भारतीय कृषकका लागि ठूलो घोषणा, प्रत्येकले बर्षमा ६ हजार पाउने

तस्वीरः एजेन्सी

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालमा भारतीय कृषकका लागि ठूलो घोषणा गरेका छन्। उनले शुक्रबार बसेको मन्त्री परिषद्को पहिलो बैठकमा कृषकलाई बार्षिक ६ हजार रुपैयाँ दिने घोषणा गरेका छन्।

यस बाहेक पनि उमेर पुगेका कृषकलाई ‘पेन्सन योजना’ लागु गर्ने घोषणा गरेका छन्। भारतमा पहिले ‘प्रधानमन्त्री कृषक योजना’ अन्तर्गत निम्न आँय र सिमान्तकृत कृषकका लागि मात्र यस्तो योजना लागु थियो।

तर, प्रधानमन्त्रीको नयाँ घोषणापछि देशका १४ करोड ५० लाख कृषकले प्रत्यक्ष लाभ लिन सक्ने बताइएको छ। भारतीय जनता पार्टी (बिजेपी) ले १७ औं लोकसभा निर्वाचनको घोषणा पत्रमा देशभरि रहेका कृषकहरूलाई प्रधानमन्त्री कृषक योजनासँग जोड्ने आश्वासन दिएको थियो।

भाजपाले आफ्नो प्रचण्ड बहुमतपछि पहिलो निर्णय नै कृषकका लागि गरेको हो। यसपालिको निर्वाचनमा भाजपा एक्लैले ३ सय ३ सिट प्राप्त गरेको थियो।

भारतको संसद सत्र १७ जुनदेखि सुरु हुनेछ। ५ जुलाईमा बजेट पेश गर्ने भाजपाले जनाएको छ। कृषी मन्त्री नरेन्द्रसिंह तोमरले प्रधानमन्त्री कृषक सम्मान योजनाअन्तर्गत अब ८७ हजार करोड रुपैयाँ खर्च हुने बताएका छन्। उनले कृषकहरूको आम्दानी ५ वर्षभित्र दुई गुणा बृद्धि गर्ने अभियानअन्तर्गत महत्वकांक्षी योजना लागु गरिएको बताए।

प्रकाशित मिति: : 2019-06-01 08:45:36

प्रतिकृया दिनुहोस्