सदनको बैठकमा आफूले बोल्न नपाएकामा आपत्ति

तस्बिरः बिएल

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले हिजोको सदनको बैठकमा आफूले बोल्न नपाएकामा आपत्ति जनाएका छन्।

उनले भने, ‘मैले विसं २०४८ देखि निरन्तर संसद्मा प्रतिनिधित्व गरेको छु । यस्ता घटना कहिल्यै भएको थिएन।’

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महरासँग समय मागेर उनले मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रजातन्त्र र लोकतन्त्रविरोधी रहेको उल्लेख गर्दै यसले संविधान प्रदत्त वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने बताए।

नेता देउवाले स्वतन्त्र र निष्पक्ष हुने मानवअधिकार आयोगलाई कमजोर पार्न विधेयक आएकामा आपत्ति जनाउँदै मानवअधिकार बिनाको प्रजातन्त्र कसरी सुदृढ हुन्छ ? भन्ने प्रश्न गरे। उनले भने, ‘प्रजातन्त्र र लोकतन्त्रविरोधी विधेयक सरकारले फिर्ता नलिए कडा आन्दोलनमा जान्छौँ।’

राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले समानुपातिक र समावेशी संविधानको आत्मालाई लोकसेवा आयोगको विज्ञापनले उडाएर लगेकामा दुःख लागेको बताए। ‘सत्ता र प्रमुख प्रतिपक्षी दुवैलाई लोकतन्त्र चाहिन्छ । लोकतन्त्रको हत्या नगरौँ’, उनले भने।

प्रकाशित मिति: : 2019-06-19 12:33:01

प्रतिकृया दिनुहोस्