्धा अर्पण गर्छन्।
जिउँदो बाघ नदेखिएपछि कृतिम बाघ हेरेर खूब रमाइन्छ। जिल्लाका अन्य थुप्रै क्षेत्रमा समेत बाघका यस्ता आकृति बनाइएका छन्। यी त भए कृत्रिम बाघका कुरा तर जिउँदो बाघबाट भने निकै भयभित छन् बर्दियाबासी। पछिल्ला केही वर्षयता बाघको आक्रमणबाट मानवीय क्षति भइरहेको छ।
गत पुस १७ गते राति पौने ९ बजे बर्दिया राष्ट्रिय निकुञ्जको अम्रेनी–चिसापानी सडक खण्डमा मोटरसाइकलमा सवार नन्दकला थापालाई पाटेबाघले बाटोमै आक्रमण गर्यो। कैलालीको लम्कीचुहा नगरपालिका–४ की ५२ वर्षीया थापाको शव अर्को दिन भेटियो। घटनामा मोटरसाइकल चलाइरहेका थापाका छोरा घाइते भए।
यस्तै गत कात्तिक २० गते गेरुवा गाउँपालिका–४ लहानु थारुलाई पाटेबाघले आक्रमण गरेको थियो। गाइवस्तुको लागि घाँस ल्याउन गएकी उनको शव मात्रै भेटियो। उक्त महिनामा मात्रै पाँच बाघको आक्रमणबाट पाँच जनाको ज्यान गएको थियो। गेरुवा बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सीमा जोडिएको स्थानीय तह हो।
त्यसको भोलिपल्ट नै निकुञ्जले त्यस क्षेत्रमा साँझ ८ बजेदेखि बिहान ६ बजेसम्म हिँड्न, साइकल र मोटरसाइकलमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ। निकुञ्जका अनुसार सडकमै बाघ दिनहुँजसो सडकमा देखिन थालेपछि यात्राा प्रतिबन्ध लगाइएको हो। सूचना अधिकारी अशिम थापा दिउँसो पनि मोटरसाइकललाई दुईवटा गाडीको बीचमा रहेर मात्र यात्रा गर्न दिइएको बताउँछन्।
पाटेबाघको आक्रमण जङ्गल क्षेत्रको राजमार्गमा मात्रै होइन, गाउँबस्तीमा अझ बढेको छ। चालू वर्षमा बाघको आक्रमणबाट ६ जनाको ज्यान गएको छ। बर्दियामा चार वर्षयता पाटेबाघको आक्रमणबाट १२ जनाको मृत्यु भइसकेको छ। बाघले गाउँबस्तीमै पसेर गाईबस्तुलाई समेत आक्रमण गरिरहेको छ।
जङ्गलभित्रै बस्ने र चारखुट्टे जनावरलाई आहारा बनाउने बाघ राजमार्ग र गाउँबस्तीमा पस्न थालेपछि चिन्ता थपिएको हो। बर्दिया गेरुवा गाउँपालिका अध्यक्ष जमानसिङ केसी बाघले गाउँबस्तीमै पसेर गाईबस्तुलाई समेत आक्रमण गरिरहेको बताउँछन्। उनले सीमावर्ती भारतीय जंगलबाट पनि बाघ आउने गरेको बताए। भने, ‘गेरुवामै दुई जनालाई मारिसक्यो।’
बर्दिया राष्ट्रिय निकुञ्जस्थापनाको प्रमुख उद्देश्य नै बाघको संरक्षण थियो तर यहाँ हात्ती, गैंडा, बाह्रसिंगा, घडियाल गोही, डल्फिन जस्ता लोपोन्मुख जीवजन्तुहरू संरक्षित छन्। कर्णालीको गेरुवा घाटमा बनेको नेपालकै लामो पुल, बबई उपत्यका, कर्णाली नदी, खैरापुरमा रहेको कृष्णसार संरक्षण क्षेत्र, थारु समुदायको परम्परा तथा होमस्टे पनि बर्दियालाई परिचित गराउने ठाउँ हुन्।
प्राकृतिक रुपमा सम्पन्न बर्दिया पश्चिम नेपाल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुले छुटाउन नहुने मध्यको एक गन्तव्य हो। बर्दिया राष्ट्रिय निकुञ्ज नेपालमा चितवनपछि सबैभन्दा धेरै माघ पाइने निकुञ्ज हो। यहाँ विश्व मै दुलर्भ मानिने पाटेबाघ पाइन्छ। उक्त बाघ हेर्नकै लागि स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेको निकुञ्जको भनाइ छ।
नेपालमा बाघ
हाल सम्म विश्वमा ५ प्रकारका बाघ पाइन्छ। नेपालमा पाइने बाघलाई पाटेबाघ ‘रोयल बंगाल टाइगर’ भनिन्छ। सन् २०१८ मा गरिएको अनुगमन अनुसार नेपालमा कुल २३५ बाघ छन्। नेपालमा पाँच निकुञ्जमा बाघ रहेको छ।
ती निकुञ्ज र संख्या यसप्रकार छ–
चितवन राष्ट्रिय निकुञ्ज ः ९३
बर्दिया राष्ट्रिय निकुञ्ज : ८७
बाँके राष्ट्रिय निकुञ्ज : २१
पर्सा राष्ट्रिय निकुञ्ज : १८
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज :
(स्टाटस अफ टाइगर्स एण्ड प्रे इन नेपाल २०१८)
नेपालमा सन् २००९ मा गरिएको गणना अनुसार १२१ वटा बाघ रहेको अनुमान गरिएको थियो। २०१८ सम्म आइपुग्दा अनुमानित २३५ पुग्यो। सन् २०२२ सम्म बाघको संख्या २५० पुर्याउने लक्ष्य राखिएको छ।
पाटे बाघ :
पाटे बाघको उपप्रजाति नाम (प्यानथेरा टाइग्रिस टाइग्रिस) हो। यो दक्षिण एसियाका नेपाल सहित भारत र बंगलादेशमा पाइन्छ। यो बाघहरू विभिन्न प्रकारका वासस्थानमा बस्न सक्छ। घाँसेमैदानदेखि उष्ण तथा समशितोष्ण सदाबहार जङ्गलहरू र झाडीहरूमा मात्र नभएर मरुभूमि आसपासका पतझर वनहरू, ओशिला दलदलहरूमा समेत बाघले आफ्नो वासस्थान बनाएको हुन्छ।
बर्दियामा उष्ण तथा समशितोष्ण सदाबहार जंगलहरू र झाडीहरू छन्। जुन बाघको बाँसस्थानको लागि उपयुक्त क्षेत्र मानिन्छ। भाले बाघहरु जंगलमा विचरण गर्दछन्। पछिल्लो समय बाँसस्थान मासिदै जान थालेको र आहारा अभाव भएका कारण बाघले मानिसलाई आक्रमण गर्न थालेको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ बर्दियामा पछिल्लो समय बाघको आक्रमण गम्भीर समस्याका रुपमा देखा परेको बताउँछन्। उनका अनुसार भाले बाघहरू साधारणतया २०५ देखि २२७ किलोग्रामसम्म तौलका हुन्छन् भने पोथी बाघहरू औसत रूपमा करिब १४१ किलोग्राम तौलका हुन्छन्।
नेपाल र उत्तरी भारतमा पाइने पाटेबाघहरू दक्षिण भारतमा पाइने बाघभन्दा केही ठूलो शरीरका रहेको उनले बताए। बाघ नेपालमा संरक्षित जनावरको सूचीमा राखिएको छ।
बर्दियाँमा बाघ पर्यटन
बर्दिया घुम्न आउने पर्यटकको प्रमुख रोजाई भनेको बाघ हो। यहाँका जङ्गल क्षेत्रमा सहज रुपमा बाघको अवलोकन गर्न पाइन्छ। पछिल्लो समय बर्दियामा बाघको त्रास छ।
यस्तै कोभिड–१९ यता निकुञ्जमा जनावरहरुलाई हेर्ने कुरामा प्रतिबन्ध लगाइएको छ। यद्यपि यहाँ वर्षेनी बाघ हेर्नकै लागि स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ।
निकुञ्जभित्र पर्ने तीनकुने क्षेत्र बाघ हेर्नको लागि उपयुक्त क्षेत्र मानिन्छ। यस्तै पर्यटकहरुको अवलोकनका लागि एउटा बाघ चिडियाखानामा राखिएको छ। बर्दिया जिल्लामा बाघकै कारण पर्यटकीय गतिविधिसमेत हुने गरेका छन्। बर्दिया जिल्ला प्राकृतिक रुपमा समेत सुन्दर र मनोरम छ।
पुनःप्रकाशित – सम्पादक