शनिबार, १६ नोभेम्बर २०२४

ट्रम्प जनवरी ६ बिद्रोहमा संलग्न ठहर, कोलोराडोको मतपत्रबाट ट्रम्पको नाम आउट

बिएल संवाददाता

बिएल संवाददाता

वासिङ्टन डीसी

News Image
• • •

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प सन् २०२१ जनवरी ६ को राज्यविरूद्धको बिद्रोहमा संलग्न रहको ठहर गर्दै  कोलोराडो राज्यको सर्वोच्च अदालतले उम्मेद्वार हुन प्रतिवन्ध लगाएको छ। २०२४ को चुनावमा ट्रम्प राष्ट्रपतिको उम्मेद्वार भए उनको नाम कोलोराडोको मतपत्रमा हुने छैन।  

४-३ को बहुमतबाट भएको फैसलाको पक्षमा चार न्यायाधीश रहे भने प्रधानन्यायाधीशसहित अन्य दुई न्यायाधीश विपक्षमा रहे। 

यो फैसलाले ०२४ को आम निर्वाचनमा ट्रम्प रिपब्लिकन उम्मेद्वार भएमा उनको नाम नै मतपत्रमा नहुने भएकाले उनले यहाँको १० कलेज इलेक्ट्रोल मत गुमाउने छन् । उनले कोलोराडोको मत बिना नै जित्नका लागि आवश्यक २७० कलेज इलेक्ट्रोल मत पुर्याउनुपर्ने हुन्छ ।

अदालतले उनलाई २०२० को आम निर्वाचनको परिणाम उल्टाउन २०२१ जनवरी ६ मा वासिङ्टन डीसीस्थित संसद भवन क्यापिटल हिलमा गरिएको विद्रोहको लागि दोषी ठहर गरेको छ ।

उनलाई संविधानको १४औं संशोधनको खण्ड ३ अनुसार अयोग्य ठहर गरिएको हो। यो खण्डमा पदको सपथ लिएको कुनै पनि व्यक्ति (सिनेटर्स, प्रतिनिधिहरू, र अन्य सार्वजनिक अधिकारीहरू) ले अमेरिकाविरुद्ध "विद्रोह वा विद्रोहमा संलग्न" छन् भने सार्वजनिक पद धारण गर्न निषेध गर्ने प्रावधान छ । यो खण्ड टेकेर भएको फैसलाले ट्रम्प अमेरिकाविरूद्ध विद्रोमा संलग्न भएको पुष्टी हुन्छ।

यो निर्णय जनवरी ४ सम्मका लागि लागु हुने छैन। त्यस दिनसम्म ट्रम्पलाई अमेरिकाको संघीय सर्वोच्च अदालतमा पुनरावेदनमा जाने म्याद दिइएको छ ।

यसैबीच ट्रम्पको चुनावी क्याम्पेनका प्रवक्ताले यो निर्णयलाई भन्दै पुनरावेदनमा लैजाने बताएका छन् । अदालतको निर्णयलाई लिएर ट्रम्प समर्थक दक्षिणपन्थी रिपब्लिकन नेताहरूले तिब्र रोष प्रकट गरेका छन्। केहीले यो निर्णयलाई चुनावी धाँधलीको सुरूवात भनेका छन् भने केहीले अमेरिकी प्रजातन्त्रमाथिको आक्रमण भनेका छन्। 

उता, डेमोक्रेट नेताहरूले भने ट्रम्पलाई उचित सजाय दिएर कोलोराडोको सर्वोच्च अदालतले ढिलै भए पनि अमेरिकी संविधान र प्रजातन्त्रको रक्षा गरेको बताएका छन् । 

अमेरिकाका अन्य राज्यमा पनि ट्रम्पको नाम २०२४ को मतपत्रबाट बाहिर निकाल्ने प्रयास भएका थिए । मिशिगन, मिनसोटा र न्यू ह्याम्पसायरका अदालल ट्रम्पको पक्षमा उभिएका थिए। अहिलेसम्ममा ट्रम्पको विपक्षमा निर्णय दिने  कोलोरोडो पहिलो र एक मात्र राज्य हो । यस्तै मुद्दा अरू पनि थुप्रै राज्यमा अदालती प्रक्रियामा छन् । 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?