भारतको बिहार राज्यमा अब आमा–बुवाको सेवा नगर्ने सन्तानले जेल सजाय भोग्नु पर्नेछ। बिहार राज्यको मंगलबार बसेको क्याबिनेट बैठकले यो कानुनलाई लागु गर्ने निर्णय गरेपछि अब आमा–बुवालाई हेला गर्ने सन्तानले जेल सजाय भोग्नु पर्ने भएको हो।
मन्त्रि परिषद् बैठकले आमा–बुवाको निवेदनको आधारमा यस्ता सन्तानलाई कार्यवाही गर्ने सिफारिस गरेको थियो।
यस्तै, राज्य सरकारले बृद्ध भत्तालाई सहज गर्ने निर्णय पनि गरेको छ। मन्त्रिस्तरीय निर्णयमा भनिएको छ, उमेर पुगेका कुनै बृद्ध वा बृद्धाले भत्ताका लागि निवेदन दिएको २१ दिन भित्र उनीहरूलाई राज्यले दिएको सुविधा सरकारले दिइसक्नु पर्नेछ।
बिहारमा बृद्ध–बृद्धाका लागि भत्ताको व्यवस्था गरिएपनि सरकारी अधिकारीहरूको रवैयाका कारण सम्बन्धित व्यक्तिहरूले समयमा पैसा नपाउने समस्या थियो।
बिहारका मुख्य सचिव संजय कुमारले बृद्ध भत्ता स्वरुप ६० वर्ष पुगेका व्यक्तिहरूले ४ सय रुपैयाँ र ८० वर्ष पुरा गरेको बृद्ध–बृद्धालाई ५ सय रुपैयाँ मासिक भत्ता दिने निर्णय भएको छ।