पछिल्लो समय लोकप्रिय बनेको ‘गलबन्दी च्यातियो’ लोकगीतका गायक प्रकाश सपुतमाथि सोशल मिडियामा भइरहेको अपमानजनक टिप्पणी प्रति नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले गहिरो चासो देखाएका छन्।
उनले सोमबार संसदमा जातीय विभेद फैलाउने दृष्टीकोणले सपुतमाथि एकहोरो भद्धा टिप्पणी भइरहेको जानकारी गराए। उनले यो क्रम नरोकिए सिंगो दलित समुदाय आन्दोलनमा उत्रिने चेतावनी दिए।
सांसद विश्वकर्माले एउटा वर्ग जानीजानी कानुनको बर्खिलाफ हुने गरी सिंगो दलित समुदायलाई लक्षित गरेर अपमानमा उत्रिएको आरोप लगाए। उनले ती तत्वहरूलाई कार्यवाही नगर्ने हो भने आफूहरू आन्दोलनमा उत्रिन बाध्य हुने जानकारी गराए।
प्रतिनिधि सभा बैठकमा समय लिँदै उनले अर्का कलाकार शम्भु राई र उनका मतियारहरू लोकगायक सपुतलाई गाली गर्ने अभियानमा लागेको आरोप लगाए।
उनले भने, ‘राई र उनका मतियार सामाजिक सञ्जालको दुरुपयोग गरी सपुतलाई जातीय भेदभावका दुष्टीले गालीगलौज गर्ने र हतोत्साही बनाउने काममा लागेका छन्। यसले संविधानको बर्खिलाफ गरेको छ। सिंगो दलित समुदायलाई अपमान गरिएको छ। यस्ता व्यक्तिलाई साइबर कानुन अन्तर्गत कार्यवाही हुनुपर्छ।’
सपुतको ‘गलबन्दी च्यातियो’ लोकगीत हिट भएपछि अर्का गायक शम्भु राईले आफ्नो भाका चोरी भएको भन्दै कपीराइटको उजुरी दर्ता गराएका थिए।
यही विषयमा राईका समर्थकहरूले सोशल मिडियामा लगातार सपुतको जातलाई लिएर भत्ता टिप्पणी गरिरहेका छन्।