कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, महासमिति बैठकबारे छलफल हुने

File Photo
File Photo

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमितिको बैठकको तयारीबारे छलफल गर्न बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिए।

बैठकमा आगामी महासमिति बैठकका विषयमा केन्द्रित रहेर छलफल हुने मुख्यसचिव पौडेलले बताए। कांग्रेसले बुधबार मात्र पत्रकार सम्मेलन गरेर महासमितिको बैठकको तयारीका बारेमा जानकारी गराएको थियो।

पार्टीको महासमितिको बैठकमा पार्टीका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव महासमिति बैठकमा पेश गर्न लागिएको जनाइएको छ।

पार्टीका महामन्त्री गगनकुमार थापाले साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसाययिक राजनीतिक परिस्थितीको बारेमा प्रतिवेदन पेश गर्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

कांग्रेसले आजको बैठकमा उपस्थित हुनका लागि पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई अनुरोधसमेत गरेको छ। 

प्रकाशित मिति: : 2024-02-15 10:44:00

प्रतिकृया दिनुहोस्