माओवादीले काठमाडौँमा जनता उतार्दै

File Photo
File Photo

नेकपा माओवादी केन्द्रले काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ। ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सकिएपछि माओवादीले जनप्रदर्शन गर्ने भएको हो।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रीय पादाधिकारी बैठकले पुस १५ गते रुपान्तरण अभियान सकिएपछि जनप्रदर्शन गर्ने निर्णय गरेको माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले जानकारी दिए।

यस्तै बैठकले रुपान्तरण अभियानको समयावधि एक महिना थप गर्ने निर्णय गरेको छ। यसअघि अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन भनिएको थियो। अभियान नसकिएको भन्दै एक महिना समय थप गरेर पुस १५ सम्म पुर्याइएको शर्माले बताए।

बैठकले संयुक्त राष्ट्रसङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटरेसकाे चारदिने भ्रमणको समीक्षा गरेको छ। साथै १७ गते कतारी राजा शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमण, समसामयिक राजनीतिक घटनाक्रमको बारेमा बैठकमा समीक्षा भएको छ।

यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार भएको भेटका बारेमा पनि समीक्षा भएको सचिव शर्माले बताए। भेटकाबारेमा प्रचण्डले जानकारी गराएका थिए।

भेटमा ओलीले प्रतिगामी शक्तिहरुको अराजकता रोक्न आग्रह गरेका थिए। प्रचण्डले गणतन्त्रवादी शक्तिहरु एक भएर प्रतिगामीका विरुद्धमा लाग्नुपर्ने बताएका थिए।

प्रकाशित मिति: : 2023-10-29 12:21:00

प्रतिकृया दिनुहोस्