बिएल संवाददाता
काठमाडौं
नेकपा एमालेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ।
काठमाडौँ महानगर क्षेत्रभित्र नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दाँया बाँया छोड्नुपर्ने भनि तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने निर्णयविरुद्ध आइतबार एमाले काठमाडौँ जिल्ला कमिटीले मेयर बालेनलाई ज्ञापनपत्र बुझाएको हाे।
‘सर्वोच्च अदालतको ०६७-w०-१००२ नम्बरको उत्प्रेषणको मुद्धामा भएको फैसलालाई आधार मानी काठमाडौँ महानगर पालिकाको मिति २०८१/०४/२४ को काठमाडौँ महानगरपालिका प्रमुख स्तरीय निर्णयानुसार काठमाडौँ महानगरपालिका क्षेत्र भित्र नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दाँया बाँया छोड्नु पर्ने भने तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने, निर्माण कार्य रोक्का राख्ने समेतको व्यहोरा जनाई प्रकाशित गरेको सूचना प्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं जिल्ला कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ’, जिल्ला कमिटीले अध्यक्ष दीपक निरौलाले भनेका छन्।
एमालेले काठमाडौँ महानगरपालिका प्रमुखबाट जारी सुचना तत्काल खारेज गर्न माग गरेकाे छ।
सर्वोच्च अदालतबाट मुद्धा नं ०६७-०-१००२ को फैसला उपर तत्काल न्यायिक पुनरावलोकन लागि आवश्यक कानुनी प्रक्रिया अवलम्बन गर्न एमालेकाे माग छ।
यसैगरी सडक किनार, नदी खोलता खोल्चा तथा राजकुलोसमेतका सार्वजनिक जग्गाको साँध सिमाना छेउमा बसोबास गर्ने व्यक्तिहरुमाथि व्यक्ति विशेषको आवेगबाट प्रभावित गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने एमालेले जनाएकाे छ।
कानुन एवं आपसी सहमतिबाहेक व्यक्तिको निजी सम्पत्तिमाथि आक्रमण तथा हस्तक्षेपको अन्त्य हुनुपर्ने एमालेले माग गरेकाे छ।
सार्वजनिक प्रयोजनको लागि सरकारलाई आवश्यक घरजग्गा चलन चल्तीको दररेटमा अधिग्रहण गर्नुपर्ने व्यवस्थासहितको कानुन तत्काल लागू कार्यान्वन गरिनुपर्ने एमालेले उल्लेख गरेकाे छ।