क्रसरले खनेको खाल्डोमा डुबेर दुई नाबालक मृत्यु

मोरङको केराबारी गाउँपालिका-८ मा सञ्चालित क्रसरले खनेको खाल्डोमा डुबेर दुई जना नाबालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा केराबारी-८ का तोयानाथ चौलागाईंका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन चौलागाईं छन्।

उनीहरूको बुधबार दिउँसो क्रसले खनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए।

मृत फेला परेका नाबालकका बुवा तोयानाथ त्यही क्रसरमा काम गर्ने गरेका थिए। नाबालकको ज्यान लिएको क्रसर मालिक सोही गाउँपालिकाका पूर्वअध्यक्ष रोहित कार्की हुन्।

नाबालकहरु क्रसरको खाल्डोमा डुबेर बेपत्ता भएको जानकारी प्रहरीले दिउँसो ३:४० बजेतिर पाएको थियो।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको कृष्णबहादुर खत्रीको नेतृत्वमा गएको टोलीले सुरूमा ६ वर्षीय रामचरणको शव खाल्डोबाट निकालेको थियो। पानी जमेको खाल्डोमा घोप्टो परेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको थियो।

खोजी गर्ने क्रममा रामचरणका दाजु १० वर्षीय भूपेनको शवसमेत साँझ फेला परेको कार्कीले बताए।

शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटनाबारे अनुसन्धान सुरू गरिएको एसपी कार्कीले बताए।

स्थानीयका अनुसार क्रसरको कम्पाउण्डबाट केही दिनअघि ‘मिक्स गिट्टी’ निकालिएको थियो। गिट्टी निकाल्दा ४ फिटभन्दा गहिरो खाल्डो बनेको थियो। तर, क्रसरले उक्त खाल्डो नपुरेर त्यतिकै छाडेका कारण नाबालकले अकालमा ज्यान गुमाएको स्थानीय बताउँछन्।

खाल्डोको वरिपरि बालुवा, गिट्टी र मिक्स गिट्टी भण्डारण गरेर राखिएको छ। भण्डारणको बीचमा रहेको खाल्डोमा नाबालकको मृत्यु भएपछि स्थानीय आक्रोसित बनेका छन्। उनीहरूले दोषीमाथि कारबाही हुनुपर्ने, मृतक पक्षलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेका छन्।

प्रकाशित मिति: : 2024-10-04 11:34:00

प्रतिकृया दिनुहोस्