
नेकपा एमालेबाट सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा पोलिटब्यूरो बैठकमा गरमागरम बहस भएको छ।
बैठकमा अधिकांश सदस्यले अझै एक कार्यकाल पार्टी अध्यक्षमा केपी ओलीको विकल्प तयार नभएको धारणा राखेका थिए। विद्या पक्षका नेताहरूसमेत खुलेर बोल्न सकेनन्।
शुक्रवार र शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्यूरो बैठकमा भण्डारीका विषयमा गम्भीर छलफल भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
संविधानको संरक्षक, पालक र सेनाको परमाधिपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउनु गम्भीर विषय भएकोले उपयुक्त हो कि होइन भन्ने विषयमा बैठकमा नेताहरूले धारणा राखेको उनले बताए। तर, विद्याका विषयमा कुनै निर्णय नभएको उनले बताए।
‘गरिमामय पदमा पुगेको व्यक्ति एउटा पार्टी विशेषको नेता भएर आउँदा के हुन्छ भन्ने विषयमा गम्भीर छलफल भयो । पार्टीमा आउने कुराले के प्रभाव पर्छ भनेर धेरै कुरा उठे । कमिटीको गम्भीर ध्यानाकर्षण भयो । अध्यक्षले पनि अर्को बैठकमा यो विषयमा छलफल गरौं भन्नुभएको छ,’ गौतमले भने।
उनले पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरण पनि पेन्डिङ अवस्थामा रहेको जानकारी गराए।
‘सदस्यताका सम्बन्धमा पार्टी विधानको धारा ८, धारा ९ आकर्षित भएको छ। यो धाराको व्याख्यापछि पार्टीले उचित समयमा आवश्यक निर्णय लिन्छ। तर, अहिले स्थगन छ भन्ने हो,’ गौतमले भने।
१ .
२ .
३ .
४ .
५ .