
बिएल संवाददाता
काठमाडौँ
‘अपरेशन सिन्दूर’ लिएर भारतीय सैनिकहरूले पाकितास्नी भूमिमा क्षेप्यास्त्रहरू खसाल्दै गर्दा पाकिस्तानी सेनाको एउटा टुकुडी नेपालमै थियो।
यो एउटा संयोगमात्रै थियो। आइताबारमात्रै पाकिस्तानी प्रशिक्षार्थी सैनिकहरू नेपाल आएका थिए। त्यो पूर्व निर्धारित कार्यक्रम नै थियो। नेपाली सैनिकसँगको सहकार्यमा उनीहरू प्रशिक्षणकै क्रममा नेपाल भ्रमण आएका थिए। यद्यपि त्यसबारे सांसदहरूले आशंका व्यक्त गर्दै संसदमा पनि कुरा उठाए।
भारतसँग नेपालको जति साइनो अनि सम्बन्ध छ, पाकिस्तानसँगै त्यत्ति धेरै छैन। भूगोल, समाज, संस्कृती र रहनसहनमा झाँगिएको नेपाल-भारत सम्बन्धमा ‘गोर्खा सैनिक’ त्यही सम्बन्धको अर्को एउटा आयाम हो।
हरेक युद्धमोर्चाको अग्रभागमा रहने गोर्खा सैनिकका लागि भारतमा छुट्टै रेजिमेन्टहरू छन्। भारतीय सैनिकका सातवटा गोर्खा रेजिमेन्टमा लगभग ३२ हजार नेपाली छन्। ३९ बटालियनमा बाँडिएका गोर्खा सैनिकमध्ये ४० प्रतिशतजति भारतका विभिन्न ठाउँमा रहेका नेपालभाषी छन्। यो हिसाबले नेपाल-भारतबीच सम्बन्धको अर्को परिचय पनि छ।
यद्यपि भारतले सैनिक भर्तीका लागि ‘अग्नीपथ’ योजना ल्याएपछि सन् २०२२ देखि गोर्खा भर्ती रोकिएको छ। नेपाल र भारतबीच त्यसमा कुरा मिलिसकेको छैन।
अँग्रेजले भारत छोड्दादेखि नै गोर्खा सैनिकको भर्ती औपचारिकरुपमा खुला भएको थियो। त्यो बेला गोर्खा बेलायतसम्मै पुगिसकेका थिए। गोर्खा भर्तीका लागि नेपाल, भारत र ब्रिटेनबीच त्रिपक्षीय सम्झौत भएको थियो।
त्यही बेला विभाजित भएका भारत-पाकिस्तानको ‘दुश्मनी’को इतिहासमा नेपाल पनि त्यसैगरी गाँसियो। यद्यपि भारत-पाकिस्तान युद्धसँग नेपालको कुनै साइनो छैन। तर यो युद्धको बाछिटामात्रै नभएर ठूलै बज्रपातले नेपाललाई पनि छुनसक्छ। किनकि गोर्खा सैनिकका लाखौं परिवार नेपालमै छन्।
पञ्चशील सिद्धान्तको आधारमा नेपाल ‘असंलग्न परराष्ट्र नीति’ अंगालेको एक स्वतन्त्र अनि सार्वभौम राष्ट्र हो। यो भनेको नेपालले कुनै पनि राष्ट्रबीच हुने कुनै पनि प्रकारका युद्धहरूको समर्थन वा विरोध गर्दैन। तथस्ट नीतिको यो सिद्धान्तमा नेपालले हिंसा र आतंकवादलाई भने स्वीकार गर्दैन।
सन् १९६० मा नेपाल र पाकिस्तानबीच औपचारिक कुटनीतिक सम्बन्ध गाँसियो। त्यो बेला बिपी कोइराला प्रधानमन्त्री थिए। उनी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री थिए। पाकिस्तानसँग त्यो साइनो गाँस्नुअघि बिपीले तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरला नेहरूलाई त्यसबारेमा भनेका थिए।
नेहरूले सजिलो अनि सरल जवाफ दिए। बिपीले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेअनुसार नेहरूले त्यति सकारात्मकरुपमा लिन्छन् भन्ने बिपीले सोचेका पनि थिएनन्।
‘हो, तपाईंहरूले त्यसो गर्नुपर्छ। टाढाका देशहरूसँग सम्बन्ध राख्ने तर नजिकैको पाकिस्तानलाई बेवास्ता गर्ने राम्रो देखिँदैन’ भन्ने नेहरुको जवाफ आफूलाई अप्रत्याशित लागेको बिपीले उल्लेख गरेका छन्। तर भारतका कतिपय राजनीतिज्ञहरूले भने बिपीको त्यो कदम रुचाएका थिएनन्।
बिपीले त्यो बेला इजरायलसँग पनि कुटनीतिक सम्बन्ध गाँसे जब कि इजरायलले एउटा स्वतन्त्र राष्ट्रको वैश्विक मान्यता पाइसकेको थिएन। त्यो भन्दा अघि बढेर बिपीले कुटनीतिक सम्बन्ध अघि बढाएका थिए। त्यतिमात्रै होइन त्यो बेला चीनलाई पनि संयुक्त राष्ट्रसंघको सदस्या दिनुपर्छ भनेर राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने बिपी एकमात्रै दक्षिण एशियाली नेता थिए।
पाकिस्तानसँग सम्बन्ध गाँसेका बिपी प्रधानमन्त्रीकै हैसियतमा पाकिस्तान भ्रमण भने गएनन् तर पछि शासनसत्ता हातमा लिएपछि तत्कालीन राजा महेन्द्र पाकिस्तान भ्रमण गएका थिए।
सन् १९९९ तिर भारत पाकिस्तानबीच लद्दाखमा कारगिल युद्ध हुँदा नेपालले चिन्ता ब्यक्त गरेको थियो। त्यो बेला नेपालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले संयुक्त राष्ट्रसंघीय महासभामा सम्बोधन गर्दै क्षेत्रीय शान्तिका लागि अपिल गरेका थिए।
त्यसयता पनि थुप्रैपटक भारत पाकिस्तानबीच तनाव हुँदै आएको छ। यस्तो बेलामा नेपाल कैयौं पटक मौन बसेको छ भने कतिपटक दुबैलाई संयम हुन भनेको छ।
गत अप्रिल २२ मा भारत प्रशासित जम्मु कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको नेपालले पनि निन्दा गर्यो। त्यसमा एकजना नेपालीसहित २६ जना पर्यटकको हत्या भएको थियो। त्यसमा पाकिस्तान समर्थित आतंकवादी संगठनलाई जिम्मेवार ठान्दै भारतले पाकिस्तानमाथि आक्रमण पनि सुरु गरिसकेको छ।
मंगलबार राति भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ सुरु गर्यो र पाकिस्तानमाथि क्षेप्यास्त्र हानेको थियो। त्यसअघि फेरि एकपटक युद्धको त्रास फैलिएको छ।
यतिबेला नेपालले पनि संयम अनि शान्तिका लागि अपिल गर्नुभन्दा अर्को बिकल्प छैन। क्षेत्रीय शान्ति, सहयोग र विकासका लागि भारत-पाकिस्तानसमेत सम्मिलित क्षेत्रीय सहयोग संगठन सार्क अहिले लगभग निष्क्रिय अवस्थामा छ। नेपालमा मुख्य सचिवालय रहेको सार्कको अहिले नेपाल अध्यक्ष राष्ट्र हो।
भारतले पाकिस्तानमाथि आक्रमण गरेपछि उसले अन्तर्राष्ट्रिय साथ र सहयोग पनि खोजिरहेको छ। खासगरी छिमेकीहरूको समर्थन यतिबेला भारतलाई निकै जरुरी पर्छ।
पाकिस्तानमाथि आक्रमण गर्नुअघि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल पनि नेपाल आएका थिए। भ्रमणका अनेक अजेण्डाहरूमध्ये पाकिस्तानमाथि भारतले बनाइरहेको आक्रमणको योजनामा छिमेकी साथ जुटाउनु पनि डोभालको उद्देश्य थियो।
भारत पाकिस्तानबीच तनाव चुलिदैं जाँदा सुरक्षाको सवाललाई लिएर नेपाल पनि चनाखो भएको छ। भारतसँग लामो दूरीको खुला सिमानाका कारण कुनै पनि सुरक्षा खतरा निम्तिन नदिन नेपालका सुरक्षा निकाय पनि अलर्ट भएका छन्।
यसअघि भारतमाथि आक्रमण गर्न कैयौं आतंकवादी संगठनहरूले नेपालको भूमि प्रयोग गरेका घटनाहरू पनि छन्।
बुधबारमात्रै प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका थिए। उनले सिमानामा निगरानी, गस्ती र सुरक्षा बढाउन सबै सुरक्षा निकायहरूलाई निर्देशन पनि दिए। गृहमन्त्रालयले सिमानामा सुरक्षा निगरानी बढाउन सबै सुरक्षा निकायलाई आदेश दिएको छ।
यसबीचमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि एक विज्ञप्ति निकालेर नेपाल सबै प्रकारका आतंकवाद र हिंसाको विरुद्ध रहेको प्रष्ट पारेकी छिन्। उनले आतंकवादविरुद्धको लडाईंमा नेपाल सधैं साथमा रहने पनि बताएकी छन्।