चिया र कफिको व्यापार गर्न केन्याको पहिलो विमान स्विट्जरल्यान्डमा, जेनेभामा बस्ने नेपाली भन्छन्, ‘६३ वर्षसम्म हाम्रो सरकारले बजार खोज्न सकेन।’ (भिडियो सहित)

तस्बिरः बिएल

स्विट्जरल्याण्ड र अफ्रिकी मुलुक केन्या एकअर्कासँग व्यापार गर्न सहमत भएपछि केन्याको विमान पहिलोपल्ट स्विस भूमिमा अवतरण गरेको छ।

लामो समयको वार्तापछि स्विट्जरल्यान्ड र केन्या व्यापार गर्न सहमत भएका हुन्। दुई देशबीचको व्यापार सम्झौताले अन्तिम रुप लिएपछि केन्याको राजधानी नैरोबीबाट उडेको विमान आइतबार जेनेभामा अवतरण गर्यो।

यतिबेला केन्याली विमानलाई स्विस सरकारले पानीको फोहरा हानेर स्वागत गरेको थियो। विमानमा दुवै देशका राजदुत र मन्त्री मण्डलका सदस्यहरू सवार थिए।

केन्याको यो ऐतिहासिक उपलब्धीलाई नजिकबाट महसुस गरेका केन्याली नागरिकले जेनेभा विमानस्थलमा आफ्नो विमान अवतरण गर्दा राष्ट्रिय झन्डा फहराएर खुसी व्यक्त गरेका थिए।

स्विट्जरल्यान्डमा लामो समयदेखि केन्यालीमूलका व्यक्ति बसोबास गर्दै आइरहेका छन्।

केन्याका लागि आजको दिन यसकारण पनि महत्वपूर्ण मानिएको छ, सुरक्षाका कारण नेपाल जस्तै थुप्रै युरोपेली राष्ट्रले आफ्नो मुलुकमा केन्याको विमानलाई अवतरणको अनुमति दिएका छैनन्।

नैरोबी स्थित स्विस राजदुत राल्फ हेकनरले पर्यटन, कफि र केन्याको उत्कृष्ट चियालाई स्विस बजारमा पुर्याउने उद्देश्यले लामो कुटनीतिक प्रयासपछि विमान सेवा सुरु गरिएको बताए।

केन्या पनि नेपाल जस्तै विकासशील मुलुक हो। लामो समय बेलायती उपनिवेशमा रहेको केन्यामा भारतीयहरूको उपस्थिति बाक्लो छ। त्यसैले केन्यालीहरू नेपाली र भारतीय झैँ मसला हालेको खाना खान रुचाउँछन्।

केन्याको चिया र कफिलाई स्विट्जरल्यान्डमा बजार व्यवस्थापन गर्ने स्विस सरकारको निर्णय सुनेर यति बेला जेनेभामा रहेका नेपालीहरू पनि उत्साही छन्। उनीहरू नेपाल सरकारले पनि कुटनीतिक तवरबाट नेपालको अर्गानिक चिया, कफि तथा उच्च हिमाली भेगमा पाइने जडिबुटीलाई स्विट्जरल्यान्डमा बजार दिलाउन पहल गर्नुपर्ने आग्रह गर्छन्।

केन्याको विमान स्विट्जरल्यान्डमा अवतरण गरेको ऐतिहासिक घटनाबाट मख्ख परेका गुल्मी रिडीका रुद्र ज्ञावली ब्रेक एन लिंक्ससँग भन्छन्, ‘हाम्रो सरकारले पनि जेनेभाबाट आफ्नै विमानमा काठमाडौं फर्किने वातावरण तयार पारोस् भन्ने हाम्रँे कामना छ।’

जेनेभामा कार्यरत यी युवा भन्छन्, ‘केन्याले आफ्नो चिया र कफिका लागि यति ठूलो पहल गर्न सक्छ भने हामीसँग त अर्गानिक वस्तुहरूको भण्डार नै छ। अझ हिमाली जडिबुटीको विश्वब्यापी माग छ।’

केन्या र स्विट्जरल्यान्डबीच १९६५ मा दौत्यसम्बन्ध स्थापना भएको हो। केन्याभन्दा ९ वर्ष अगाडि नेपाल र स्विट्जरल्यान्डबीच दौत्यसम्बन्ध स्थापित भइसकेको थियो।

नेपाल र स्विट्जरल्यान्डबीच सन् १९५६ मा दौत्यसम्बन्ध गाँसिएको हो।

स्विट्जरल्यान्डसँग दौत्यसम्बन्ध गाँसिएको ६३ वर्ष बितिसक्दा पनि नेपालले स्विट्जरल्यान्डमा बजार खोज्न सकेको छैन।

 

प्रकाशित मिति: : 2019-06-30 16:22:26

प्रतिकृया दिनुहोस्