आइतबार, १७ नोभेम्बर २०२४

ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि नागढुङ्गा सडक अवरूद्ध

Symbolic photo
• • •

थानकोटमा ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि स्थानीयले नागढुङ्गामा सडक अवरूद्ध पारेका छन्।

शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोटमा कलंकीबाट नागढुङ्गा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोहीतर्फ जाँदै गरेको प्र ३-०१-००६ ख १३०८ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरी-२ नागढुङ्गा बस्ने ४० वर्षीय  श्रीधर भूर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी भुर्तेल गम्भीर घाइते भएका थिए।

उनीहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्मिताको गएराति उपचारकै क्रममा मृत्यु भएको थियाे।

उनको मृत्यु भएपछि शनिबार बिहान स्थानीयहरूले नागढुङ्गा सडक अवरूद्ध पारेका हुन्। खरिबोट, थानकोट र नागढुङ्गा चेकपोइन्टमा दर्जनौँको संख्यामा उपस्थित भएका स्थानीयहरूले बिहान केहीबेर सडक ठप्प पारेका हुन्।

स्थानीय र आफन्तले घाइतेकाे उपचारको उचित व्यवस्थापन गर्नुपर्ने र पीडितलाई क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राख्दै सडक अवरुद्ध गरिएकाे स्थानीयले बताएका छन्।

सडक ठप्प भएपछि प्रहरीले स्थानीयसँग छलफल गरी सडक अवरोध खुलाएको छ।

बिहान १० बजेदेखि करिब १ घन्टा अवरूद्ध भएपनि अहिले दुइतर्फी नै सडक सञ्चालनमा आएको थानकोट वृत्तका डिएसपी नारायण अधिकारी बताए।

ट्रक र चालक दुवै प्रहरी वृत्त थानकोटमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी अधिकारीले बताए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?