फुटपाथ कस्तो बनाउने? कति चौडा बनाउने भन्ने जान्नुपूर्व सुरुमा बाटो कसकाे लागि बनेको हो? कसरी बनेको हो भन्ने जान्नुपर्छ।
सुरुमा बाटो गाडीका लागि बनेको थिएन होला। सुरुमा मान्छे थिए। मान्छे हिँड्दा हिँड्दै गोरेटो बाटो बन्यो। विस्तारै विकास सँगसँगै यातायातका साधान आए। अनि बाटोमा गाडीहरू गुड्न थाले।
सडक भनेको पहिलेका गोरेटको विस्तारित रुप हो। अहिलचाहिँ के भयो भने सडक भनेको यातायातका साधान चल्नका लागि मात्र हो भन्ने भयो। सडक भनेको जोसँग सम्पत्ति छ वा जोसँग गाडी छ, उसको मात्र हो भन्ने भयो।
खासमा सडक बनाउँदा पहिले पैदलयात्रीका लागि मात्र छुट्याएर मात्र बनाउनुपर्ने हो। न्यूरोडकै कुरा गर्ने हो भने यो फुटपाथ बढाउनेमा बालेन शाहको नाम आए पनि उनले मात्र बनाउन लागेका होइनन्। यसमा विभिन्न विज्ञको संलग्नतामा अर्थात् उनीहरूको सुझावमा बन्दै छ। जसमा म पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न छु। यहाँ मापदण्डअनुसार सडक बनेन। पैदलयात्रीका लागि बाटो भएन।
न्यूरोडमा पहिले बनाइएको फुटपाथ अहिलेको जनसंख्यालाई हेरेर बनाइएको होइन। पहिलेको जनसंख्यालाई आधार मानेर बनाइएको हो। अहिले जनसंख्या बढ्यो, फुटपाथ साँघुरो भयो।
यहाँ बुझ्नुपर्ने कुरा के छ भने सडकमा सबभन्दा पहिले अधिकार पैदलयात्रीको रहन्छ। अहिले जनसङ्ख्या बढ्दै गएसँगै फुटपाथ पनि बढाउनुपर्ने आवश्यकता देखिएको हो।
फुटपाथ बनाउनु आवश्यक भएपनि तर विवाद भयो। यसमा विवाद हुनुहुन्थेन। सडक साँघुरो छैन। अहिले पनि दोहोरो गाडी गुड्न सक्ने कालोपत्रे सडक बाँकी नै छ। भित्री सडकमा यति भए पुग्छ। न्युरोडमा ठुलो सडक किन भन्ने हो। के अब यहाँ ट्रक लैजाने होइन। यहाँ दमकल, पानीका ट्याङ्कर नै लैजाने हो। त्यसका लागि दोहोरो गाडी चल्नसक्ने सडक बाँकी नै छ।
अब त्यसो भए किन विवाद भन्ने प्रश्न छ। बाहिरी देशको कोर सिटीहरू (भित्री सडक)मा गाडीहरू छिर्न नपाउने अवधारणा बनिसकेको अवस्थामा अहिले यहाँ भने जुँगाको लडाइँ बनाए र पैदलयात्रीको अधिकारमाथि कुल्चने प्रयास भइरहेको छ।
जबकी मापदण्डअनुसार एक घण्टामा २५ सयदेखि ३५ सय पैदलयात्री हिँड्डुल गर्न फुटपाथ ३ मिटर चाहिन्छ। काठमाडौँको न्यूरोडमा प्रतिघण्टा यो भन्दा बढी छ। मापदण्डअनुसार सडक बनाउँदा पनि लुछाचुँडी गर्नु हाम्रो सरकारमा बसेकाहरू नीति बनाउने, नीतिको पालना नगर्ने र पैदलयात्रीको आवश्यकता के हो भनेर नबुझेको देखिन्छ।
म त यो फुटपाथ विस्तार गर्नुपर्छ भन्नेमा छु। अहिले पनि सडक धमाधम बनिरहेको छ। मैले भित्री बाटो बनाउने धेरै ठाउँमा हेरेको छु। तर त्यहाँ कहीँ पनि फुटपाथ बनाइएको छैन। मेरै टोलमा बाटो बनाउँदा भित्री बाटोमा ८० प्रतिशत पैदलयात्रीका लागि हुन्छ। उनीहरूका लागि पनि फुटपाथ बनाउनुपर्छ भनेर सल्लाह दिएँ।
तर त्यहाँ बनाइएन। उल्टै तपाईंले भनेको गराउन सकिएन भनेर भनियो। यसले हाम्रा सडक पैदलयात्रुमैत्री छैनन्। जसले सडक दुर्घटना बढ्ने देखिन्छ। भित्री सडकमा अधिकांश पैदलयात्री हुन्छन् र २० प्रतिशत जति सवारी साधनमा हिँड्छन्।
भित्री सडक भनेको बच्चाहरू खेल्ने सडक हो। भित्री सडक वारी आफ्नो, पारी आफन्तको घर हुन्छ। जसले गर्दा मानिसको चलायमान भित्री सडकमा धेरै हुन्छ। तर यही सडकमा फुटपाथ नहुनु भनेको आगामी दिनमा दुर्घटना निम्त्याउनु हो।
आजको जस्तै अझै पनि फुटपाथ बनाउन चुकिरहने हो भने अझै दुर्घटनाको जोखिम निम्त्याउनु हो। फुटपाथ ठुलो बनाउने भनेको पैदलयात्रीलाई सहज आवागमन गराउनु हो। अहिले ३४ प्रतिशत पैदलयात्रुको मृत्यु सडक दुर्घटनाबाट हुने गरेको छ। यो भनेको फुटपाथ नहुनु नै हो।
फुटपाथ हाम्रो देशमा मात्र बनाउन थालिएको होइन। फुटपाथ व्यवस्थित गरेकै कारण सडक दुर्घटना न्यून भएका उदाहरणहरू छन्। बाहिरी देशमा यसको कार्यान्वयन भइसकेको छ। यो प्रयोग गरेर प्रमाणित भइसकेको विषय भएकाले पनि फुटपाथ अति आवश्यक छ।
(सडक सुरक्षा विज्ञ सेढाईसँग गरिएको कुराकानीमा आधारित)