शनिबार, १६ नोभेम्बर २०२४

अमेरिकाको न्युयोर्क एसेम्बेलीमा सराहना श्रेष्ठको उम्मेद्वारी

बिएल संवाददाता

बिएल संवाददाता

न्युयोर्क

News Image
• • •

अमेरिकामा आगामी नोभेम्बर ५ मा हुने आमनिर्वाचनमा न्युयोर्क राज्यको डिस्ट्रिक्ट १०३ की वर्तमान विधायक सराहना श्रेष्ठले दोस्रो कार्यकालका लागि उम्मेद्वारी दिएकी छिन् । यसअघि २०२२ मा भएको निरर्वाचनमा विजयी भएर उनले अमेरिकामा पहिलो नेपाली मुलकी महिला विधायकको कीर्तिमान बनाएकी थिइन् ।

अहिले अमेरिकामा दुई राज्यमा नेपाली मूलका एक एक राज्य विधायक छन् । मेरिल्याण्डको डिस्ट्रिक्ट ८ बाट डा. ह्यारी भण्डारी दोस्रो कार्यकालमा छन् भने न्युयोर्कको डिस्ट्रिक्ट १०३ बाट सराहना श्रेष्ठ पहिलो कार्यकालमा  । सन् २०२२ मा निर्वाचित यी दुईमध्ये न्युयोर्क राज्यमा दुईवर्षे कार्यकाल रहने भएकाले सराहना श्रेष्ठ यस वर्ष दोस्रो कार्यकालका लागि उम्मेद्वार-आकांक्षी हुनु परेको हो। तर, मेरिल्याण्ड राज्यमा चारवर्षे कार्यकाल भएकाले डा. भण्डारीले अर्को कार्यकालको चुनाव २०२६ मा मात्र सामना गर्नुपर्ने छ। 

कस्तो छ सराहनाको स्थिति ?

सराहना श्रेष्ठ डेमोक्रेटिक बहुल न्युयोर्क राज्यको डिस्ट्रिक्ट १०३ को प्रतिनिधित्व गर्छिन् । पार्टीमा प्रगतिशील धारको प्रतिनिधित्व गर्ने उनले यसअघि तीन दशकभन्दा लामो समयसम्म विधायक रहेका आफ्नै पार्टीका मध्यमार्गी धारका विधायक केभिन चाहिललाई प्राइमरीमा पराजित गरी राजनीतिमा डेब्यु गरेकी थिइन् । श्रेष्ठले ७,९०७ मत प्राप्त गरेकी थिइन् भने चाहिलले ७३६९ मत प्राप्त गरेका थिए ।

यसरी डेमोक्रेटिक प्राइमरीमा विजयी भएकी श्रेष्ठले आमचुनावमा रिपलिकन पार्टीका प्याट्रिक सिहानलाई ठूलो मतान्तरले पराजित गरिन् । श्रेष्ठले ३६,६०५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सिहानले २३,५५४ मत मात्र प्राप्त गरेका थिए ।

यस वर्षको चुनावमा श्रेष्ठलाई डेमोक्रेटिक प्राइमरीमा अन्य उम्मेद्वारले चुनौति दिएका छैनन् । त्यसैले उनी डेमोक्रेटिक पार्टीको उम्मेद्वार हुने निश्चित छ। उता, रिपब्लिकन पार्टीको प्राइमरीमा पनि यसअधिका उम्मेद्वार सिहान नै निर्बिरोध देखिएका छन् । यसैले फेरि पनि यी दुबै उम्मेद्वार नै नोभेम्बर ५ मा हुने आमचुनावमा आम्नेसाम्ने हुने देखिन्छ। न्युयोर्क राज्यको प्राइमरी जुन २४ मा हुने भएकाले औपचारिक रूपमा उम्मेद्वार घोषित हुन भने यो प्राइमरीको परिणाम पर्खनु पर्ने हुन्छ ।

न्युयोर्कको डिस्ट्रिक्ट १०३ यसै पनि प्रगतिशील डेमोक्रेट्स बहुल क्षेत्र हो । त्यसमा पनि  सराहनाले पहिलो कार्यकालमा उम्दा काम गरेको बताइन्छ । त्यसैले उनको जीत लगभग सुनिश्चित बताइन्छ ।  

नेपाली मूलकी सराहनाको दोस्रो कार्यकालको जीतले अमेरिकामा नेपाली अरू बढी देखिने र सुनिने भएका छन् । उनको जीतबाट अमेरिकी मूलधारको राजनीतिमा डा. ह्यारी भण्डारीले डेलिगेटका रूपमा दोहोरिएर खोलेको जीतको खाता एकबाट दुई भएको छ । २०१८ मा अमेरिकाकै सबैभन्दा पुरानो संसद मेरिल्याण्डको एनापोलिसमा नेपाली अनुहार देखिएको थियो, नेपाली स्वर सुनिएको थियो । 

को हुन् सराहना श्रेष्ठ ?

सन् २००१ मा अध्ययनका लागि न्युयोर्क आएकी श्रेष्ठ पेशाले ग्राफिक डिजाइनर हुन्। उनी नेपालमा फोटोग्राफी सुरू गर्ने परिवार द्वारिकादास श्रेष्ठ परिवारकी सदस्य हुन्। उनका भाइ कशीस दास श्रेष्ठ एक बहुआयामिक व्यक्तित्व हुन्। उनले नै अमेरिकाबाट चन्द्रप्रकाश शर्माले प्रकाशित पहिलो नेपाली समाचारपत्र नेपाली आवाजको सम्पादन गरेका थिए। यो पङक्तिकार उक्त समाचार पत्रको  नेपाली सम्पादक रहेको थियो ।

सराहनाले नेपालमा लोकतन्त्रका पक्षमा वकालत गर्न एक अनलाइन जर्नल सञ्चालनमा ल्याएकी थिइन्। त्यसैमा प्रकाशित एक राजनीतिक लेखका कारण उनको अनलाइन प्रतिबन्धित भयो। यही घटनापछि एक ग्राफिक डिजाइनर सराहना राजनीतिक बाटोमा धकेलिइन् ।

अमेरिका आएर न्युयोर्कमा रहन थालेपछि उनको त्यो इच्छाले आकार लिन थाल्यो र उनी डेमोक्रेटिक सोसलिष्टहरूको संगतमा पुगिन्। त्यही संगतले डेमोक्रेटिक सोसलिष्टकी सदस्य बनेकी उनी अहिले  डेमोक्रेटिक सोसलिष्टको मिड-हड्सन भ्याली च्याप्टरका लागि अल्स्टर काउन्टी सह-अध्यक्ष रहेकी छिन्।

स्वच्छ, नवीकरणीय, किफायती र पहुचयोग्य विद्युत आपूर्तिको प्रवर्धनका क्षेत्रमा काम गर्ने गठबन्धन पब्लिक पावर न्युयोर्ककी नेता समेत रहेकी श्रेष्ठले न्युयोर्क अल्स्टर र डचेज काउन्टीको प्रतिनिधित्व गर्ने १०३ नम्बर एसेम्ब्ली क्षेत्रबाट डेमोक्रेटिक प्राइमरीमा उम्मेद्वारी दिएकी छिन्।

सराहना ग्रिन न्यु डिल, गुड कज इभिक्सन र न्युयोर्क हेल्थ एक्टजस्ता बामपन्थी मुद्दाहरूकी कट्टर हिमायती हुन्।
 

कस-कसले गरेका छन् सराहनालाई  समर्थन ?

न्युयोर्ककी प्रभावशाली सांसद अलेक्जान्ड्रिया ओकासिओ कोर्टेज (एओसी) ले उनलाई सुरूदेखि नै समर्थन गर्दैआएकी छिन् । एओसी आफै पनि उनको चुनावी क्याम्पेनमा सहभागी भएकी थिइन् । यसैगरी अमेरिकी चर्चित कलाकार तथा अधिकारकर्मी सिन्थिया निक्सनको पनि उनलाई समर्थन रहदैआएको छ। यसपटक पनि उनीहरूले  समर्थन जारी राखेका छन् । यी दुई सेलिब्रेटीहरूको समर्थनले पनि उनको जीतलाई ठोस आधार बनाइ दिएको छ। 

यी दुई इन्डोर्समेन्टले उनको सार्वजनिक व्यक्तित्व अग्लो बनेको छ। र, यसले आम मतदातालाई उनीप्रति विश्वास गर्ने आधार पनि दिएको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?