शनिबार, १६ नोभेम्बर २०२४

अमेरिकामा आज न्यु ह्याम्पसायर प्राइमरी: कस्को पल्ला भारी?

बिएल संवाददाता

बिएल संवाददाता

वासिङ्टन डीसी

News Image
• • •

अमेरिकाको उत्तर-पूर्वस्थित सानो राज्य न्यु ह्याम्पसायरमा आज मंगलबार प्राइमरी चुनाव सुरू हुँदैछ। यसको सुरूवात राज्यको उतरमा रहेको एउटा सानो गाउँ डिक्सभिल नचबाट सोमबार मध्यराति ढलेर मंगलबार सुरू हुने बित्तिकै सुरू हुने छ। जहाँ मात्र ६ जना मतदाता छन्, चारजना रिपब्लकिन, दुईजना इन्डिपेन्डेन्ट। उनीहरूले मतदान गरेलगत्तै त्यहाँको परिणाम पनि घोषणा भैहाल्छ। यस अर्थका अबको केही घण्टामै न्यु ह्याम्पसायर प्राइमरी सुरू हुदैछ।

ग्रेनाइट राज्य भनिने न्यु ह्याम्पसायरमा हुने प्राइमरी रिपब्लिकन पार्टीका लागि आइवा ककसपछिको दोस्रो चुनाव हो भने डेमोक्रेटिक पार्टीका लागि यो नै पहिलो चुनाव हो ।

न्यु ह्याम्पसायर प्राइमरीमा पहिलोपटक रिपब्लिकन पार्टीको राष्ट्रपति उम्मेद्वारी जित्न पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प र साउथ क्यारोलाइनाकी पूर्वगभर्नर निक्की हेली आम्नेसाम्ने हुँदैछन् । उता, डेमोक्रेटिक पार्टीको प्राइमरीमा भने २१ उम्मेद्वारको नाम भए पनि वर्तमान राष्ट्रपति जो बाइडनकै नाम मतपत्रमा नभएको अनौठो स्थिति छ । उनलाई मतदान गर्न चाहनेका लागि उनका समर्थकले उनको नाम नै लेख्नुपर्ने 'राइट-इन-क्याम्पेन' सञ्चालन गरेका छन्। 

न्युह्याम्पसायको डेमोक्रेटिक मतपत्रमा धेरैको नाम भए पनि देशभरि भने बाइडेनका अतिरिक्त मिनेसोटाका कंग्रेसमेन डिन फिलिप्स र क्यालिफोर्नियाकी लेखिका मारियम विलमसमको मात्र नाम हुनेछ ।उनीहरूले भने उम्मेद्वारी घोषणा गरेरै चुनावी क्याम्पेन चलाइरहेका छन् ।

तर, बाइडेनको दोस्रो कार्यकालको उम्मेद्वारी सामु उनीहरूको उम्मेद्वारी एक किसिमको औपचारिकताभन्दा बढी केही हुने देखिदैन। उमेरले ८२ पुगेका बाइडन नै डेमोक्रेटिक उम्मेद्वार हुने सुनिश्चित छ ।

न्युह्याम्पसायर प्राइमरी डेमोक्रेटिकका लागि खासै केही नभए पनि रिपब्लिकन पार्टीका लागि भने थोरै भए पनि अर्थ राख्ने देखिन्छ। यहाँ पहिलो पटक दुई रिपब्लिकन उम्मेद्वारबीच सिधा टक्कर हुदैछ । 

पछिल्लो स्थिति हेर्दा यहाँ पनि ट्रम्पले नै चुनाव जित्ने लगभग निश्चित छ। न्युह्याम्पसायर चुनावकै सम्मुखमा तीन प्रभाववशाली रिपब्लिकन उम्मेदवार आकांक्षी रन डिस्यान्टस, विवेक रामास्वामी र टिम स्कटले ट्रम्पको समर्थन गर्दै उम्मेद्वारी त्यागेका छन्। अर्का प्रभावशाली उम्मेदवार आकांक्षी क्रिश क्रिस्टीले उम्मेद्वारी त्यागे पनि उनले कसैको पक्ष लिएका छैनन् । यद्यपि, उम्मेदवार आकांक्षीमध्ये ट्रम्पका एक मात्र कडा आलोचक क्रिस्टीको नैतिक समर्थन हेलीको पक्षमा हुन सक्छ । तर, त्यसले खासै  महत्व राख्दैन। 

उता, ट्रम्पलाई समर्थनको ओइरो लागिरहेको बेला निक्की हेली भने एक्लो वृहस्पति भएर ट्रम्पविरूद्ध मोर्चा कसिरहेकै छिन्। उनको समर्थन बढिरहे पनि ट्रम्पलाई समर्थन गर्दै उम्मेद्वारी त्याग्ने उम्मेदवार आकांक्षीका समर्थकको ठूलो मतका कारण हेली अरू पछि परेकी छिन्। केही समयअधिका मत सर्भेक्षणहरूले ट्रम्पकै हाराहारीमा रहेकी उनी पछिल्ला मत सर्भेक्षणहरूमा दुई अंकको संख्यामा पछि परेकी छिन्।

राजनीतिक पण्डितहरू उनी ट्रम्पको कति नजिक रहेर दोस्रो स्थानमा आउँछिन् भन्ने मात्रै न्युह्याम्पसायर रिपब्लिकन प्राइमरीको चुनावी प्रश्न भएको बताइरहेका छन्। यो परिणामपछि उनको आफ्नै गृहराज्य साउथ क्यारोलाइनामा प्राइमरी छ। त्यहाँको जनमतलाई न्युह्याम्पसायरको चुनावी परिणामले प्रभाव पार्ने बताइन्छ।

तर, न्युह्याम्पसायरमा राम्रो गर्न सकिनन् भने उनलाई चुनावी क्याम्पेन त्याग्न दबाब बढ्ने छ । अहिले नै सबै उम्मेद्वारले ट्रम्पसामु घुँडा टेकेर उनीमाथि प्रचण्ड दबाब बढाइसकेका छन्। ट्रम्पले निक्कीले नजित्ने भएकाले जतिसक्दै छिटो क्याम्पेन त्यागेर नोभेम्बर ५ मा हुने आमनिर्वाचनमा जो बाइडनविरूद्ध चुनावी क्याम्पेनलाई एकीकृत गर्न सघाउनुपर्छ ।

पछिल्लो अवस्था हेर्दा हेलीले  न्युह्याम्पसायरमा प्राइमरीमा उत्साहजनक नै परिणाम ल्याउनेछिन् र कम्तिमा पनि आफ्नो गृहराज्य साउथ क्यारोलाइनासम्म प्राइमरीलाई तन्काउने छिन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?