
बिएल संवाददाता
काठमाडौं
रुद्रमणि रेग्मी
आजको नेपालको करिब ६० प्रतिशत जनसंख्याको हिस्सा युवापुस्ताले ओगटेको छ। यस्तो स्वर्णिम अवसर सबै मुलुकले सदैव प्राप्त गर्न सक्दैनन्। यस्तो अवसर प्राप्तिका लागि कैयन शताब्दी प्रतिक्षा गर्नुपर्ने हुन्छ।
जुन अवसर आज हामी नेपालीले प्राप्त गरेका छौं। हामीले प्राप्त गरेको यो उर्जाशील जनशक्तिलाई सही दिशानिर्देश गर्न सक्यौं र यसलाई राष्ट्र निर्माणमा प्रयोग गर्न सक्यौं भने, नेपाल समृद्व बन्न दशकौं कुर्नै पर्दैन। छोटो समयमै नेपाललाई ‘समृद्ध मुलुक’ बनाउन सकिन्छ जसका लागि सबैको साझा संकल्प आवश्यक छ।
तर, विडम्बना विदेश पलायनको दलदलमा फसेको हाम्रो युवाशक्तिलाई स्वदेशमै रोक्न सक्नु हाम्रो सामु सबैभन्दा ठुलो चुनौती बनेर उभिएको छ। यसको लागि हामीले नेपालमा नै अवसरको सृजना गर्ने प्रयत्न थाल्नुपर्छ। उद्योग, स्टार्टअप, नवीन परियोजना, कृषि क्षेत्रमा आधुनिकीकरण र प्रविधि क्षेत्रको विकासमा युवाहरूको भूमिका सुनिश्चित गर्न सक्नुपर्छ। जुन आजको निर्विकल्प आवश्यकता हो।
युवा शक्तिलाई नेपालमा नै केही गर्न सकिन्छ भनेर भरोसा दिन सक्नु सरकारको आजको प्रमुख जिम्मेवारी र चुनौती बनेको छ। राजनैतिक अस्थिरता र चौतर्फी अन्योलताको बिचमा युवा पुस्ताले देशमा आफ्नो भविष्य देखिरहेका छैनन्, देखेका छन् त केवल अन्योलता, अस्थिरता, कुशासन मात्रै।
यसलाई रोक्न नागरिक समाज र राजनीतिक नेतृत्वले साझा संकल्पको शंखघोष गर्ने समय भएको छ। युवा पुस्तालाई नेपालमै रोजगारीको सृजना गरी समृद्ध नेपाल बनाउने अभियानमा जोड्न सरकार र निजी क्षेत्रको प्रयास आवश्यक छ।
किन हाम्रा प्रतिभाशाली युवाहरू विदेशिन विवश छन? हामी किन आफ्नै भूमिमा अवसरहरू सृजना गर्न सकिरहेका छैनौं? यहि प्रश्नलाई राजनैतिक नेतृत्वले मनन गर्न सकेमात्रै पनि हामी आफ्नै भूमिमा समृद्धिको क्रान्ति ल्याउन सक्छौं। त्यसका लागि युवालाई उद्यमशिलता संग जोडेर देशमै रोजगारीको अवसर सृजना गर्नु आवश्यक छ ।
यसो हुन सकेमा मात्रै नवाचारको युग सुरू गर्न र नेपाललाई आत्मनिर्भर बनाउन सक्छौं। अब समय बदलिएको छ, आवश्यकताहरू बदलिएका छन्, युवा शक्तिले आफ्नो सोंच र अठोट बदल्ने समय आएको छ। अबको युवा आन्दोलन विगतको जस्तो तोडफोड, आक्रोश र अस्थिरतामा सीमित हुनुहुँदैन।
अबको युवा आन्दोलन ज्ञान, सिप, प्रविधि, नीति निर्माण, उद्यमशीलता, र आर्थिक सुधारमा केन्द्रीत हुनुपर्छ। अबको हाम्रो विद्यार्थी आन्दोलन पनि केवल नाराबाजीमा सीमित रहनु हुँदैन। हामीले शिक्षामा लगानी बढाउन आन्दोलन छेड्नुपर्छ।
दुरदराजका गाउँ-गाउँमा समेत पुस्तकालय बनाउने अभियान थाल्नुपर्छ। विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्ने अभियान चलाउनुपर्छ। शिक्षा नीति सुधारको लागि आवाज उठाउनुपर्छ। विद्यार्थीहरूले आफ्नो तहका, तहगत विवरण संकलन गरेर दक्ष र अदक्ष जनशक्तिको पूर्ण तथ्यांकसहितको तथ्यगत विवरण आफूसँग राख्नुपर्छ जसले सम्भावनाहरूको खोजी, चुनौतीहरूको पहिचान र त्यसको समाधानमा मद्दत पुग्छ।
अबको विद्यार्थी आन्दोलन नवाचारको आन्दोलन हुनुपर्छ। स्वदेशमै अवसर सिर्जना गर्ने अभियानको हुनुपर्छ। हामीले शिक्षालाई आधुनिकीकरण गर्नसके मात्रै दक्ष जनशक्तिको निर्माण र युवाशक्तिको समुचित प्रयोग गर्न सक्छौं। हामीले युवा विद्यार्थी आन्दोलनलाई सही दिशामा रुपान्तरण गर्नसके मात्रै नेपाललाई विकासको गतिमा तिव्र रूपमा अगाडि बढाउन सक्छौं।
हामी यथास्थितिमा सधै परिवर्तनको प्रतिक्षा मात्रै गरिरहन सक्दैनौं, हामी नै परिवर्तनका वाहक बन्नुपर्छ। हाम्रो देश हामीले नै बनाउने हो। हामीले चाहेको हाम्रो नेपाल हाम्रै सामुन्नेमा छ। केवल हामीले आफैंलाई आत्मविश्वासका साथ रुपान्तरणको मार्गमा धकेल्न बाँकी छ। के हामी तयार छौं?
लेखक- नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हुन।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
३ .
४ .
५ .