प्रधानमन्त्रीकाे भारत भ्रमण

राष्ट्रिय हितका द्विपक्षीय सहमति कार्यान्वयन हुन्छन् : मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रेमश रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा राष्ट्रिय हितमा द्विपक्षीय सहमति र सम्झौता हुने बताएका छन्।

राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयको अवलोकनपछि आज रासस स्टुडियोमा प्रधानमन्त्री दाहालको बुधबारदेखि हुने भारत भ्रमणबारेमा जानकारी दिँदै उनले भ्रमणका क्रममा आफ्नो नेतृत्वको मन्त्रालयका विषयमा हुने सहमति र सम्झौताबारे बताएका हुन्।

प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलमा सहभागी रहने मन्त्री रिजालले भ्रमणका क्रममा पारवहन सन्धी नवीकरण हुने, दुई देशबीच थप पेट्रोलियम पाइपलाइन विस्तारका विषयमा पनि सहमति हुने जानकारी दिए।

उनले भने,‘सिलिगुडी चारआली पाइपलाइन र टर्मिनल ट्याङ्क बनाउने कार्यक्रम छ। यसैगरी अमलेखगञ्ज लोथर सम्मको पाइपलाइन र स्टोरेज टर्मिनल ट्याङ्क पनि बनाउने विषयमा सहमति हुने कार्यक्रम छ। यो आधा आधा प्रतिशतमा काम गर्ने मोडेलमा छ।’ सुगौली र चारआली क्षेत्रको पेट्रोलियम पाइपलाइनमा भारतले सम्पूर्ण खर्च लगाउने र अमलेखगञ्जदेखि लोथरसम्मको काममा भारतले पाइपलाइन ओछ्याइने दिने तथा टर्मिनल ट्यङ्क नेपालले बनाउने योजना रहेको मन्त्री रिजालले बताए।

यसैगरी भैरहवामा एकीकृत भन्सार चौकीको शिलान्यास गर्ने र नेपालगञ्जमा एकीकृत भन्सार चौकीको दुवै देशका प्रधनमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए। दोधरा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाहलाई अघि बढाउने सन्दर्भमा पनि कुराकानी हुने मन्त्री रिजालको भनाइ थियो। जुट निर्यातमा लगाईएको एन्टिडम्पिङलगायतको विषय र नेचुरल ग्यास ल्याएर नेपालमा रसायनिक मल कारखाना राख्ने विषयमा पनि कुरा हुने उनले बताए।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल बुधबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। भ्रमण दलमा मन्त्री, नेपाल सरकारका उच्च सरकारी अधिकारी, सञ्चारकर्मीलगायतको सहभागिता छ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल गर्ने छन्। भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले नेपाली राजदूतावासमा नेपाली समुदायसँग छलफल गर्ने छन्।

प्रकाशित मिति: : 2023-05-30 20:12:00

प्रतिकृया दिनुहोस्