बिएल संवाददाता
काठमाडाैँ
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार काठमाडौंमा तरकारीको भाउमा उच्च बृद्धि भएको छ।
अविरल बर्षाका कारण काठमाडौं जोड्ने अधिकांश सडकमा क्षति पुगेसँगै सवारी आवागमन हुन नसक्दा काठमाडौंमा तरकारी महँगिएको हो। सबैजसाे मुख्य राजमार्ग तथा सहायक सडकहरू क्षतिग्रस्त भएपछि अहिले देशका अधिकांश ठाउँहरूसँग राजधानीकाे सम्पर्क टुटेकाे छ।
कतिपय तरकारीका गाडीहरूसमेत बाटाेमै थुनिएका कारण अब काठमाडौंमा तरकारीकाे अभाव हुन थालेकाे छ। पूरै काठमाडौं उपत्यकालाई तरकारी पुर्याउने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गत चलिरहेकाे कालिमाटीकाे तरकारी बजारसमेत शुक्रबार र शनिबारकाे वर्षाका कारण डुबेकाे छ। त्यसबाट लाखाैंकाे तरकारी नस्ट भएकाे समितिले जनाएकाे छ।
आज सुकेको प्याजको भाउ प्रतिकेजी १३० रुपैयाँ पुगेको छ । यसअघि भने ११८ रुपैयाँ ३३ पैसा तोकिएको थियो। त्यस्तै आलु ७५ देखि ८२ रुपैयाँ प्रतिकिलाेसम्म पुगेकाे छ।
लोकल गाजर १९० रुपैयाँबाट बढेर २२६ रुपैयाँ ६७ पैसा, तराई गाजर १९० रुपैयाँ, लोकल बन्दा १०५ रुपैयाँ, रातो आलु ८१ रुपैयाँ, सेतो मूला ३० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ४२६ रुपैयाँ ६७ पैसा रहेको छ भने पार्सले प्रतिकेजी २ हजार २६६ रुपैयाँ ६७ पैसा पर्नेछ।
त्यस्तैगरी, हरियो धनियाँ १७ रुपैयाँ सस्तिएर ३८३, हरियो लसुन १०० रुपैयाँ सस्तिएर २७६ रुपैयाँ र रायो साग ५० रुपैयाँ सस्तिएर ९५ रुपैयाँमा कारोबार भइरहेको छ।