जुद्धशमशेरकाे ‘इख’ थियाे न्युरोड, बालेनले ‘रिस पाेख्दैछन्’

काठमाडौंमा कुनैबेला ‘पाको पुखुद्यां’ भनेर चिनिने ठाउँ अहिलेकाे ‘न्यूराेड’ हाो। जसलाई तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर जबराकाे आदेशमा याे सडक बनाइएको थियाे। 

त्याे सडककाे कथामा जुद्धशमशेरकाे एउटा ‘इख’ जाेडिएकाे छ। 

१९९० सालमा नेपालले एउटा बिनाशकारी भूकम्पकाे सामना गर्नुपर्‍याे। 

नब्बे साल माघ २ गते महाभूकम्प जाँदा जुद्धशमशेर पश्चिम नेपालको कञ्चनपुर वनबासाको जंगलमा शिकार खेल्दै थिए। उनले भूकम्पको कम्पन हल्का महसुस गरे। तर काठमाडौंमा भने भूकम्पकाे ‘तवाही’ सहिनसक्नु भएकाे थियाे। 

श्री ३काे त्याे समूह काठमाडौंलाई तहस नहस पारेकाे त्याे भूकम्पदेखि बेखबर थियाे। त्यो बेला काठमाडौंबाट कञ्चनपुरमा सूचना पुर्‍याउँदा करिब दुई घण्टा जति समय लाग्थ्यो। तर, भूकम्पको कारण सूचना ३ दिन लाग्याे। 

९० सालको भूकम्पले गरेको तहसनहसबारे उनले ५ गते मात्रै थाहा पाए। शिकार छाडेर काडमाडौं आइपुग्दा जंगीलाठ पद्मशमशेरको अध्यक्षतामा  ‘भूकम्पपीडित सेवा दल’ गठन गरी उद्धार कार्य चलिरहेको थियो त्यो देखेर खुसी थिएनन् जुद्धशमशेर।

त्यही इखले उनले नयाँ खाले सडक ‘न्युरोड’ बनाए। टुँडिखेलदेखि भूगोलपार्कसम्मै तानेर बनाइएको त्यो सडक बायाँतर्फ इन्द्रचोकसम्म र दायाँतर्फ पुरानो भन्सारसम्म तन्किएको छ।

त्यतिबेला त्यहाँ कुनै सडक थिएन। खाली रहेको बालीमै तीन दोबाटोको नयाँ सडक निकालिएका जुद्धशमशेरले बीचमा आफ्नै एउटा सालिक बनाए।

त्यतिबेला सडक यति धेरै फराकिलाे थियाे कि मानिसहरू नै सडक देखेर दंग परेका थिए।

तर स्थानीयका अनुसार अहिले त्यही सडक खुम्चाउने लयमा छन्, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह।

मुख्य सडक मासेर पैदलमार्ग विस्तार गर्ने काठमाडौं महानगरको निर्णय छ। त्यही निर्णयको विरुद्धमा सडकमा उत्रिएका छन् स्थानीयसहित जनप्रतिनिधिहरू।

बिना छलफल नै मेयर बालेनले फुटपाथका क्षेत्र बढाउन मुख्य सडक साँघुरो बनाउनु उचित नभएको बताउँछन्, कामनपा–२२ का वडाध्यक्ष चिनीकाजी महर्जन। उनका अनुसार एउटा इतिहास बोकेको सहरलाई सुरक्षित राख्नुपर्छ।

‘हामीले दुई वर्षसम्म मेयर साबको विरोध गरेनौं तर उहाँ गलत हुनुहुन्छ। उहाँले जनताको हित विपरीत काम गरिरहनुभएको छ, त्यसैले हामी जनप्रतिनिधि जनताको साथमा छौं’, उनी भन्छन्, ‘जनताभन्दा ठुलो कोही छैन। हुँदैन पनि।’

कार्यपालिकाका सदस्यहरूको उपस्थितीमा बसेको २५औँ बोर्ड बैठकमा न्युरोडको मुख्य सडक खुम्चाउने कुरामा असहमति भएको थियो।

मेयर बालेनले पनि जनताको विपरीत आफूले काम नगर्ने बताएका थिए तर अहिले तिनै बालेनले २ करोड ५६ लाखमा टेण्डर दिएर रात–रात सडक भत्काउन लगाइरहेका छन्, जनताको इच्छाविपरीत।

‘मेयर साबले न्युरोड क्षेत्रको पैदलमार्ग विस्तार गर्दा के फाइदा हुन्छ?’,मेयरलाई उनी प्रश्न गर्छन्, ‘सडकको चौडाइ घटाउँदा हुने विपत्तीबारे पनि उहाँलाई थाहै होला!’

मेयरले गरेको त्यो निर्णयको कामपा–२२ मात्र होइन २३ र २४ का वडाध्यक्षसहित स्थानीयहरूले पनि विरोध जनाइरहेका छन्।

अहिले महानगरका मेयर र जनप्रतिनिधि दुई पक्षमा बाँडिएजस्तै भएका छन्।

‘एकै संस्थाका व्यक्तिहरू त्यसरी बाँडिनु ठिक पक्कै होइन तर हामी सडकमा उत्रिनु बाध्यता हो’, २०६३ सालको शान्ती सम्झौताबारे उल्लेख गर्दै उनले बिएल नेपाली सेवालाई भने, ‘युद्ध त शान्ति सम्झौताले टुङगिएको छ भने हामीले पनि सम्वाद गरेर समस्यालाई समाधान गर्नुपर्छ।’

जुनसुकै काम संवाद गरेर सफल हुने विश्वास बोकेका उनी भन्छन्, ‘मेयरले साबले राम्रो काम गर्नुभएको थियो भने किन रातको समयमा गर्नुहुन्थ्यो। किन जनताले विरोध जनाउनुपरथ्यो र? आखिर उहाँलाई जिताउने पनि जनताले नै होइन? त्यसैले हामीले उहाँसँग छलफल गर्न चाहन्छौं। हामीले खबर पनि पठाइरहेका छौं।’

तर जनप्रतिनिधिहरूले गरेको अनुरोध वेवास्ता गरेर सडक भत्काइयो भने जे–पनि हुनसक्ने उनको भनाइ छ।

‘हामी ढुंगामुढा उठाउने सोचेका छैनौं। त्यो नआओस् पनि तर यदी त्यस्तै अवस्था सिर्जना भयो भने युरोडबासी चुप बस्ने छैनन्। कथाले मागेपछि जेपनि हुनसक्छ।’

महानगरको योजनाअनुसार फुटपाथ विस्तार हुने हो भन न्युरोड गेटदेखि जुद्ध सालिक र इन्द्रचोकसम्मको सडक ११ मिटरको हुनेछ।

हाल भइरहेको सडकको चार मिटर चौडाइ घट्नेछ। यस्तै, जुद्ध सालिकदेखि धर्मपथतर्फको सडक ११ मिटरको हुनेछ।

यहाँ ६ मिटर सडकको चौडाइ घट्नेछ भने आरबी कम्प्लेसतर्फको सडक ११ मिटरको हुनेछ भने यहाँ पनि चार मिटर सडकको चौडाइ घट्नेछ।

त्यसपछि ६० प्रतिशत फुटपाथ र ४० प्रतिशत सडक हुनेछ। तर यस घटनाबारे केही बोल्न खोजेको छैन महानगर। 

काठमाडौं महानगरलाई कारबाहीको चेतावनी

गत असार–४ गते। काठमाडौं महानगरपालिकाले न्युरोडको क्षेत्रको सडक साँघुरो बनाउने भन्दै सडक डिभिजन कार्यालयलाई एउटा पत्र पठायो। त्यो पत्रमा अनुमतिभन्दा पनि ‘हामी काम गर्छौं’ भनेर लेखिएको थियो।

आफ्नो जिम्मामा रहेको सडकमा महानगरले काम गर्न मिल्दैन भनेर कार्यालय केही बोलेन। त्यसलाई त्यति वास्ता पनि गरेन।

तर गते २ गते महानगरले ठेक्का लगाएर सडक साँघुरो बनाइरहेको खबर सुनपछि सडक डिभिजन कार्यालयले ‘अनुमतिबिना सडक काट्न नमिल्न’ भन्दै विज्ञप्ति जारी गर्यो।

त्यही बीचमा १२ गते शनिबारको दिन। सडक साँघुरो बनाउने उद्देश्यले महानगरले काम गरेपछि सडक डिभिजनले रोक्यो। सोही दिन त्यही विषयलाई लिएर अरू नै कारण देखाउँदै महानगरले सडक विभाग अगाडि फोहोर थुपारिदियो।

‘त्यो धेरै अराजक भयो’, सडक डिभिजन कार्यालयका प्रवक्ता प्रमोद खतिवडा भन्छन्, ‘त्यस्तो गर्नु ठिक थिएन। वातावरणको हिसाबले पनि त्यस्तो काम गर्नु उचित होइन।’

१३ गते डिभिजन कार्यालयले महानगरले भत्काएकाे सडक पुनर्स्थापना गर्नुपर्ने भन्दै चेतावनीपूर्ण विज्ञप्ति निकाल्यो। ‘हाम्रो उद्देश्य सडक पहिलाजस्तो थियो, त्यस्तै हाेस् भन्ने हाे’, उनले बताए।

सडक डिभिजनले फेरि बुधबार पत्र लेख्दै अनुमति बिना साँघुरो बनाइएको न्यूरोडस्थित जुद्ध शालिक–इन्द्रचोक सडक खण्ड यथास्थितिमा पुनर्स्थापना नगरे सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी महानगरलाई दिएकाे छ।  

‘हाम्रो कार्यक्षेत्रभित्र सहमतिविना कुनै पनि काम नगर्न-नगराउनुहुन भनी अनुरोध गरिए पनि विनासहमति न्युरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडक खण्डमा महानगरले सडक खन्ने र भत्काउने काम गरेको छ। सो कार्य तुरुन्त रोकी सडक यथास्थितिमा पुनर्स्थापना गरिदिनुहुन १३ जेठ पुनः अनुरोध गरिए पनि हालसम्म पुनर्स्थापना भएको देखिएन,’ पत्रमा भनिएको छ, ‘नेपालको प्रचलित कानुनभन्दा ठूलो कोही नहुने र प्रचलित कानुन अक्षरशः पालना गर्नुपर्ने कर्तव्य एवं दायित्व सबैको हुने कुरा महानगरपालिकालाई विदितै छ। तसर्थ, त्यहाँबाट भत्काइएको सडक पुनर्स्थापना गरिदिनुहुन अनुरोध छ। अन्यथा सार्वजनिक सडक ऐन, ०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुनेछौँ ।’ 

‘हामी अब महानगरले पुनस्थापना गर्ने कामको प्रतिक्षामा छौं। त्यति गरिदिए समस्या समाधान हुन्छ। त्यसपछि हामी सहकार्य गरेर अगाडि बढ्ने छौं’, उनले भने। 

प्रकाशित मिति: : 2024-05-31 20:45:00

प्रतिकृया दिनुहोस्