
बिएल संवाददाता
काठमाडौं
इजरायलको एउटा नयाँ युद्धविराम प्रस्तावलाई हमास विद्रोहीले अस्वीकार गरेको छ। हमासका मुख्य वार्ताकार खलिल अल हय्याले एउटा भिडिओ सन्देश जारी गर्दै इजरायलले आफ्नो स्वार्थ पूरा गरेको यो प्रस्ताव हमासलाई अमान्य भएको बताएका हुन्।
इजरायलले ४५ दिनको युद्धविराम प्रस्ताव गरेको थियो। त्यसअघि पनि त्यहाँ युद्ध विराम भएको थियो। तर त्यो अप्रिल देखि सकियो। त्यसपछि इजरायलले लगातार गाजा क्षेत्रमा आक्रमण गरिरहेको छ।
दोस्रोपटक युद्ध बिराम प्रस्तावभन्दा केही समयअघि मात्रै पनि इजरायलले गाजामा भीषण आक्रमण गरेको थियो। त्यसमा लगभग ३७ जना मानिस मारिएका छन्।
करिब दुई वर्षदेखि जारी इजरायल-हमास आक्रमणमा कम्तीमा ५० हजारभन्दा धेरै मानिस मारिइसकेका छन्। यसअघि भएको युद्ध बिराममा केही कैदीबन्दीहरू रिहा भएका थिए।
इजरायलले यसपालि बाँकी रहेका सबै युद्धबन्दीहरूलाई हमासले रिहा गरेपछि यो युद्ध सधैंका लागि समाप्त गर्न सकिने बताएको थियो। तर युद्ध सकिए पनि इजरायाली सैनिकले भने गाजा क्षेत्र नछोड्ने इजरायलको प्रस्ताव छ।
यो प्रस्तावलाई अस्विकार गर्दै हमासले भनेको छ ‘त्यो भनेको इजरायली शासक बिन्यामिन नेतान्याहूको आफ्नो राजनीतिक अजेण्डा पूरा गर्ने योजना मात्रै हो।’
इजरायल-हमास युद्ध सुरु हुने बेलामा इजरायलमा रहेका १० जना नेपाली पनि मारिएका थिए। हमासले नियन्त्रणमा लिएका भनिएका नेपाली विद्यार्थी बिपीन जोशीको बारेमा अहिलेसम्म यकीन अवस्था भनिएको छैन।