शनिबार, १६ नोभेम्बर २०२४

बोत्तल, कागज, फलाम: काठमाडौँका ‘एलिट’हरूलाई ‘कर्कस’ लागिरहेको एउटा आवाज

News Image
• • •

सम्साँझै सुतेर पनि बिहान अबेर ब्यूँझिने काठमाडौँलाई यी कवाडीहरूले डिस्टर्व त गरेकै होलान् नि! मोटरगाडीका तीखा आवाज र कानै खाने धोद्रा स्वरहरूलाई त काठमाडौँले मज्जैले पचाइसकेको छ। यिनीहरूको ‘कवाडी’ आजावले ‘ध्वनी प्रदुषण’ गर्ने नै भो। 


मनसुनले  खुल्न नसकेको काठमाडौँ ‘उम्सो’ले रन्थनिइरहेको छ। दिनको १२ बजे सडकमा हिँड्दा पसिनाले ज्यान निथ्रुक्कै हुन्छ। तर  पनि सदाजस्तै काठमाडौँ आफ्नै हतारोमा कुदिरहेको हुन्छ।

असारे गर्मीले चिरिक्कै पोल्छ। असिनपसिन चन्द्रिका यादव भर्खर ‘कवाडखाना’ आइपुगेका छन्। धोबीखोला करिडोरको सेतुपुल नजिकैको कवाडखानामा असरल्ल कवाडबीच उनले साइकलबाट बोरा झिकेर आफूले बुटेलेर ल्याएका कवाडहरू जोख्दै छन्। 

जोखेपछि थाहा हुनेछ बिहानभर कति कमाइ भएछ! 

‘यसको पैसा कति होला र डेढ–दुई सय त होला’ पैसा जति होस् मन बुझाउनु उनको दैनिकी हो। एक दिनमा उनको यो पहिलो खेप हो। अब खाना खाईवरी फेरि उनी गल्ली–गल्ली हिँड्नेछन्। कवाड बटुल्न। 

थोत्रिएको साइकल लिएर उनी बिहानै ५ बजे घरबाट निस्किएका थिए। काठमाडौँका गल्ली–गल्ली ‘कागज, बोत्तल, फलाम’ भन्दै कुद्न थालेको २५ वर्ष पुगिसकेको छ। 

जीवनका २५ वर्ष कवाड खोजी बिताएका चन्द्रिकालाई अब भने महानगरको डर छ। ‘काठमाडौँ सफा गर्ने’ बालेन सपनाका सिकार त यसअघि सडकबाटै गुजारा गरिरहेकाहरू भइसकेका छन्। त्यो बेलै चन्द्रिकाहरूलाई डर लागिसकेको थियो- अब पालो हाम्रो आउनेछ। 

बालेनले अब सहरका कवाडखानामाथि डोजर चलाउन थालेका छन्। 

यसअघि एक पटक कवाड खानामा बालेनको डोजरले आतङ्क मच्चाइसकेको छ। भएको पर्खाल भत्किएको छ। अब यो कवाडखानाको छाना छैन। आकाश देखिने भएको छ। फेरि पनि कतिबेला बालेनको डोजर आउन हो र भत्काउने हो चन्द्रिकालाई त्रास छ। 

अहिले पनि बालेनले मान्छे खटाएर भनिरहेका छन्– तिमिहरू यहाँ छोडिहाल। 

बालेनले काठमाडौँबाट लखेट्ने योजना बनाएपछि उनको त्रासको ग्राफ मात्रै बढेको छैन बरु भविष्यको चिन्ताले पनि सताएको छ। निद्रिकाको चैन हराएको छ। उनको मात्र कहाँ हो र साथमा रौतहटमा रहेका घरपरिवारको पनि निद्रामा चैन छैन। बेलाबेलामा घरबाट फोन गरेर यहाँको खबर बुझिरहेका हुन्छन्। 

घरबाट फोन गरेर छोरीहरूले भन्छन्– ‘बुबा तपाईंलाई त्यहाँबाट लखेटेपछि हामीले कसरी पढ्ने?’ चन्द्रिकाका ३ जना छोरी र २ जना छोरा छन्। उनीहरूलाई पढाउने काम चन्द्रिकाकै हो।

उनले करिब २५ वर्षदेखि गरेको काम नै कवाड सङ्कलन हो। त्यसैले छोराछोरी पढाउनेदेखि घरखर्च चलाउनेसम्म हो। ‘म सानै १४–१५ वर्षदेखि यही काम गरेको छु। मैले जानेकै यही हो। यहीबाटै घरपरिवार चलाउने हो’, उनले बिएल नेपाली सेवासँग भने, ‘अब यहाँबाट लखेटेपछि कहाँ जाने हामी? के गर्ने? घरमा जमिन छैन। अब मर्ने हुन्छ।’

काठमाडौँ महानगरले आफ्नो पालिकाभित्र कवाड खाना (सङ्कलन केन्द्र) नराख्न उर्दी गरेपछि चन्द्रिका जस्तै काठमाडौँभित्र रहेका झण्डै २५ हजार कवाड सङ्कलकको अवस्था चन्द्रिकाकै जस्तै भएको छ। काठमाडौँका वडाहरूले सहरभित्र कवाड खाना राख्दा फोहोर भएको, चोरीको गुनासो आएको भन्दै चक्रपथ बाहिर जाने उर्दी गरेका थिए। 

त्यसपछि महानगरभित्रका ४०–५० वटा जति कवाड खानामा महानगरले डोजर हानिसकेको छ। छिटो महानरबाहिर कवाड खाना नसारेमा डोजर चलाउने र धपाउने महानगरले भनिरहेको छ। जसको त्रासमा माहानरभित्र रहेका करिब २५ हजार कवाड सङ्कलक रहेको कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताले बताए। 

महानगरले लखेट्न थालेपछि कवाड व्यवसायीले असार २ गतेदेखि ५ गतेसम्म प्रदर्शन गरे। जिल्ला प्रशासन कार्यालय काठमाडौँले हाललाई प्रदर्शन रोकेर छलफलमा आउन भनेपछि अहिले प्रदर्शन रोकिएको अध्यक्ष गुप्ता बताउँछन्। 

तर आफ्नो माग सम्बोधन नभएमा फेरि आन्दोलनमा जानुको विकल्प नभएको उनले बताए। 

गरिखानेहरूलाई खेदिरहेछ महानगर

काठमाडौँ महानगरले व्यवासयी खेद्ने मनसाय देखाएको छ। कवाड खाना व्यवसाय हो। उनीहरूले वडा कार्यालयमा दर्ता गरेर कवाड सङ्कलन गरिरहेका छन्। काठमाडौँका वडा कार्यालयमा दर्ता भएका कवाड खनाहरू पनि महानगरको आर्थिक ऐन २०७४ अनुसार दर्ता भएर सञ्चालित छन्। 

ऐन नियमअनुसार सञ्चालित भएका कवाड खानालाई महानगरले कुनै पनि कारणविनै खेद्ने योजना बनाएको छ। महानगरको तर्क भने ध्वनी प्रदूषण भएको, आगलागी भएको, चोरीको गुनासो आएको जस्तो तर्क गरेर यहाँबाट लेखेट्ने योजना बनाएको छ। 

स्वभिवक हो, सम्झाँझै सुतेर पनि बिहान अबेर ब्यूँझिने काठमाडौँलाई यी कवाडीहरूले डिस्टर्व त गरेकै होलान् नि!

मोटरगाडीका तीखा  आवाज र कानै खाने धोद्रा स्वरहरूलाई त काठमाडौँले मज्जैले पचाइसकेको छ। यिनीहरूको ‘कवाडी’ आजावले ‘ध्वनी प्रदुषण’ गर्ने नै भो। 

अनि काठमाडौँमा आगलागी हुन्छ, कवाडखाना मात्रै भएको छ? के ‘कवाडी’हरू नै चोर हुन्? के काठमाडौँको स्वरसरावा अनि यो कोलाहल ‘कवाडी’को आवाज हो?

महानगर नाजवाफ छ।  

महानगरका प्रवक्ता नवीन मानन्धर यति मात्र भन्छन्– ‘अहिले अरु केही भनिएको छैन। मात्र यहाँबाट बाहिर जाउ भनिएको छ।’ उनी अन्य के कारणले गर्दा कवाड सङ्कलकलाई खेद्न थालियो भन्नेमा जवाफ दिएनन्। 

कवाड सङ्कलकहरू भने महानगरको यो कदमलाई गरिबमारा कदमका रुपमा लिन्छन्। विगत ३० वर्षदेखि कवाड सङ्कलन र अहिले कवाड खानाको व्यवसाय गरिरहेका लालबहादुर राय महानगरले गरिबलाई सहरबाट खेद्ने योजना बनाएको बताउँछन्। 

काठमाडौँको वडा नम्बर १ कमल पोखरीमा कवाड खाना सञ्चालन गरिरहेका उनी महानगरले भनेजस्तै चक्रपथ बाहिर कवाड खाना खोल्नका लागि सहज नभएको बताउँछन्। 

‘हामीले वर्षौँदेखि यहाँ नै व्यवसाय दर्ता गरेर काम गरिरहेका छौँ। अब बाहिर हामीलाई व्यवसाय गर्न दिन्नन्’, उनले भने, ‘त्यहाँबाट पनि हामीलाई लखेट्छन्। अनि हामीले के गर्ने?’

काठमाडौँमा कति कवाड सङ्कलन र यसको ब्यापार गर्नेहरू कति छन्? सरकारसँग यकीन तथ्याङ्क त छैन। तर व्यवसायीहरूको अनुमानमा काठमाडौँ उपत्यकाभरि लगभग १ लाखभन्दा धेरै यो पेशामा छन्। 

‘कवाड’ किनबेच गर्नेदेखि गल्लगल्ली डुलेर समान खोजील्याउनेहरूसम्म यसमा जोडिएका छन्। यी सबैले हरेक दिन लगभग ५०० टनजति ठोस फोहोर सङ्कलन गर्छन्। घरबाट कवाडखानासम्म आइपुग्दा हरेक सामानको मूल्य निकै कम देखिन्छ तर ‘रिसाइकल प्रोसेस’सम्म पुग्दा त्यसको मूल्य बढ्दै जान्छ। यीमध्ये आधाभन्दा धेरै भारततिरै निर्यात हुन्छ भने केही कवाडहरू देशभित्रै पुन: प्रशोधन र पुन: प्रयोग हुन्छ।

उपत्यकामा झन्डै एक हजार वटा कवाड खानाहरू छन्। जसमा काठमाडौँ महानगरभित्र मात्र करबि ४ सयको संख्यामा हुन सक्ने कवाड व्यवसाय संघ नेपालका अध्यक्ष रामकेवल गुप्ता बताउँछन्। 

गुप्ताकाअनुसार कवाड व्यवसायमा कर लगाएर राज्यले पनि करौडौँ रुपैयाँ आम्दानी गरिरहेको छ। उनले एक जना व्यवसायीले वार्षिक २० देखि २५ लाख रुपैयाँ कर तिर्ने गरेको बताए।  

‘हामीलाई यहाँबाट खेदे मधेस गएर आन्दोलन गर्छौँ’ 

रामनाथ यादव रौतहटको बौधीमाई नगरपालिका–१ का हुन्। उनी अहिले २४ वर्ष भए। उनका बुवाले ४५–४६ सालतिर काठमाडौँ आएर कवाड सङ्कलनको काम गरेका थिए। 

त्यसपछि कवाड खाना खोल्ने। बुबाले नसक्ने भएपछि रामनाथले अहिले सेतो पुलमा कवाड खाना सञ्चालन गरेका छन्। एक पटक यहाँ बालेन डोजर चलिसकेको छ। 

अहिले पनि महानगरका व्यक्तिहरू आएर हट्न भिनरहेको छ। तर किन हट भनेको आजसम्म उनले जवाफ पाएका छैनन्। उनलाई लागेको छ– ‘यो सहर बालेनको हो। त्यसले केही कारणविनै यहाँबाट मधेसका कवाड सङ्कलकलाई खेदिँदैछ।’

र उनलाई रिस उठेको छ, यहाँबाट खेदिएमा मधेसमा गएर आन्दोलन गर्नुपर्छ। काठमाडौँमा आउने सबै सामान रोक्न नाका बन्द गर्नुपर्छ। किन नाका बन्द गर्ने अरु काम गरे भइहाल्यो नि भन्ने प्रश्नमा उनी भन्छन्– ‘गर्ने केही छैन।’

घरमै जग्गा जमिन भएको भए वर्षौँदेखि यहाँ आएर कवडा सङ्कलन गर्नुनपर्ने उनले बताए। त्यसैले मर्नुभन्दा आन्दोलन गर्ने योजनामा रहेको उनले बिएल नेपाली सेवासँग सुनाए। 

उनीजस्तै कवाड सङ्कलन गरिरहेका चन्द्रिका पनि यहाँबाट खेदिएमा मधेसमा गएर आन्दोलन गर्ने बताउँछन्। ‘मेरो जिन्दगी नै कवाड सङ्कलनमा गयो। अब मलाई यहाँबाट देखिएपछि मैले गर्ने त अर्को केही छैन’, उनले भने, ‘यहाँ हामी थोरै छौँ होला मधेसमा गएपछि छोराछोरी सबै थपिन्छन्। आन्दोलन गर्छौँ। सके नाका बन्द गर्छौँ। मर्नुभन्दा त बहुलाउनै जाती भयो नि!’  

केही दिनअघि काठमाडौँमा रहेका हजारौँ कवाड सङ्कलकहरूले सडक आन्दोलन पनि गरेका थिए। त्यसक्रममा केही सवारीमाथि तोडफोड भएपछि प्रहरीले बल प्रयोग पनि गरेको थियो। 

संसदमा विरोध

महानगरले कवाड व्यवसायलाई खेद्न थालेपछि संघीय संसदमा विरोध भइरेको छ। सांसदहरूले कवाड व्यवसाय गर्न पाउने अधिकार आम नागरिकको रहेको बताएका छन्। 

साथमा कवाड व्यवसायीले गरेको आन्दोलनमा भएको प्रहरी दमनको पनि संसदमा विरोध भइरहेको छ। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कवाड व्यवसायीहरुमाथि प्रहरीले दमन सैह्य नहुने बताए। 

त्यस्तै सांसद डा. अमरेशकुमार सिंहले अदालतबाट आदेश जारी भए पनि कवाड व्यवसायलाई हटाउने कामको विरोध गरे। 

उनले कवाड व्यवसाय नहाटाउन अदालतले अन्तरिम आदेश दिइरहेको भए पनि महानगरले बदालतको निर्णय नमानेकोप्रति आक्रोश पोखे।

यो पनि–
 
• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?