बिएल संवाददाता
महोत्तरी
मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज (आइतबार)बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन्। शनिबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्यता ग्रहण गर्दै जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन्। रामजानकी विवाह महोत्सवमा अयोध्याबाट जन्ती भई साधुसन्त जनकपुर आउने पुरानो परम्परा हो।
महोत्सवमा अयोध्याका अतिरिक्त भारतका विभिन्न ठाउँबाट साधुसन्त आउने गरेका छन्। केही दशक पहिलेसम्म मङ्सिर शुक्लपक्ष लाग्नासाथै प्रतिपदाकै दिन भारतीय साधुसन्त मटिहानी हुँदै नेपाल प्रवेश गर्थे। यो तालिकामा पहिलो रात मटिहानी, दोस्रो रात जलेश्वर, तेस्रो रात महोत्तरीकै सहोडवा र चौथो दिन जनकपुर पुग्ने चलन थियो। यसक्रममा दिवा र रात्रिभोजनका स्थल निर्धारित भएबमोजिम स्थानीयले अहोभावले स्वागत गर्दै भोजन, विश्रामको चाँजो मिलाउने परम्परा रहेको पिपरा गाउँपालिकाको बनौली गाउँका ६५ वर्षीय वैद्यनाथ चौधरीले बताए।
केही साधुसन्त पञ्चमीको एक दिनपूर्व मटिहानी पुग्ने र महोत्सवको मुख्य दिन पञ्चमी तिथिमा जलेश्वर हुँदै जनकपुर जान थालेका छन्। मेला उत्सवको आकर्षण घट्दै गएर सीमित सङ्ख्याका साधुसन्त र सर्वसाधारण श्रद्धालु आउने गरेका यात्राको बाटो क्षेत्र (मटिहानी–जलेश्वर–पिपरा–जनकपुर)का बासिन्दा बताउँछन्। कतिपय भारतीय साधुसन्त त आज नै भिठ्ठामोर सीमानाकाबाट नेपाल प्रवेश गर्दै सोझै जनकपुर पुग्ने जनाइएको छ।
जनकपुरधाममा सप्ताहव्यापी मनाइने रामजानकी महोत्सव त्रेतायुगमा अयोध्या नरेश दशरथ पुत्र श्रीराम र मिथिला (विदेह)का राजा शिरध्वज जनककी पुत्री सीताको मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन विवाह भएको सम्झनामा मनाउँदै आइएको हो। हिन्दू परम्परामा श्रीराम विष्णुका अवतार र मर्यादा पुरुषोत्तम कहलिन्छन् भने सीता लक्ष्मीकी अवतार र आदर्श नारीका रूपमा पूज्य छन्।
जनकपुरधाममा सम्पन्न गरिने महोत्सवको साप्ताहिक तालिकामा जनकपुर नगर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर र स्वयम्बर तथा विवाह र रामकलेवा विधि छन्। महोत्सवको मुख्य दिन आज मङ्सिर शुक्ल पञ्चमीका दिन मध्याह्नपछि जनकपुरधामको विशाल रङ्गभूमि मैदानमा स्वयम्बर समारोह आयोजन हुँदैछ। रामसीताको स्वयम्बरपछि आजै राति जानकी मन्दिर परिसरभित्रको विवाहमण्डपमा राम–सीता, भरत–माण्डवी, लक्ष्मण–उर्मिला र शत्रुघ्न–श्रुतिकीर्तिको विवाह विधि सम्पन्न गरिने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए।
वर (दुलहा)हरु चारैजना अवध (अयोध्या) नरेश दशरथका पुत्र र बेहुलीहरूमध्ये सीता र उर्मिला विदेहराज शिरध्वज जनकका र माण्डवी तथा श्रुतिकीर्ति राजा जनकका भाइ कुशध्वजका छोरी भएका रामायणमा वर्णित छ। विवाहको भोलिपल्ट रामकलेवा विधिका दिन जन्ती भई आएका भारतीय साधुसन्तलाई मिष्टान्न भोजन गराइ वस्त्रआभूषण र दक्षिणा दिएर बिदाइ गरिने चलन छ। यी सबै विधिका मुख्य आयोजक जानकी मन्दिर व्यवस्थापन रहँदै आएको छ।
विवाह महोत्सवमा जानकी मन्दिरका महन्थ राजा जनकको र जनकपुरकै राम मन्दिरका महन्थ राजा दशरथको भूमिकामा हुन्छन्। समारोहमा मैथिल परम्पराअनुसार जन्ती र घरगाउँले तथा सम्धीसम्धीबीचको हाँसख्याल ठट्टा सहभागीहरूका लागि मनोरञ्जक हुने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झाले बताए।
प्राचीन मिथिलाको विवाह पद्धति, चालचलन र रीतिथिति सम्झाउने यो सांस्कृतिक पर्वको शाख ओइल्याउन दिन नहुने स्थानीयको भनाइ छ। यसका लागि नयाँ पिँढीका मैथिल युवाले अग्रसरता लिनपर्ने महोत्तरीकै बलवा नगरपालिकाको धमौरा बस्तीका बासिन्दा मैथिल संस्कृति र परम्पराका जानकार कामेश्वर झाको सुझाव छ।