श्रम शोषणविरुद्ध डाक्टरको आन्दोलनः तलब ४८ हजार, पाउँछन् १९ हजार
नेपाल मेडिकल कलेज, जोरपाटीका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। आइतबार श्रम शोषणविरुद्ध उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिए। आन्दोलनरत डा. राजु चौधरीले मन्त्रिपरिषदबाट निर्णय नै भइसकेको विषय कार्यान्वयन नहुनु दुःखद भएको भन्दै सडकमा आउनुपरेको बताए। उनले सरकारले तोके अनुसारको तलबको व्यवस्था नभएसम्म आन्दोलनमा जारी राख्ने प्रतिक्रिया दिए। उनले भने, ‘मन्त्रिपरिषदबाट नै पास भइसकेका कुरा अर्थात न्यूनतम तलब ४८ हजार निजी मेडिकलहरूले लागू गरिरहेका छैनन्। त्यसैका विरुद्धमा हाम्रो शान्तिपूर्ण विरोध हो। अस्पतालमा बिरामीको उपचार गर्नुपर्ने ठाँउमा सडकमा आएर आफ्नो कुराहरु राख्ने परिस्थिति छ। यसले हामीलाई चिन्तित बनाएको छ। सरकारले निर्णय गरेर पठाएको कुरा पनि कार्यान्वयन नगर्नु भनेको सरकारले केही गर्न सक्दैन भन्नेजस्तो भयो। माग सम्बोधन नभएसम्म हामीले सडकमै हुनेछौं।’
बिएल संवाददाता - काठमाडौं