बिएल संवाददाता
काठमाडौं
पूर्वअर्थमन्त्री वर्षमान पुनले पछिल्लो समयमा कानुन कडा भएतापनि त्यसको पालना भने घट्दै गएको बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा भएको बैङ्किक कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलमा भाग लिँदै उनले कानुन बनाउँदा धेरै भन्दा धेरै कार्यान्वयन योग्य नै बनाउनुपर्ने बताए।
उनले भने, ‘कानुन एकदम कडा छ तर त्यसलाई परिपालना एकदमै घटेर गएको छ। त्यसैले कानुन बनाउँदा धेरै भन्दा धेरै कार्यान्वयन योग्य बनाउनुपर्छ। एकदमै गम्भीर प्रकारमा त कम्प्रोमाइज गर्नुहुँदैन।’
उनले कार्यविधि बनाउन सरकारको पनि समन्वयमा राष्ट्र बैंक आफैँले कार्यविधि बनाउनुपर्ने धारणा राखे। राष्ट्र बैंकको गर्भनर र टिम सरकारले नै विश्वास गरेको टिम भएको हुँदा सरकारको परामर्शभन्दा बाहिर नगई राष्ट्र बैंक आफैँले कार्यविधि बनाउनुपर्ने बताएका हुन्।
उनले भने, ‘चेकसँग सम्बन्धित कानुन हो। सरकारले पनि थाहा पाउनुपर्छ समन्वय गर्नुपर्छ। तर राष्ट्र बैंकले कार्यविधि आफैँ बनाउनुपर्छ। राष्ट्र बैंकको गर्भनर र त्यहाँको टिम भनेको सरकारले नै विश्वास गरेको टिम हो। विज्ञहरु हुन्छन् र समन्वय गर्न अर्थ सचिव नै त्यहाँ बस्ने भएकाले सरकारको परामर्शभन्दा बाहिर जाँदैन। सरकार र अर्थ मन्त्रालयसँग सिँधै समन्वयमा नै हुन्छ।’