अघिल्लो हप्ता लगातार ३ दिन (असोज ११ देखि १३ गते)सम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले नेपालमा ठुलो जनधनको क्षति गर्यो।
बाढीपहिरोबाट २३६ जनाको मृत्यु भयो। १६५ जना घाइते भए। अहिले पनि १९ जना हराइरहेका छन्। मानवीय क्षति मात्र होइन, अर्बौँ रुपैयाँको भौतिक क्षति भयो।
विपद् प्राधिकरणले दिएको जानकारीअनुसार ४ हजारभन्दा बढी घरहरू पूर्णरुपमा ध्वस्त भए। ११ वटा हाइड्रोपावर, ४४ वटा पुलहरू भत्किए, देशभरका ठुला राजमार्गहरूलगायत धेरै संरचना ध्वस्त भए।
तीन दिनको भारी वर्षाले नेपालको यस किसिमको संरचना ध्वस्त भएपछि यसमा विभिन्न प्रश्नहरू खडा भएका छन्। संरचना बन्नुअघि नै ठुलो लगानी गरेर अध्ययन र अनुसन्धान गरी बनाइएका संचरना कसरी ध्वस्त हुन पुगे? कमजोरी के–कहाँ भयो? यसबाट हामीले लिएको शिक्षा के? आदि विषयमा त्रिभुवन विश्वविद्यालयका भू-गर्भशास्त्रका सह–प्राध्यापक तथा विपद् विज्ञ रञ्जनकुमार दाहालसँग कुरा गरेका छौँ।
प्रस्तुत छ उनै दाहालसँग बिएल नेपाली सेवाका लागि टोपेन्द्र रोका मगरले गरेको कुराकानीको सम्पादित अंश:
तीन दिनको भारी वर्षापछि मध्ये र पूर्वी नेपालमा निकै क्षति भयो। यसलाई कसरी लिनुभएको छ?
अकस्मात पानी पर्यो। यस किसिमको पानी यसअघि पनि पर्ने गर्थ्यो। तर यस पटकको यो वर्षाले जति पनि हामीले पूर्वाधार निर्माण गरेका छौँ, ती कुनै पनि संरचनाले थेग्न नसक्ने रहेछ भनेर पहिलो कुरा हामीले पाठ सिक्यौँ।
यसमा के हो भने पुलहरू बगाएका छन्, भर्खर–भर्खर बनाएका पुलहरू पनि बगाएका छन्। यसले के देखाउँछ भने यति धेरै अध्ययन गरेर, डिजाइन गरेर बनाएका पुलहरू पनि बगाएका छन्। यसले ठुल्यै शिक्षा दिएको जस्तो मलाई लागेको छ।
अर्को कुरा हामीले बनाएका संरचनाहरू बनाउने परम्परागत चलन थियो, जुन चलन अब मिल्दैन रहेछ भन्ने देखियो।
यो वर्षा र बाढीपहिरो राम्रै सिकाइका रुपमा रह्यो त?
यो सिकाइका रुपमा भन्दा पनि जुन सोचमा हाम्रा पूर्वाधार खडा भएका छन्, त्यो पूर्वाधारहरूको इन्जिनियरिङ हामीले मिलाएर वा भौगोलिक अध्ययन गरेर गरेका रहेनछौँ भन्ने देखियो।
राज्यको अर्बौँ लगानी भएका संरचनाको इन्जिनियरिङ यति कमजोर किन बनाइयो? थाहा हुँदाहुँदै बनाइयो होला कि त थाहा नै थिएन?
यसलाई कमजोरी भन्न मिलेन। हामीले परम्परागत तरिकाले इन्जिनियरिङ गर्यौँ र त्यसैअनुसार बनायौँ। तर फेरि म पहिलेदेखि नै यस पुरानो संरचना अब परिवर्तन गर्नुपर्छ भनेर कराएको कराएकै हो। कति वटा कार्यक्रममा संरचना बनाउने तयारीका भएन भनियो। तर पनि जुन चलन छ, त्यही चलनअनुसार गर्ने भनेर काम गरियो।
यहाँसम्म कि ठुलठुला परियोजनाका पार्टनरहरू हुनुहुन्छ, जहाँ धेरै लगानी गरिएका थिए र ती पनि यस पटकको बाढीपहिरोमा भत्किए। त्यो भनेको भौगोलिक रुपमा अध्ययनमा कमजोरी भयो भन्ने हो।
यसले के देखाउँछ भने हामीले इन्जिनियरिङ भौगोलिक विज्ञानलाई समेट्न सकेनौँ भन्ने देखियो।
के अझै हाम्रा संरचना भत्कन सक्ने अवस्था छन्?
यो तीन दिनको वर्षाले हाम्रो संरचना कस्ता छन् भन्ने त देखाइ हाल्यो। अझै पनि उस्तै इन्जिनियरिङमा बनेका धेरै संरचना यस्तै बाढीपहिरोमा भत्किन सक्ने जोखिम अझै छ।
त्यसैले हामीले संरचना बनाउँदा भौगोलिक अध्ययनदेखि अब नयाँ तरिकाले इन्जिनियरिङ गर्नुपर्ने देखियो।
सडक बनाउने तरिका कस्तो छ?
हाम्रो भू-भाग भनेको यसै पनि पहाडी भू-भाग हो। त्यसमा पनि हाम्रो पहाडलाई पछि बनेको भनिन्छ। त्यसले गर्दा पनि नेपालमा पहिरोबाट धेरै दु:ख हुन्छ।
त्यसैले गर्दा हामी कसरी जोगिने त भन्ने विषयमा ध्यान दिन जरुरी छ। हामीले विशेष रुपमा सडक बनाउँदा ध्यान दिनुपर्ने हुन्छ। अहिले सडक बनाउँदा भुइँ मात्र बलियो बनाउने भन्ने छ। अब त्यो मात्र होइन, सडकको भित्ता पनि बलियो बनाउने अवस्था आयो।
सडक बनाउने प्रकृया नमिलेको हो?
हामीले सडक बनाउने प्रकृयामा गलत गरिरहेका छौँ। भुइँ बलियो बनाउँछ तर सडकको भित्ता काटिएको ठाउँ त्यसै छाडिदिन्छौँ। अनि बोटबिरुवा लगाएर भइहाल्छ भन्छौँ। त्यसरी हुँदैन।
अब त्योभन्दा फरक, नयाँ तरिकाले सडक बनाउनुपर्छ। यो अन्य देशमा गरिएको छ। अब नेपालको सडकमा पनि हुँदैन भन्ने किसिमले नयाँ तरिका अपनाउनुपर्छ।
विपी राजमार्ग ध्वस्त हुनुको कारण भनेको हामीले भित्तालाई काटियो भने राम्रो हुँदैन भनेर खोलालाई ओगटेर सडक बनायौँ। खोलाले आफ्नो बाटो खोज्दै सडक सबै बगाएर लग्यो। जुन एक दिन न, एक दित त बगाउने नै थियो नि।
विपी राजमार्गका सवालमा मैले नै धेरै पटक भनेको छु। जुन तरिकाले हामीले बनाएका छौँ, यसरी बनाउन हुँदैन। खोलालाई ओगटेर सडक बनाउनु भनेको दुख पाउनु हो भनेर पहिले पनि भनिएको कुरा हो।
बाढी दुई–तीन वर्षमा आउने होइन। यो के देखिन्छ भने सामान्यतया २५ देखि ३० वर्षमा यस्ता बाढीपहिरो दोहोरिने गरेको देखिन्छ हाम्रो मध्ये नेपालमा। त्यसैले यसलाई हामीले अलि बुझेर अगाडि बढ्नुपर्ने देखिन्छ। अब माथिल्लो लेवलबाट यो कुरामा ध्यान दिनुपर्छ।
केही त भनि हाल्नुभयो तर अब सडक तथा संरचनाहरू बनाउँदा के-के कुरामा ध्यान दिने?
अब कसरी संरचना बनाउने भन्नेमा ध्यान दिने नै हो। त्यसमा सही तरिकाको अध्ययन हुनुपर्छ। जुन किसिमको अध्ययन गरेर हामीले काम गरेका छौँ, यसले पुग्दैन भन्ने हो। यस अध्ययनले साधारण प्रकारको मात्र अध्ययन भयो।
भौगर्भिक अध्ययन गर्दा चट्टान कस्तो छ, कुन ठाउँमा छ भन्ने कुरालाई मात्र ध्यान दिन्छौँ तर त्यो ठाउँको मुलभूत कुराहरू समस्या के छ, पानी कहाँबाट छिर्छ, कस्तो माटो छ, त्यो माटोमा केके गुणहरू छन्, चट्टानहरू कसरी बसेका छन्, पानीभित्र कहाँबाट छिरेको छ, कहाँबाट निस्किएको छ, सबै कुराहरूको अध्ययन गर्नुपर्छ। यो नै भौगर्भिक अध्ययनको नयाँ पाटो भनेको हो।