डुवान र सिचाइँकाे समस्याबारे विनोद चौधरीले गराए सरकारको ध्यानाकर्षण

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले नवलपरासीमा बर्सेनि हुने डुवान र सिचाइँ समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री दीपक खड्कासँग सिंहदरबारस्थित मन्त्रालयमा भेट्दै सांसद चौधरीले पश्चिम नवलपरासीमा बाढी र सिचाइको समस्या समाधान गर्न गुरु योजना बमोजिम काम गर्न सरकारलाई आग्रह गरेका हुन्।

पश्चिम नवलपरासी १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद चौधरीले डुवान र सिँचाइको दीर्घकालसम्मका लागि समाधान गर्न मन्त्री खड्कालाई लिखित पत्र बुझाएका हुन्। नेपाल गण्डक पश्चिम नहर सिँचाई व्यवस्थापन कार्यालयले तयार गरेका दुई वटा डीपीआर कार्यान्वयन गर्नसके स्थायी समाधान हुने सांसद चौधरीको विश्वास छ।

‘दुबै डिपिआर निकै समय र साधान लगाएर तयार तयार पारिएको हुनाले त्यस क्षेत्रमा यि आयोजनाहरुको निकै महत्व छ। त्यस मन्त्रालयसँग सम्बन्धित मन्त्रालय, विभाग, कार्यालय र आयोजनाका प्रतिनिधिहरुको बैठक आयोजना गरी आयोजनाहरुलाई प्राथमिकताका क्रममा कार्यान्वयन गर्ने विधि र चरण पहिल्याउने, सोहीअनुसारको प्राथमिकता र विधि अपनाएर चालु आर्थिक वर्षका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्ने,  त्यसका लागि छुट्टै शीर्षक कायम गरी चालु आर्थिक वर्षभित्रै कार्यान्वयन प्रारम्भ गर्ने व्यवस्था गर्ने र यस क्रममा स्थानीय जनता तथा जनप्रतिनिधिको सहभागिता सुनिश्चित गर्ने,’ सांसद चौधरीले मन्त्री खड्कालाई बुझाएको लिखित ध्यानाकर्षण पत्रमा उल्लेख छ।

नेपाल गण्डक पश्चिम नहर सिंचाई प्रणालीलाई किसानको पहुँच वृद्धि गर्न पर्याप्त रकम विनियोजन गरी किसानको खेतसम्म सिंचाई पुर्याउन पनि उनको माग छ। त्यस्तै गण्डक नहरहरुको विभिन्न स्थानहरुको सरसफाईको नियमित मर्मत संहारको व्यवस्था हुनुपर्ने, सुरजपुरा पावर हाउस पूर्ण क्षमतामा संचालन हुने गरी मर्मत संहार हुनुपर्ने, ग्रामीण विद्युतीकरणका पहुँच नपुगेका स्थानहरुको लागि बजेट विनियोजन गरी नियमित मर्मत संहार गरी नियमित सेवा प्रदान गर्ने व्यवस्था हुनुपर्नेमा सांसद चौधरीले जोड दिएका छन्। यस्तै उनले विगत वर्षहरुमा नारायणी नदीले क्षति पुर्याएका स्थानहरुमा गण्डक सम्झौता बमोजिमको क्षतिपुर्ति दिलाउन भारतीय पक्षसँग समन्वय गर्न सरकारसँग माग गरेका छन्।

हालै आएको बाढीले नारायणी नदीमा रहेको करिब दुई सय मिटर तटबन्धन बगाई सुस्ता गाउँपालिका वडा नं.५ सुस्ता पारी थारू टोलमा करिव २०० घर डुवान भएको जानकारी गराउँदै सांसद चौधरीले भने, ‘बगाएको तटबन्धन पुननिर्माण अबिलम्ब सुरु गर्नुपर्छ। तर करिब २.५ किलोमिटर नयाँ तटबन्धन निर्माण र भएको करिब तीन किलोमिटर तटबन्धनको एक मिटर उच्चई बढाउन सिंचाई विभाग अन्तरगत नारायणी नदी नियन्त्रण आयोजना, भरतपुरमार्फत् कार्यान्वयन गराउनुपर्छ।’

हालै सुस्तालगायतका केही क्षेत्रमा भएको डुवानबाट भएको क्षतिको स्थगलत निरीक्षणका लागि सांसद चौधरी डुवान क्षेत्र पुगेका थिए। उनले हरेक वर्ष हुने डुवानको स्थायी समाधानका लागि सरकारसँग तत्काल पहल गर्ने बताएका थिए।

उर्जामन्त्री खड्काले सांसद चौधरीले उठाएका विषयहरु सम्बोधन गर्न सरकारप्रतिवद्ध रहेको बताए। उनले भने, माननीयज्यूले जति पनि विषय उठाउनुभएको छ, यी सबै अत्यन्तै महत्वपूर्णर संवेदनशील मुद्दाहरु छन्। सरकार यसको कार्यान्वयनका लागि आवश्यक सबै पहल गर्दछ।

सांसद चौधरीकै पहलमा सुस्तापारीका करिव ३५० घरधुरीले एक वर्षका लागि निशुल्क विजुली बत्ती बाल्न पाएका छन्। उनले मन्त्रीलाई आफ्नो माग सम्बोधन गरिदिएकोमा धन्यवादसमेत दिए।

प्रकाशित मिति: : 2024-10-04 16:43:00

प्रतिकृया दिनुहोस्