दुई दशअघि भारतीय चेली हमिदा बानो अचानक बेपत्ता भइन्। तर सामाजिक सञ्जालमार्फत् २० वर्षपछि उनी पाकिस्तानमा रहेको तथ्य फेला परेकाे छ।
सन् २००२ तिर काम खोज्दै हिँडेकी हमिदालाई एउटा दलालले दुबई उडाउने सपना देखायो। अनि उनी मुम्बई छाड्न बाध्य भइन्।
वर्षौपछि परिवारको सम्पर्कमा आएकी हमिदाले आफूलाई जागिरको प्रलोभन देखाएर त्यो दलालले पाकिस्तान पठाएको गुनासो पोखिन्। उनका आफन्त र परिवार मुम्बईमा बस्छन्।
विगत २० वर्षदेखि हराइरहेकी हमिदालाई परिवारले खोजिरहेको थियो। उनी अन्ततः भारतीय र पाकिस्तानी नागरिगको ठूलो सहयोगमा फेला पारिवारिक सम्पर्कमा आइन्।
भारत र पाकिस्तानबीचको सम्बन्ध जहिल्यै तनावपूर्ण बन्यो। जसले गर्दा भारतीय चेली हमिदाले सीमा पारको कल्पना पनि गरिनन्। बरू ठूलो कठिनाइ भोगिन्। थुप्रै समस्या झेलिन्। मुम्बई सम्झेर पाकिस्तानमै बाँचिन्। कैयौँ वर्ष बितिसक्दा पनि उनले आफ्ना सन्तानलाई भेट्ने कहिल्यै आशा मारिनन्।
पाकिस्तानी सामाजिक कार्यकर्ता वलीउल्लाह मारुफले जुलाई अन्तिमतिर हमिदासँग एउटा अन्तर्वार्ता लिए। त्यो अन्तर्वार्ता सामाजिक सञ्जालमा राख्न बित्तिकै मुम्बईसम्म आयो।
भारतीय पत्रकार खलफान शेखले भिडियो आफ्नो फेसबुकमा सेयर गरेपछि हमिदाको परिवारसम्म पुग्यो। पाकिस्तानी सामाजिक कार्यकर्ता वलीउल्लाह र भारतीय पत्रकार खलफानले पीडित हमिदा र छोरी यास्मिन शेखबीच भिडियो कुराकानी गराएकाे बीबीसी मराठीकी प्रतिनिधि अमृता दुर्वेले बताइन्।
भावुक भिडियो संवादमा छोरी यास्मिनले आफ्नी आमालाई सोधिन्, ‘कहाँ हुनुहुन्छ? मलाई चिन्नु भयो? यत्रो वर्षसम्म कहाँ हुनुहुन्थ्यो?’
लगतै हमिदाले जवाफ दिइन्, ‘मलाई नसोध्नुहोस्, कहाँ छु? म तिमीलाई धेरै सम्झन्छु। म यहाँ रहरले आएको होइन, मसँग कुनै विकल्प पनि थिएन। रोएरै बिते २० वर्ष।’
२० वर्षपछि आफ्नी आमासँग भिडियो कुराकानी गर्न पाउँदा ज्याँदै खुशी लागेको छोरी यास्मिनले बताइन्।
तीन दशकअघि श्रीमानको मृत्युपछि सन्तान हुर्काउने जिम्मेवारी आफूमाथि थपिएको हमिदाले बताइन्। सन् २००२ मा दुबई उडेकी उनी दलालको फस्दामा परेर पाकिस्तान पुगिन्।
दलाल महिलाले आफूलाई दुबईको सट्टा पाकिस्तानको हैदरावाद सहरमा पुर्याएको हमिदाले बताइन्।
लगतै उनी तीन महिना जेल बसिन्। यसपछि उनले कराचीमा बस्ने एउटा व्यक्तिसँग विवाह गरिन्। उनैसँग झण्डै १४ वर्षसम्म सुख–दुःख साटिन्।
तर कोरोना महामारीले उनलाई फेरि एक्लै बनाएको छ। श्रीमानको कोरोना संक्रमणबाट मृत्यु भएको हमिदाले बताइन्। उनी अहिले सौतेनी छोरासँग बस्छिन्।
पाकिस्तानका सामाजिक कार्यकर्ता वलीउल्लाह कराँचीका स्थानीय बासिन्दा हुन्। उनी र पीडित एउटै गाउँमा बस्छन्।
हमिदालाई १४ वर्षअघि नै भेटेको वलीउल्लाहले बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् बंगलादेशबाट पाकिस्तान बेचिएकी कैयौँ चेलीलाई सहयोग गरेका छन्।
वलीउल्लाह पीडितको मार्मिक कथाबाट प्रभावित छन्। तर दुई देशबीचको तनावपूर्ण सम्बन्धका कारण अलिकति हिचकिचाएको पनि बताउँछन्।
हमिदाको उद्दारका लागि उनले पाकिस्तानस्थित भारतीय उच्चायोगका अधिकारीहरूसँग सम्पर्क गरेको बताएका छन्।
हमिदा आफ्ना छोराछोरीलाई भेट्नका लागि आतुर छिन्। ‘आमालाई भेट्नका लागि २० वर्षसम्म रोयौँ। अहिले धेरै खुसी छु। भिडियोमा आमा भेटेपछि अनुहारको मुस्कान कहिल्यै रोकिएको छैन। यो एउटा जीवनमा बेग्लै अनुभूति हो,’ छोरी यास्मिनले भनिन्।