बिएल संवाददाता
म्यान्मार
सेनाभित्र गर्वलाग्दो इतिहास बनाएका गोर्खा अर्थात् नेपाली म्यान्मारमै आधा शताब्दी बिताइसक्दा पनि पूर्ण नागरिकको सेवा–सुविधाबाट बञ्चित छन्। अघिल्लो प्रजातान्त्रिक सरकार र वर्तमान ‘सैन्य–जुन्ता’ले उनीहरूको योगदान बिर्सेको बर्मेली–नेपाली बताउँछन्।
म्यान्मारमा अनुमानित तीन लाख नेपाली भाषी बसोबास गर्दै आएका छन्। यीमध्ये अधिकांशका आफन्तहरू १९औं शताब्दीमा यहाँका विभिन्न भेगमा बसाइँ सरेका थिए। ब्रिटिस शासनकालमा दोस्रो विश्वयुद्धको दौरान गोर्खा ब्रिगेडले पटकपटक बहादुरीका प्रदर्शन गर्दा दर्जनौं पदक जितेको इतिहास जीवितै छ।
गोर्खा जवानहरूले सन् १९४८ मा ब्रिटिसबाट स्वतन्त्रता प्राप्त गर्न बर्मी स्वतन्त्रता सेनानीहरूसँग साझेदारको रूपमा लडे। म्यान्मारको स्वतन्त्रताको सुरुवातदेखि नै कार्यान्वयनमा रहेको सन् १९४७ को संविधानमा नेपाली भाषीलाई बर्मी नागरिकको रूपमा पूर्ण अधिकार दिइएको थियो। तर, सैन्य तानाशाही सत्तामा आएपछि नेपाली भाषीलाई देशको आधिकारिक जातीय समूहको रूपमा वर्गीकृत गरिएन। लगत्तै, उनीहरूले प्रतिबन्धहरूको सामना गरे। म्यान्मार सैन्य शासकका कारण भेदभावको जरा निक्कै गहिरो भएको गोर्खाली नेताहरू बताउँछन्।
नेपाली भाषीहरू काचिन, छिन, शान, रंगुन र मण्डले डिभिजनसहित बर्माभर छरिएर बस्छन्। अधिकांश हिन्दू वा बौद्ध धर्म मान्छन्। ‘हामी नेपालमा जन्मेका होइनौं। हामीहरू नेपाली भाषा अलिअली जान्दछाैँ। सरकारले भाषाको मान्यता दिएको छैन। हाम्रो मनमा नेपाली पन भए पनि म्यान्मारमा जन्मेका हौं,’ कचिन प्रान्तका ३३ वर्षीय युवक भन्छन्, ‘हामी नेपाली होइनौं। तर, हाम्रो पुर्खा पक्कै पनि नेपाली हुन्।’
म्यान्मारको युवा शक्ति सैनिक शासन फाल्न सशस्त्र संघर्षमा लागिरहेको छ। शान्तिपूर्ण आन्दोलनमाथि सरकारको क्रूर दमनपछि युवापुस्ता युद्ध मैदानमा उत्रिएको डेढ वर्ष पुग्यो। सैन्य सरकारको विकल्प मानिने राष्ट्रिय एकता सरकारले पिपुल्स् डिफेन्स फोर्सको गठनलगत्तै ठाउँ–ठाउँमा सैन्य प्रशिक्षण छ।
तानाशाही सैनिक सत्ताविरुद्ध लड्न युवाको ठूलै जमात उत्साहपूर्वक आ–आफ्नो स्थानमा खडा भएको छ। स्वतन्त्रता खोसिएका बर्मेलीहरू ज्यानै जोखिममा राखेर युद्धभूमिमा खटिएका छन्। ज्यान गुमाइरहेका छन्।
सन् १९६२ ताका तत्कालीन सैन्य ‘कू’का नाइके ने विनका पालादेखि नै म्यान्मारमा यो प्रथा जारी छ। त्योबेला गाउँ–घरमा बस्न सक्ने अवस्था नै थिएन। कारोबार बन्द हुँदा कैयौं मानिस अप्ठ्यारोमा परे। घरभरि धानको भकारी हुँदाहुँदै जाँतो–ढिकी चलाउन नदिँदा कतिपय भोकभोकै मरे। कतिले छोराछोरी बेचेर ज्यान पाले भने कतिले रगत बेचेर धाने।
म्यान्मारमा सरकारी सेनाको बर्बर आतंक हिजो पनि उस्तै थियो। र, आज पनि उस्तै छ।
बन्दुक बोकी घर–घरमा छिरेर सेनाका जवानहरूले निर्दोष जनतालाई आतंकित पार्ने क्रम उस्तै छ। विद्यालयमा सैन्य ‘जुन्ता’ले अन्धाधुन्ध गोली वर्षाउँदा कैयौँ नानीबाबुहरूले ज्यान गुमाएका छन्। शान्तिपूर्वक विद्यालय पुगेका विद्यार्थीहरू ‘लास’ बनिरहेका छन्।
आतंकको अन्धकार पन्छाएर पूर्ण प्रजातन्त्र ल्याउन जनता पटकपटक प्रयासरत छन्। सन् १९७६ ताका विश्वविद्यालयका विद्यार्थीमा क्रान्तिका भावहरू सल्बलाएको सेनाले पत्तो पाएपछि विश्वविद्यालय परिसरमै सेनाको गोलीद्वारा ढलेका थिए। दिनदिनै मानिस मारिए पनि क्रान्ति भुसको आगो झैं फैलिरहेको थियो। त्यो आन्दोलन आज पनि विद्यार्थीको अग्रसरतामा देशव्यापी रूपमा चलिरहेको छ।
विद्यार्थीको त्यही चर्को आन्दोलनले स्थापित गरेकी नेत्री हुन् आङ सान सुकी। उनले आफ्ना बुबाले देखेको सपना पूरा गर्ने बाचा गर्दै ज्यानै जोखिममा राखेर प्रदर्शनमा उत्रिइन्। नेत्री सुकीसँगै नेपाली नाच–गान लिएर गाउँ–गाउँ पुगी नेपालीको मन जित्दै, आन्दोलनमा सहभागी बनाउँदै हिँड्ने गोर्खाली नेता हुन् रक्की थापा। उनी आज यो संसारमा छैनन्।
सैन्य शासकको त्रासले लामो ऊर्जाशील जीवन नेपालमा बिताएका थापा यसै वर्ष बिते। सुकीकाे भाषण सुनेर रक्की थापा उनलाई भेट्न रंगुनसम्मै पुगेका थिए। सुकी–थापा भेटपछि चुनावमा नेपालीभाषीलाई भोट माग्ने जिम्मा उनै रक्की थापाले पाएका थिए। सन् १९९० मा नेत्री सुकीलाई गृहबन्दीमा राखियो। उनले बेलायतको सुन्दर परिवार त्यागिन तर म्यान्मार त्यागिनन्। उनी आज पनि सैन्य नजरबन्दमै छिन्।
गाउँ–गाउँमा सेनाको त्रास छ। स्कुल, कलेजमा बम बर्सिरहेका छन्। बजार नखुलेको महिनौं भइसक्यो। सरकारी कर्मचारीहरू पनि आन्दोलनमै छन्। हुँदाहुँदा कतिपय सैनिक–पत्नीहरू पनि आन्दोलनमा छन्। विदेश गएका युवाहरू उतै रोकिएका छन्। कलकारखानाहरू ठप्प छन्। बालबालिका बोल्न, खेल्न, हिँड्नै डराउँछन्। भोकमारी निम्तिने खतरा छ। सेनाको कम्पनीबाट उत्पादन भएका सामानहरू नागरिकहरूले बहिस्कार गरेका छन्। सेनाले देशका विभिन्न गाउँहरूमा आँगो लगाएको छ। म्यान्मारको दैनिकजसो सरकारी सेना र नागरिक समूहबीच लडाइँ जारी छ।