बिएल संवाददाता
रुकुम (पश्चिम)
रुकुम(पश्चिम)को त्रिवेणी गाउँपालिकाबाट ६ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ।
पालिकाभर २ हजार ६ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट ६ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी दिए।
गाउँपालिकाभित्र अदुवाखेती गर्ने २ हजार ६ सय घरधुरी रहेका र ५ हजार २ सय रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुने गरेको जनाइएको छ।
एक रोपनी जग्गामा तीन सय केजी अदुवा उत्पादन हुने गरेको उनले जानकारी दिए। प्रत्येक किसानले गाउँबाटै एक क्विन्टललाई रु. ४ हजारका दरले बिक्री गरेका छन्। अदुवाका लागि व्यापारी गाउँमै पुगेर खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको कृषि शाखाले जनाएको छ।
व्यावसायिकरूपमा अदुवाखेती गरेका त्रिवेणी– ४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट रु. १ लाख आम्दानी गरेको बताए। विगत २० वर्षदेखि अदुवाखेतीमा लागेका उनले निरन्तर खेती गर्दै आएका छन्। यस वर्ष उत्पादन भएको साढे तीन क्विन्टल बीउका लागि र १२ क्विन्टल प्रतिक्विन्टल रु. ४ हजारदेखि ८ हजारका दरले बिक्री गरेकोे उनले बताए।
त्रिवेणी– ४ खुम्चेरीका ५५ वर्षीय कृषक हरिबहादुर खड्काले यस वर्ष अदुवा राम्रो उत्पादन भएको जानकारी दिए। ३० वर्षदेखि निरन्तर कृषि पेसा गर्दै आएका उनले यस वर्ष अदुवा बिक्रीबाट रु. १ लाख ५० हजार आम्दानी गरेको बताए। अदुवा गाउँबाटै प्रतिक्विन्टल रु. ४ हजार र बिउका लागि प्रयोग हुने अदुवा प्रतिक्न्विन्टल रु. ८ हजाार देखि १० हजारसम्म बिक्री भएकामा उनी खुसी छन्।
‘पहिले एक क्विन्टल अदुवाबाट सात क्विन्टल उत्पादन गरिन्थो, उमेर पनि ढल्किँदै गयो अहिले त एक क्न्विन्टल अदुवाबाट तीनदेखि चार क्विन्टलसम्म उत्पादन गर्ने गरेको छु’, उनले भने। यस वर्ष बिउका लागि १२ क्विन्टल अदुवा भण्डारण गरेर राखेको किसान खड्काले बताए।