बिएल संवाददाता
काठमाडाैँ
काठमाडौंको सुन्धारास्थित धरहरा आउँदो असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ।
२०७२ सालको भूकम्पले ढलेको धरहरा आधुनिक र सुविधायुक्त बनाइएको छ। बाहिरीस्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्री संरचना भने फरक छ। बाहिरबाट हेर्दा ११ तला जस्तो देखिने धरहरामा भित्री संरचना २२ तलाको छ। दुईवटा लिफ्टबाट धरहरा चढ्न सकिने व्यवस्था मिलाइएको छ।
भूकम्पले भत्किएको पुरानो धरहराको भग्नावशेष खुलारूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ।
धरहरा टावरमुनि तीन तले पार्किङ बनाइएको छ। धरहरा परिसरमा प्रशासनिक भवन र सङ्ग्रहालय लगायतका संरचना पनि बन्दैछन्। धरहराको उद्घाटन भने तीन वर्षअघि नै भइसकेको हो।