नेपाली समाज स्वार्थी, परपिडक, लोभी र कायर छ। हामी उस्तै विषय र घटनामा आफूलाई पर्दा एउटा रुपले र अरुलाई पर्दा अर्को रुपले व्यख्या गर्ने गर्छौँ। आफ्नो मान्छे विदेश गएको समयमामा त्यो विदेश जाने मान्छेसँग खिचेको मुस्कानसहितको तस्बिर सामाजिक सञ्जालमा राख्ने तर सबै विदेश गएर ‘नेपाल रित्तो हुने भयो’ भनेर कराउने गर्छौँ। यो दोहाेरो मानसिकता नभएर के हो?
पङ्तिकार कलेज पढ्दाको कुरा हो, आफूलाई ‘पूर्व (धरान)को हुँ’ भन्ने एउटा व्यक्ति बढो सुन्दर लुगा लगाएर आउँथ्यो। उसको सेतो पारदर्शी कमिजको खल्तीमा एकपट्टि पाँच सय र अर्को पट्टिको खल्तीमा हजार रुपैयाँको नोटको बिट्टा हुन्थ्यो। हुन्थ्यो वा हुन्थेन त्यो उसैलाई थाहा होला तर बाहिरबाट त्यस्तै देखिन्थ्यो।
हामी १०-२० रुपैयाँको मुख देख्न पनि महाभारत हुने समयमा त्यति धेरै पैसा बोकेर कलेज आउने मान्छे देखेर जिल्ल परिन्थ्यो। बढो मिजासिलो स्वभाव भएको ऊ हामीलाई भेट्ने बितिकै दिल खोलेर पैसा खर्च गर्थ्यो। एक रुपैयाँ कपको चिया पिउन हम्मे हुने हामीलाई ऊ टयाक्सीमा राखेर पाँच तारे होटलमा लगेर खाजा खुवाउँथ्यो।
करिब ६ महिनाको सङ्गतपछि उसले मसँग चार लाख रुपैयाँ सापट माग्यो। मसँग त्यो बेला त्यति रकम सापट दिन सक्ने हैसियत थिएन। मैले उसलाई दिन सकिनँ। उसले यति मधुर तरिकाले माग्थ्यो कि उसलाई ‘नाई’ भन्न सक्ने सायद नै कोही हुन्थे। उसले पहिले आफूमाथि पैसा खर्च गरेको देखेर पनि मान्छेहरु उसलाई सहजै विश्वास गर्थे।
एकदिन ऊ अचानक गायब भयो। २-३ महिनासम्म त् कसैले उसको बारेमा मुख खोलेन। तर, जब ६-७ महिनासम्म पनि उसले मुख देखाएन त्यसपछि थाहा भयो, उसले को-कोसँग के-केमात्र ठगेको रहेछ भन्ने कुरा।
क्यामरादेखि जुत्तासम्म र ब्याट्म्याण्टिन रयाकेटदेखि झोलासम्म। पैसा को त कुरै नगरौँ, कति हो कति। म भने आफूसँग पैसा नै नभएर जोगिएको थिएँ, होइन भने म पनि फस्थेँ। मैले पैसा दिन नसकेकोमा उसले मेरो बारेमा अरुलाई भन्थ्यो रे, ‘कस्तो गरिब रहेछ, छाला काट्दा पनि सुको नझर्ने’। अब पाठकहरुले नै भन्नुहाेस् कि म पैसा नहुने गलत कि अरुलाई ठग्न खोज्ने ऊ गलत?
ज्यान मार्ने उद्योग र लागु पदार्थको अबैध ओसारपसारजस्ता जघन्य अपराधदेखि गुन्डागर्दीजस्ता अपराधमा पटक-पटक प्रहरीको फन्दामा परेर अनेकौंपटक जेल सजाय पाएको एउटा व्यक्तिको फेसबुक पेजमा यो आलेख तयार पार्ने बेलासम्म ८५ हजारभन्दा बढी व्यक्तिहरुले लाइक गरिसकेका छन। मेरो विचारमा यी सबै लाइक गर्ने व्यक्तिहरु उक्त अपराधीको काम र जीवनशैलीसँग प्रभावित भएका व्यक्तिहरु हुन्। अब आफैँ सोच्नुस् हाम्रो समाज कुन दिशातिर लम्किरहेको छ?
समाज विरोधी क्रियाकलापमा संलग्न हुने त्यस्तो व्यक्तिलाई समाजले बहिष्कार गर्नुपर्नेमा उसलाई बढावा दिने काम गर्नु भनेको उल्टो चाला होइन? अमेरिका लगायतको देशमा त्यस्तो क्रियाकलाप गर्ने व्यक्तिलाई कानुनले यसरी बाँधेर राखेको हुन्छ कि उसले आफ्नो इच्छाले कतै जान वा आउन पाउँदैन। हाम्रो देशमा भने जसले बढी गैरकानूनी कार्य गर्छ वा नियम कानुन तोड्छ त्यो व्यक्ति नै ‘हिरो’ साबित हुन्छ।
मेरो छिमेकमा एउटी महिला थिइन्, जसको अहिले मृत्यु भइसकेको छ। उनको काम भनेको दिनभरि घर घरमा पस्ने र भएका कुरालाई बढाएर र हुँदै नभएका कुरालाई ठ्याक्कै हो जस्तो गरेर एउटालाई अर्कोसँग लडाउने उनको दिनचर्या थियो।
टोलभरिका छोरी-बुहारीहरुको काल्पनिक प्रेम प्रसङ्ग र उनीहरुको अनैतिक सम्बन्ध को-कोसँग छ, त्यो सबै रेकर्ड उनीसँग हुन्थ्यो। यसरी व्यक्तिको चरित्र हत्या गरेर अरुलाई नि:शुल्क तथा घटिया मनोरञ्जन गर्ने व्यक्तिलाई कुन रुपमा हेर्नुपर्ला, त्यो बौद्धिक पाठक बर्गकै जिम्मामा छोड्न चाहन्छु।
उनको अर्को ठुलो प्रतिभा भनेको कसैको छोरा वा छोरीको विवाहको कुरा चल्यो भने सम्बन्धित स्थानमा गएर त्यो अगाडि बढ्न लागेको कुरालाई भाड्नु हुन्थ्यो। अब यस्तो बानी कुनै मानसिक रोग होलाजस्तो मेरो बुझाइ छ।
पङ्तिकारको एउटा परिचित व्यक्ति जापान गएको थियो। जापानमा हड्डी घोटेर कमाएको पैसा ऊ आफ्नो दाइलाई पठाउँथ्यो। गैरकानूनी रुपमा बसेको उसलाई प्रहरीले पक्राउ गरेर नेपाल फर्काइदियो। करिब १२ वर्षपछि नेपाल फर्केर दाइसँग पैसाको हिसाब-किताब सोध्दा ‘त्यो पैसा सबै मैले व्यापारमा लगाएको थिएँ, ब्यापार पनि डुब्यो र त्यो पैसा पनि डुब्यो’ भनेर एक पैसा पनि फिर्ता दिएन।
त्यस्तै अर्को प्रसङ्ग, आफ्नो घरपट्टीको लाखौँ रुपैयाँ ठगेर नेपाली सिनेमाको नायक र निर्माता भएका एक व्यक्ति ठुला-ठुला कुरा गरेर आजकाल पत्रपत्रिका र टेलिभिजन च्यानलहरुमा अन्तर्वार्ता दिइरहेका हुन्छन। भारतीय सेनामा कार्यरत सैनिकको मृत्यु भएपछि त्यही सैनिककी निरक्षर श्रीमती (घरपट्टी)लाई झुक्काएर सबै पैसा हडप्ने उक्त सिनेमा नायकको घरपट्टिको अवस्था अहिले खाए भोलि के खाउँ भन्ने छ।
मलाई अनौठो लागेको के भने यो दुवै प्रसङ्गमा कसैले पनि पीडितको पक्ष लिएन। ‘ठिक्क भयो बढाे फुर्ती गर्थ्यो अहिले देख्यो’ भन्ने शैलीमा सबै पीडककै पछाडि लागेका छन। मेरो विचारमा त यसको ठिक उल्टो हुनु पर्थ्यो र सामाजिक दबाब दिएर पनि पीडितलाई न्याय दिन सहयोग गर्नु पर्थ्यो।
यी माथि उल्लेखित प्रतिनिधि घटनाहरुलाई लिएर मैले हामी परपीडक, लोभी र कायर भनेको हुँ, यसमा म पनि कुनै अपवाद होइन। किनकि, म पनि यसै समाजको सदस्य हुँ र कतै न कतै म पनि यी प्रसङ्गहरुमा जोडिएको छु, भलै अप्रत्यक्ष रुपमै किन नहोस्।
यो आलेख पढेपछि केही व्यक्तिहरुले मलाई नकारात्मक सोचले लेखेको पनि भन्ने छन र सबै उस्तै हुँदैन भन्ने छन। यो कुरा सहि हो कि यी प्रसङ्गहरुले हाम्रो समाजको शतप्रतिशत प्रतिनिधित्व गर्दैन र यो संसारमा कुनै पनि कुरा शतप्रतिशत सहि वा गलत हुँदैन। प्रबुद्ध-पाठकहरुको स्वच्छ आलोचनालाई सधैंको जस्तो आत्मसात गर्दै विरोधको निम्ती विरोध गर्ने मानसिक रोगीहरुको लागि यो आलेख तयार गरेको होइन भन्ने जानकारी गराउँन चाहन्छु।