आइतबार, १७ नोभेम्बर २०२४

मेलम्चीको पानी सिधै पिउन मिल्छ?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

दसैंअघि काठमाडौं उपत्यकावासीका धाराहरूमा फेरि मेलम्चीको पानी आउन थालेको छ। बुधबारदेखि मेलम्चीको पाइपलाइन जडान भएका यहाँका धाराहरूमा पानी चुहिन थालेको हो। 

गत असोज ११ र १२ को बाढीले यहाँका स्थानीय स्रोतहरूमा क्षति पुर्‍याएपछि केही दिन काठमाडौं उपत्यकामा पानीको हाहाकार बढेको थियो। त्यसबाट सरकारलाई मेलम्चीको पानी ल्याउन दबाव सिर्जना भएको थियो। 

यद्यपि २०७८ सालमा आएको बाढीका कारण प्रभावित मुहानक्षेत्रका स्थानीयले आफ्ना मागहरू पूरा नभएको भन्दै आन्दोलन गर्दै आएका थिए। उनीहरूले मेलम्चीको पानी काठमाडौं ल्याउने सुरुङमा पानी पथान्तरण हुनै नदिनै भन्दै आन्दोलन गरिरहेका थए। खानेपानी मन्त्री प्रदीप यादव सोमबार मेलम्चीको मुहानमै पुगेर स्थानीयसँग सम्झौता गरेर काठमाडौंमा पानी ल्याएका हुन्। 

फेरि वितरण गरिएको मेलम्चीको यो पानी धेरै चरणको प्रशोधनपछि धारामा आउने भएका कारण सिधै पिउँदा पनि कुनै फरक नपर्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। 

कार्यकारी निर्देशक ई.रत्नप्रसाद लामिछानेका अनुसार नयाँ लाइनहरूबाट धारामा आउने मेलम्चीको पानी नउमालेरै पिउन योग्य छ। तर पुराना पाइपलाइनहरूमा प्रदुषित हुनसक्ने उनले बताए। 
‘मेलम्चीबाट सुन्दरीजलसम्म आउँदा पनि त्यो पानी राम्रै आएको हुन्छ। सुन्दरीजलमा ४ लयरमा प्रशोधन भएर उपभोक्ताको धारासम्म पुग्छ’ उनी भन्छन् ‘यस हिसाबले यो पानी नउमालेर सिधै पिउँदा पनि केही फरक पर्दैन। तर पुराना पाइपहरूमा प्रदुषण हुनसक्छ। त्यस्ता पाइपबाट पानी आउने धाराका उपभोक्ताहरू भने सचेत हुनुपर्छ।’ 

सुन्दरीजलको ट्रिटमेन्ट प्लान्टबाट हरेक दिन करिब १८ करोड लिटर पानी प्रशोधन हुन्छ र १७ करोड लिटर वितरण हुन्छ। अहिले मेलम्चीबाट २२ करोड लिटर पानी आइरहेको छ। उपत्यकामा हरेक दिन १७ करोड लिटर वितरण हुन्छ भने बाँकी पाँच करोड लिटरजति पानी बागमतीमा बगाइएको छ। 
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?