
नेकपा एमालेका नेता तथा पूर्वसांसद कृष्णभक्त पोखरेलले कांग्रेस-एमालेको सत्ता गठबन्धन ०८४ सम्मै कायम रहने दाबी गरेका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘यो गठबन्धनको अहिले विकल्प छैन। ०८४ सम्म नै यो गठबन्धन ढुक्कसँग जान्छ। तलमाथि हुने कुनै सम्भावना छैन।’
उनले कांग्रेस नेता डा. शेखर कोइरालाले दलको नेता बन्ने हैसियत नै नराख्ने टिप्पणी गरे। उनले भने, ‘उहाँ शेखर कोइरालाले आफ्नो दलभित्र त्यो हैसियत राख्नुहुन्न। अर्को वैकिल्पक सरकार बन्ने कुरा सपनामा पनि नसोचे हुन्छ। त्यस्तो सम्भावना देख्दिनँ।’
उनले वैकल्पिक सरकार बन्ने सवालमा आफ्नो पार्टीभित्रबाट कुनै विद्रोह नहुनेसमेत ठोकुवा गरे। उनले भने, ‘हाम्रो पार्टीभित्र विद्रोह हुँदैन। विद्या भण्डारीले विद्रोह गर्न सक्नुहुन्न। उहाँको चरित्र त्यस्तो छैन। अहिले केपी ओलीको नेतृत्व हुँदाहुँदै विद्रोह गर्ने अवस्था छैन।’
नेता पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको कुरा साँचो भएको स्पष्ट पारे।
उनले भने, ‘उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको छ, यो कुरा संगठन विभाग प्रमुखले भन्नुभएको छ। उहाँले पनि भन्नभुएको छ।’
उनले अहिले देखिएको ओली र भण्डारीबीचको विवादको सेटलमेन्ट चमत्कारिक रुपमा हल हुने ठोकुवा गरे।
पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किने विषयले अहिले सिंगो मुलुक नै तरंगित भएको उल्लेख गरे। तर, एमाले केन्द्रीय कमिटी बैठकपछि यस विषयमा एउटा निष्कर्षमा पुग्ने उनले जानकारी दिए।
भारत र चीनले ठूलो आर्थिक फड्को मारेको दृष्टान्त पेश गर्दै उनले नेपालले समृद्धिको यात्रामा फड्को मार्न नसकेकोमा भने चिन्ता व्यक्त गरे।
उनले आफूहरुले संविधान बनाउँदा नै धेरै मेहनत गरेको र दुनियाँको कुनैपनि संविधानभन्दा कम नरहेको जिकिर गरे।
उनले मन्त्रीहरू घुस र भ्रष्टाचारमा मुछिएको विषयमा राजीनामा दिएर मात्रै नहुने भन्दै अभियोजन गरेर दण्डित गरिनुपर्ने आवाज उठाए।
१ .
२ .
३ .
४ .
५ .