काठमाडौँमा सडक छ तर ‘हामी हिँड्ने’ बाटाे खै?

Break n Links
Break n Links

पेप्सीकोलाबाट बबरमहल धाउनु दीपक प्रधानको दैनिकी हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी उनी सेतो छडीले बाटाे खुट्याउँदै हिँड्छन्। 

तर त्यति सजिलो छैन उनका लागि कार्यालय पुग्न। कहिलेकाहींँ चोट बोकेरै उनी कर्मथलो पुग्छन्, जसको कारण उनी फुटपाथ देखाउँछन्। 

उनीजस्ता दृष्टिविहीन र अपाङ्गता भएकाहरूलाई काठमाडौँ उपत्यकामा व्यवस्थित फुटपाथ नभएको दीपकको गुनासो छ। उनका अनुसार ‘फरक क्षमता’ भएका मानिसहरूको लागि सहज फुटपाथ निर्माण गरिदिनुपर्छ। 

साँघुरो फुटपाथबाट पैदलयात्रा गर्दा ठोक्किएर शरीरमा चोट लागेको अनुभव उनीसँग छ। 

‘विभिन्न ठाउँमा यात्रा गरिरहँदा बाटोको समस्या झेल्नुपरेको छ। साँघुरो फुटपाथमा हिड्दा कयौँ पटक शरीरमा चोट पनि लागेको छ। तर हाम्रो दुःख कसले बुझिदिने?’, उनी प्रश्न गर्छन्, ‘काठमाडौँका मेयर बालेनसाब आफैंपनि इन्जिनियर हुनुहुन्छ तर जनताको समस्या बुझेको खोई?’

मेयर बालेनले ‘डोजन’ चलाएर घरहरू भत्काउने काम मात्र नभइ अपाङ्गताहरूका लागि फुटपाथ पनि बनाउनु पर्ने उनी माग गर्छन्। 

काठमाडौँ महानगरले न्यूरोडमा विस्तार गर्न लागेको फुटपाथबारे दीपक पनि जानकार छैन तर खुसी छैनन्। ‘बालेनसाबले हाम्रो फुटपाथ बनाएको खोई त?’, बिएल नेपाली सेवासँग उनी दुखेसो पोख्छन्। 

दीपक प्रधान

काठमाडौँ उपत्यकामा कहीं साँघुरो त कतै फराकिला फुटपाथहरू छन्। तर फराकिला देखिएका फुटपाथहरू पनि व्यवस्थित नभएको उनले बताए। 

हेर्दा चौडा रहेको फुटपाथमा पनि अपाङ्गता भएका मानिसहरूलाई हिँड्न असहज भएको दीपकको अनुभव छ। 

फुटपाथमा भएका अस्तव्यस्त पार्किङ, जथाभावी ठड्डिएको बिजुलीका खम्बा र ट्रान्सफर्मरहरूको कारण हिँड्दा ठेस लाग्ने गरेको उनले बताए। 

‘एकदिन राम्रोसँग हिँडेको सडक अर्को दिन भत्किएको हुन्छ। निर्माणको काम अस्तव्यस्त हुँदा लडिन्छ, घाउचोट लाग्छ’, उनी भन्छन्, ‘अपाङ्गमैत्री फुटपाथ नहुँदा पनि दु:ख झेल्नुपर्दो रहेछ।’

दृष्टिविहीनको लागि फुटपाथमा ‘टेक टायल’को व्यवस्था गरिदिएको छ। तर त्योपनि व्यवस्थित नभएको उनको गुनासो छ।

‘हामीलाई हिँड्न सजिलो होस् भनेर यल्लो पाथ (पहेंलो बाटो) बनाइएको छ तर व्यवस्थित छैन’, आफूले हिँडिरहेको बाटो देखाउँदै उनले भने, ‘हामीले चढ्ने गरेको पुलमा पनि यल्लो पाथ बनाउनुपर्छ। त्यो नहुँदा हामीले समस्या झेल्नुपरिरहेको छ।’

दिनमा दुई–चार पटकसम्म पैदलयात्रा गर्ने दीपकले फुटपाथको कारण धेरै सास्ती भोगिरहेका छन् तर उनलाई सबैभन्दा धेरै तनाव नागरिक उड्डयन प्राधिकरणको फुटपाथले दिइरहेको छ। 

‘हाम्रो समस्या धेरै छन् तर अहिलेको लागि ठुलो समस्या भनेको मेरो कार्यालय बाहिरको फुटपाथ हो’, आफ्नो दु:ख सुनाउँदै उनले भने, ‘फुटपाथ र सडकको ग्याप धेरै छ। होसियार नअपनाउँदा खुट्टा भाँचिने सम्भावना धेरै छ। त्यसैले यो समस्या चाँड्डै हटोस् भन्ने चाहन्छु।’ 

भिडियो–

000

एक दशकदेखि पत्रकारितामा सक्रिय रहेका जीवन बानियाँको अनुभव पनि उस्तै छ। उनलाई पनि सडकपेटीमा सेतो लठ्ठी टेकेर हिड्न समस्या भएको छ। 

दैनिक ‘रिर्पोटिङ’मा निस्कदाँ खाल्डो सडकको कारण आफूले यातना झेल्नुपरेको उनको भोगाइ छ। दृष्टिविहीनहरूलाई लक्षित गरेर बनाइएका टेक टायल पनि सुव्यवस्थित नभएको पत्रकार बानियाँको गुनासो छ। 

‘हाम्रो लागि बनाइएको टेक टायल छ तर त्यसमा पनि रुखहरू छ या त बिजुलीको पोलहरू छ। हामी त्यसैलाई पछ्याउँदै हिँड्ने हो भने रुख कि त पोलमा ठोकिन्छौँ’, उनले दुखेसो पोखे। 

त्यसैगरी जथाभावी राखिएको बोर्डको कारण पनि आफूजस्ता धेरै दृष्टिविहीनहरू घाइते भएको उनले बताए। 

केही दिनअघि भृकुटीमण्डप जाँदा आफूले भोगेको घटना सुनाउँदै बानियाँ भने, ‘म हिँड्दै थिएँ। त्यो के थियो मलाई थाहा छैन। तर मेरो खुट्टामा अल्झियो। तर धन्न मेरो पछाडि मान्छे आइरहनुभएको रहेछ। उहाँले नै मलाई बचाउनुभयो। होइन भने त्यो मेरो टाउको फुट्ने पक्का थियो।’

सडकका पेटीमा बनेका खाल्डोहरूको कारण दृष्टिविहीन, अपाङ्गतालाई मात्र नभई बालबालिका र वृद्धवृद्धाले दु:ख भोगिरहेको उनको बुझाइ छ। ‘फुटपाथ भनेको सर्वसाधारणको सहजका लागि बनाइएको हो तर हामीले त्यो सुविधा पाएका छैनौँ’, उनी भन्छन्, ‘यो देशमा सपाङ्गहरू मात्र होइन हामीजस्ता मानिसहरू पनि बस्छौँ।’

‘गतिलो’ फुथपाथ नहुँदा आफूले धेरै पटक चोट सहनुपरेको उनले बताए। ‘हामीलाई चाहिएको कम्फरटेबल साइडवार्क हो’, उनी सरकारलाई भन्न चाहन्छन्, ‘फुटपाथमा सपाङ्ग मात्र हिँड्दैनन् हामीले हिँड्ने बाटो पनि त्यही हो।’

अलि फरक क्षमता भएका यी सडकका प्रतिनिधि पात्रमात्रै हुन्। काठमाडौँका फुटपाथमा हिँड्ने वा हिँड्नखोज्ने जाेकाेहीले पनि अहिले एउटै पीडा भाेग्नुपर्छ, सडक र सवारीले च्यापिने फुटपाथकाे यात्रा। 

हिँड्नै नमिल्ने अनि साँघुरा फुटपाथमा ठेलमठेल गर्दै हिँड्नु काठमाडौँवासीको नियति हाे। काठमाडौँ सहर आफैमा साँघुराे सहर हाे। चक्रपथ पनि अब त साँघुराे भइसकेकाे छ। 

साँघुराे सहर, साँघुरा सडक। साँघुरा घरहरू। व्यापारिक भवनहरू। खचाखच मोटर गाडी। त्यसैले खुम्चाएको एकबित्ते फुटपाथमा पनि पैदलयात्रुलाई हिँड्न सजिलाे छैन। 

कतै हिँड्दा हिँड्दै सकिने फुटपाथ छन्, कतै सडक छन् फुटपाथै छैन। कतै भएका फुटपाथहरूमा पनि बिजुलीका खम्बाहरू ठाेक्किन पुग्छन्। 

‘सडक त गाडी र माेटरसाइकल चलाउनेहरूकै सम्पत्तिजस्ताे गर्छन्। हामी हिँड्ने बाटै छैन’ हरेक दिन पाँच किलाेमिटर सडकमा हिँडेरै जागिर भ्याइरहेकी सरीता केसी भन्छिन् ‘कतै कतै फुटपाथ छन् त्याे पनि पूरै हिँड्न मिल्दैन। सडकमा लागेका पहेंलाे घेराभित्र हिँड्दा पनि कारवालाहरूले आँखा तरेर हेर्छन्।’ 

फुटपाथमा राखिएको निर्माण सामग्रीले  हिड्नै समस्या

तस्बिर: शनि शाक्य/बिएल नेपाली सेवा

प्रकाशित मिति: : 2024-06-05 20:00:00

प्रतिकृया दिनुहोस्