सङ्घीयता खारेज गर्न एउटा पक्ष लागिरहेको छ: उपेन्द्र यादव

File Photo
File Photo

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र समावेशी खारेज गर्न एउटा पक्ष लागिरहेको आरोप लगाएका छन्।

दिपावली तथा छठ पर्वका अवसरमा बाराको तेलकुवा महादेव मन्दिरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सङ्घीयता र समावेशी खारेज भए लोकतन्त्र खतरामा पर्ने बताए।

‘सङ्घीयता कार्यान्वयन गर्नका लागि पुलिस, कर्मचारी प्रशासन, आर्थिक स्रोत प्रदेशलाई हस्तान्तरण गरोस्, प्रदेशलाई अधिकार सम्पन्न गर्न कानुन बनाइयोस्’, अध्यक्ष यादवले भने।

यादवले ५३ प्रतिशत जनसङ्ख्या भएको मधेस प्रदेशलाई सङ्घीय सरकारले जम्मा १२ प्रतिशतमात्रै बजेट विनियोजन गरेको भन्दै यहाँको विकास हुन कति वर्ष लाग्ला भनेर सोच्नुपर्ने गम्भीर विषय उब्जेको बताए।

‘हामीलाई अधिकार, सुशासन, प्रशासन आफ्नो चाहियो, सङ्घीय सरकारले पठाएका प्रशासन हामीलाई चाहिँदैन, सङ्घीयताको अर्थ केन्द्रमा साझेदारी, प्रदेशमा आफ्नो शासन, प्रशासन हो, तबमात्र अधिकार सुरक्षित हुन्छ’, जसपा अध्यक्ष यादवले भने।

उनले जथाभावी चुरे उत्खनन गर्दा त्यसको प्रत्यक्ष असर मधेस प्रदेशमा परेको बताउँदै चुरे क्षेत्रमा दोहन गरेर मधेसलाई मरुभूमि बनाउने कुनै निर्णय भए मधेसका जनतालाई पाच्य नहुने बताए।

फरक प्रसङ्गमा अध्यक्ष यादवले वीरगञ्ज चिनी कारखाना, कृषिऔजार कारखाना, विराटनगर जुटमिल, हेटौँडा कपडा कारखाना, बाँसबारी जुत्ता, हटौँडा सिमेन्ट कारखाना चाँडोभन्दा चाँडो सञ्चालन गर्न सरकारसँग मागसमेत गरे।

प्रकाशित मिति: : 2023-11-06 14:11:00

प्रतिकृया दिनुहोस्