बिएल संवाददाता
काठमाडौं
उसै पनि लगातार तेस्रोपटक सत्तामै रहिरहनका लागि चुनावी फन्डा गरिरहेको भारतीय जनता पार्टी यसपालि ‘चार सय पार…’को आक्रामक नारा लिएर उत्तिकै आक्रामकरुपमा चुनावी मैदानमा उत्रिएको छ।
स्वतन्त्र भारतको संसदीय अभ्यासमा यो अर्थात् २०१४ को लोकसभा चुनाव १८औँ संस्करण हो। सन् २०१४ देखि लगातार सत्तामा रहेको भारतीय जनता पार्टी(भाजपा) नेतृत्वको गठबन्धन एनडिएलाई चुनौती दिन भारतीय राष्ट्रिय कंग्रेसले यो चुनावका लागि ‘इन्डिया’ गठबन्धनको रचना गरेको छ।
तर यसपालि भारतीय चुनावको इतिहासमा कंग्रेसले सबैभन्दा कम सिटमा आफ्ना उम्मेदवार उठाएको छ। कंग्रेसको यो कदमलाई अहिले कतिपय भारतीय राजनीतिक विश्लेषकहरूले उसको चुनावी रणनीतिका रुपमा अर्थ्याएका छन् भने कतिपयले उसको ‘बाध्यता’का रुपमा टिप्पणी गरेका छन्।
त्यो सन् २००९ को लोकसभा चुनाव थियो, जसमा कंग्रेसले निकै राम्रो नतिजा प्राप्त गर्यो र अहिलेसम्म त्यो अन्तिम नै भयो। त्यो चुनावमा उसले देशभरि ४४० उम्मेदवारहरू खडा गरेको थियो। भारतमा ५४३ सिटमा लोकसभा चुनाव हुनेगर्छ। ती ४४० सिटमा कंग्रेसले २०९ सिट प्राप्त गर्यो। सरकार बनाउनका कम्तीमा २७२ जना सांसदको बहुमत चाहिन्छ। कंग्रेसका सांसदले नपुगेर उसले एक्लै सरकार बनाउन सकेन र फेरि संयुक्त जनतान्त्रिक गठबन्धन(युपिए)को सरकार दोहोरियो। मनमोहन सिंह फेरि प्रधानमन्त्री बने।
त्यसअघि सन् २००४ मा लोकसभामा कंग्रेसले १४५ सिटमात्रै हासिल गरेको थियो, जबकि त्योबेला उसले ४१७ सिटमा उम्मेदवार खडा गरेको थियो। सबैभन्दा धेरै ५२९ मा उम्मेदवार उठाएर कंग्रेस १९९६ मा चुनाव लडेको थियो।
१८औँ संस्करणका लागि अप्रिल १९ मा पहिलो चरणको मतदान भइसकेको छ। देशभरिका करिब १०२ सिटमा चुनाव भएको छ। यसपालि भारतीय कंग्रेस करिब दुई दर्जन राजनीतिक दलहरू मिलेर बनेको ‘इन्डिया’ गठबन्धनको एक प्रमुख हिस्सा पनि हो।
अहिलेसम्म कंग्रेसले करिब ३०१ सिटमा आफ्ना उम्मेदवार तय गरेको छ। अन्तिम चरणको चुनावसम्म उसका बढीमा ३२० भन्दा धेरै उम्मेदवारहरू मात्रै चुनाव लड्ने छन्।
सन् १९५१ देखि अहिलेसम्मका चुनावी इतिहासमा भारतीय कंग्रेसले पहिलोपटक यति थोरै उम्मेदवारलाई चुनावमा खडा गरेको हो।
यसअघि सन् २०१४ को लोकसभा चुनावमा कंग्रेसले ४६४ उम्मेदवार मैदानमा उतारेको थियो। सन् २०१९ को चुनावमा उसले खडा गरेका ४२१ उम्मेदवारमध्ये देशभरिबाट कंग्रेसले जम्मा ५२ सिटमा मात्रै चुनाव जित्यो। इतिहासमा कंग्रेसका लागि यो सबैभन्दा नमीठो पराजय थियो। र, सन् २०१४ देखि अहिलेसम्मै कंग्रेस भारतीय सत्ता राजनीतिभन्दा निकै पर-पर छ।
यसपालि कस्तो छ कंग्रेसको हाल?
यसपालिको चुनावी रणनीतिलाई लिएर भारतीय कंग्रेसमाथि कैयौँ राजनीतिक टीकाटिप्पणीहरू भइरहेका छन्। राजनीतिक वृत्तमा अहिले चर्चा चलिरहेको छ कि भारतीय राजनीतिक इतिहासको सबैभन्दा पुरानो राष्ट्रिय दल कंग्रेसलाई आखिर किन यस्तो गर्नुपर्यो?
जानकारहरूका अनुसार पछिल्लो एक दशकमा कंग्रेसको संगठन पूरै धरमराइसकेको छ। अर्थात् लथालिंगै अवस्थामा छ। यो त्यही दशक हो, जहाँ कंग्रेस भारतीय सत्ता राजनीतिबाट पूरै ‘आउट’ रह्यो।
लामो समय भारतीय कंग्रेसमाथि कलम चलाइरहेका राजनीतिक लेखक तथा विश्लेषक रशिद किदवाईका अनुसार अहिले कंग्रेस इतिहासमा सबैभन्दा कठिन अस्तित्वको लडाइँ लडिरहेको छ। २०२४ को चुनाव कंग्रेसका लागि ‘मर या गर’ को स्थितिमा भइरहेको छ।
‘कंग्रेसले यो कुरा राम्रोसँग बुझेको हुनुपर्छ कि अब भारतीय जनता पार्टी अझ भनौं खासगरी प्रधानमन्त्री मोदीलाई टक्कर दिनका लागि कंग्रेसको एक्लो बलबुँताले मात्रै भ्याउन सक्दैन। त्यसैले उसले अरु क्षेत्रीय दलहरूलाई समेत मिलाएर गठबन्धन गर्नुपरेको हो’, उनी भन्छन्, ‘गठबन्धनमा भइसकेपछि आफूले मात्रै लिन्छु भनेर हुँदैन। त्यसका लागि आफूले छोड्न पनि सक्नुपर्छ। भाजपालाई चुनौती दिनका लागि कंग्रेसले यसपालि त्याग गरेको हो कि भन्न पनि सकिन्छ। किनकि क्षेत्रीय दलहरूको साहार लिनुबाहेक अर्को विकल्प कंग्रेससँग छँदै थिएन र छैन पनि।’
कंग्रेसले यसपालि जितको लक्ष्य पनि निकै कम नै तय गरेको छ। यसपालि मैदानमा उत्रिएका तीनसय जति कंग्रेसका उम्मेदवारमध्ये आधाभन्दा थोरै उम्मेदवारले जिते पनि कंग्रेसको राजनीतिक संगठनका लागि त्यो ठूलै उपलब्धि हुनेछ। तर क्षेत्रीय दलको गठबन्धन शक्ति कति बलियो छ भन्ने कुरा थाहा पाउन भने चुनावी परिणाम त कुर्नैपर्छ।
‘यति हुँदाहुँदै पनि कंग्रेस फेरि एकपटक आफ्नो रणनीति लागू गर्न गम्भीर रुपमा चुकेको छ। खासमा इन्डिया गठबन्धनको नेतृत्वकर्ताको हिसाबले यसपालि पूरै गठबन्धनको घोषणापत्र साझा हुनुपर्थ्यो’, किदवाई भन्छन्, ‘तर गठबन्धनका दर्जनौँ दलहरूले आ-आफ्ना चुनावी घोषणापत्र लिएर मैदानमा उत्रिएका छन्। कंग्रेस यहिँनेर फेरि एकपटक चुकेको छ। यसबाट उसलाई कति चुनावी लाभ हुन्छ, त्यसका लागि त नतिजा कुर्नैपर्छ।’
क्षेत्रीय दलमा कति ताकत छ?
लोकसभाको कूल ५४३ सिटमध्य यो चुनावमा लगभग २०० सिटहरू यस्ता छन्, जहाँ भारतीय जनता पार्टीको क्षेत्रीय दलहरूसँग सिधा संघर्ष हुनेछ। यस्तो अवस्थामा धेरै सिटमा कंग्रेसको विकल्प लगभग थिएन नै।
एकजना राजनीतिक क्षेत्रमा कलम चलाइरहेका बरिष्ठ पत्रकार एनके सिंहका अनुसार सांगठनिक रुपमा कंग्रेसको जुन हालत भएको थियो, यस्तो स्थितिमा कंग्रेससँग थोरै सिटमा मात्रै उम्मेवार उतार्नु वा त्याग गर्नुबाहेक अर्को कुनै विकल्प थिएन। अहिले पनि चुनावी माहोल अध्ययनका लागि देश दौडाहा रहेका पत्रकार सिंहका अनुसार सांगठिनक स्थितिका कारण कंग्रेससँग लड्नका लागि देशका धेरै क्षेत्रहरूमा योग्य उम्मेदवार नै छैनन्। जसको अभावमा कंग्रेसले थोरै सिटमा मात्रै उम्मेदवारहरू खडा गरेको छ।
कंग्रेसले उत्तर प्रदेश, महाराष्ट्र, पश्चिम बंगाल, बिहार तथा तमिलनाडुका धेरै सिटहरू गठबन्धनका अरु दलहरूको लागि छोडिदिएको छ। जहाँ उनीहरूकै उम्देवारहरू बलियो देखिएका छन्। यी प्रदेशहरूमा मात्रै लगभग २०१ सिट छ।
उत्तर प्रदेशमा कंग्रेसका लगभग २० सिट या त्योभन्दा पनि कम उम्मेदवार हुनेछन्। महाराष्ट्रमा ४८ मध्ये लगभग १७ सिटमा कंग्रेसका उम्मेदवार चुनाव लड्नेछन्। जब की यही प्रदेशका लगभग २१ सिटमा उद्धब ठाकरेको शिवसेनाका उम्मेदवारहरू खडा भएका छन् अनि शरद पावरका राष्ट्रवादी कंग्रेसका १० सिटमा उम्मेदवार छन्।
राजनीतिक टिप्पणीकार विद्याभुषण रावतका अनुसार कंग्रेसले अहिले जे गरिरहेको छ राजनीतिमा यो खासै केही नयाँ होइन किनकि यसअघि पनि भारतीय जनता पार्टीले यस्तै नीति लिएको थियो। गठबन्धन भनेको भविष्यको राजनीतिक स्वरुप पनि हो।
‘राजनीतिमा धेरै बदलाव आइसकेको छ। अब क्षेत्रीयता पनि बढिरहेको छ अनि क्षेत्रीय दलहरूको राजनीतिक महत्वाकांक्षा पनि। अब पनि राजनीतिमा धेरै बदलाव देख्न पाइनेछ। किनकि हामीले यो देखिरहेका छौँ कि अब राष्ट्रिय दलहरूको मत प्रतिशत हरेक चुनावमा कम हुँदै आइरहेको छ र त्यसको स्थानमा क्षेत्रीय दलहरू उक्लिरहेका छन्’, उनी भन्छन्, ‘यस्तो अवस्थामा कंग्रेससँग एक्लै जुध्नु वा मत विभाजन गराउनुभन्दा क्षेत्रीय दलहरूसँगै बलियो गठबन्धन गर्नु उपयुक्त विकल्प थियो। र कंग्रेसले त्यही गरेको मात्रै हो। त्यसैका लागि उसले २०० भन्दा धेरै सिटमा बलिदान पनि दिनुपरेको छ।’
जानकारहरूका अनुसार कंग्रेसको यही रणनीतिले मात्रै उसले बिजेपीलाई चुनौती दिनसक्छ। आफू कम सिटमा लडेर बरु बिजेपीका उम्मेदवारहरूलाई टक्कर दिने उम्मेदवारहरू भएको क्षेत्रीय दलसँग बलियोसँग गठबन्धन गर्नु नै उसको राजनीतिक भविष्यको सुनिश्चितता हुनसक्छ।