शनिबार, १६ नोभेम्बर २०२४

नेपाली चिकित्सकका चारवटै अनुरोध अमेरिकी अदालतबाट अस्वीकार, यस्तो आयो फैसलाको पूर्ण पाठ

बिएल संवाददाता

बिएल संवाददाता

वासिङ्टन डीसी

News Image
• • •

अमेरिकी अदालतले युएसएमएलई स्कोर रद्द भएका ८३२ नेपाली चिकित्सकका चारवटै अनुरोध अस्विकार गरेर उनीहरूलाई राहत मिल्ने आशाका सबै ढोका बन्द गरिदिएको छ । वासिङ्टन डीसीस्थित युएस डिस्ट्रिक्ट कोर्टले बुधबार गरेको निर्णयको पूर्णपाठ शुक्रबार सार्वजनिक गर्दै सम्बन्धित नेपाली चिकित्सकलाई सर्वथा निराश बनाएको हो।

न्यायाधिस क्रिस्टोफर कुपरले सार्वजनिक गरेको ३२ पृष्ठ लामो निर्णयमा युएसएमएलई स्कोर रद्द गर्ने नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरको निर्णय कार्यान्वयनमा रोक लगाउन गरिएका चारवटै अनुरोध अस्विकार गरिएको छ ।

अस्विकार गरिएका अनुरोधमा इमर्जन्सी मोशनको अनरोध, वर्ग प्रमाणीकरणको अनुरोध, स्कोर रद्द भएका परीक्षार्थीलाई नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरको इमेलमा जवाफ दिन म्याद थपको अनुरोध र पुनरावेदन अदालतले मुद्दाको समीक्षा गरुन्जेलका लागि स्कोर रद्द गर्ने निर्णय कार्यान्वयमा रोक लगाउनका लागि गरिएको अनुरोध रहेका छन् ।

२०२३ को आसपासमा युएसएमएलई परीक्षा दिएका ८३२ नेपाली चिकित्सकले परीक्षामा ठगी गरेको अभियोग लगाउँदै उनीहरुको स्कोर रद्द गरिएको र पुन: परीक्षालगायतका विकल्पका छान्न म्याद दिइएका इमेल पठाइएको भनेर २०२३ जनवरी ३१ मा प्रेस स्टेटमेन्ट जारी गरेपछि यो विषय सतहमा आएको थियो ।

यो विषयलाई सहज रूपमा लिने कि मुद्दाको विषय बनाउने भन्नेमा दुई थरि मत आइरहेकै बेला एक चिकित्सक डा. गिरीले फेब्रुअरी १२ वासिङ्टन डीसीस्थित युएस डिस्ट्रिक्ट कोर्टमा मुद्दा दायर गरेकी थिइन् । नेपाली चिकित्सकलाई आफ्नो भनाइ राख्ने मौकासमेत नदिई गरिएको नेपालीविरूद्धको विभेदका रूपमा चित्रण गर्दै मुद्दामा चारवटा अनरोध गरिएका थिए।

अदालतले फेब्रुअरी १२ मै सुनुवाई गर्दै अन्तरिम आदेश नदिए पनि दुबै पक्षलाई आफ्ना लिखित तर्क पेश गर्न एक साताको समय दिएको थियो। निर्धारित समयमा दुबै पक्षले आआफ्ना तर्क पेश गरपछि मंगलबार न्यायाधीश क्रिस्टोफर कुपरले बुधबार ११ बजे दुबै पक्षलाई आफ्ना मौखिक तरेक राख्न उपस्थित हुन आदेश दिएका थिए। बुधबार दुबै पक्षका तर्क सुनेपछि न्यायाधीश कुपरले इमर्जेन्सी मोसनको अनुरोध अस्विकार गर्ने निर्णय सुनाउँदै बाँकि अनुरोधका बारेमा पूर्णपाठमै विस्तृत प्रकाश पार्ने सुनाएका थिए ।

पूर्णपाठमा उनले यो मुद्दाकी वादी डा. गिरीले आफ्नो दाबी पुष्टि हुने आधार दिन नसकेको भन्दै उनले पुनरावेदनबाट पनि आफ्नो पक्षमा निर्णय गराउन सक्ने सम्भावना लगभग नभएको उल्लेख छ । नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले युएसएमएलई स्कोर रद्द गर्नुपर्ने तथ्य र तर्क स्थापित गरेको उल्लख गर्दै यसलाई एक सुनियोजित ठगीका रूपमा हेर्न सकिने उल्लेख छ।  यस्तो कारबाहीमा नेपाली मात्र नपरी जोर्डनी र पाकिस्तानी पनि परेको प्रमाण नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले प्रस्तुत गरेकाले यसबाट नेपालीलाई मात्रै विभेद गरिएको दाबी स्थापित हुन नसक्ने पनि निर्णयको पूर्णपाठमा उल्लेख छ ।

वासिङ्टन डीसीस्थित युएस डिस्ट्रिक्ट कोर्टको यो निर्णयसँगै यो च्याप्टर लगभग बन्द भयो भने पनि हुन्छ ।  केही अनुरोधका आधारमा पुनरावेदन गर्न सकिए पनि ती आधार पार लगाउन सकिने खालका छैनन् । संसारकै महंगो न्याय रहेको अमेरिकामा यो मुद्दालाई अगाडि बढाउने आर्थिक हैसियत पनि निर्णयबाट प्रभावित नेपाली चिकित्सकमा छैन । अमेरिकी सपना चकनाचुर भएर बज्रपात भएका नेपाली चिकित्सक यो ट्रमाबाट सहजै बाहिर आउन सक्ने अवस्था छैन।

रद्द भएकै युएसएमएलई स्कोरको आधारमा थुप्रै संख्यामा नेपाली चिकित्सकले अमेरिकामा विभिन्न चरण पार गर्दै रेसिडेन्सी सुरू गरिसकेका छन्। यो स्थितिमा आइपुग्न ४०-५० लाख खर्च गरिसकेका त्यस्ता नेपाली चिकित्सकहरूसामु अबको ६० दिन भित्र अर्को भिसा स्टाटस बदल्ने वा नेपाल फर्कने विकल्प बाँकि  रहन्छ। भिसा स्टाटस परिवर्तन आफैंमा सहज नहुँदा उनीहरू नेपालबाटै ल्याएको लगेज बोकेर नेपाल फर्कनुपर्ने विकल्प लिन बाध्य हुन्छन् ।

यो स्थिति भनेको सर्वथा युद्ध हारेको सिपाहीको जस्तो अवस्था हो ।  पैसा, उत्साह, उमंग, सपना सबै सकिएर रित्तिएको अवस्थामा उनीहरू नेपाल फर्कनुपर्ने हुन्छ। नेपाली समाज यसै पनि स्याडिस्ट छ। यस्तो समाजमा अहिले नै उनीहरू आफ्नो नाम बताउन सकिरहेका छैनन् भने चिटिङ गरेर युएसएमएलई पास गरेको एक ठगका रूमा कलंकको टीका पनि उनीहरूको निधारमा रहिरहने छ।

अर्कोतिर यी ८३२ कै कारण अमेरिका नेपाली चिकित्सकहरूको लागि बन्द हुने भयो भनेर बाँकिले लाञ्छित पनि गर्छन् । अहिले नै पनि केही चिकित्सकहरू यिनीहरूले गर्दा अमेरिकामा नेपाली चिकित्सक र नेपालकै प्रतिष्ठा बर्बाद भयो भनेर सरापिरहेका छन् ।

जे होस्, यी ८३२ का लागि यो युएसएमएलई स्कोर रद्द प्रकरण एक किसिमको कहिलै खाटा नबस्ने घाउजस्तै भएको छ। तर, सत्य के हो भने समयक्रममा हरेक खाटा भरिन्छ नै । किनकि समयले सबै घाउको ओखति हो ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?