(प्रिय पाठक, तपाईले यो सामाग्री पढ्नुपूर्व म तपाईलाई नेपालको मध्यपश्चिम जिल्ला रोल्पा पुर्याउँन चाहन्छु। जहाँ, पंक्तिकारको घर हो।)
गाउँपालिकाको नाम सुर्वणावती थियो, पहिले। स्थानीय तहको संरचना विस्तारै लागू हुँदै थियो। गाउँपालिकाको नाम सुवर्णावती राखिएको केही महिनामै स्थानीय वडाभित्रै नामको विषयलाई लिएर विवाद सुरु हुन थाल्यो।
त्यसो त, माओवादी द्वन्द्धताका पाँचौ डिभिजन कमाण्डर तथा सहिद किमबहादुर थापा (क. सुनिल) को घर पनि यही गाउँपालिकामै पर्छ, गजुलमा। यसै कारणलाई आधार मानेर गाउँपालिकाको नाम नै सुवर्णावतीबाट सुनिलस्मिृति गाउँपालिका रहन गयो। गाउँपालिकाको नाम किटान गर्न गरिएका विभिन्न विद्रोह र पुरक द्वन्द्धहरु प्रशस्त छन्। खैर, म तपाईहरुलाई नामकै लागि गरिएको कूरुप इतिहास सुनाउँन चाहन्नँ।
(केही दिनमा उनै सहिद सुनिलको घरको आँगनसम्म पुगेको ब्लग र स्टोरी लिएर यो पंक्तिकार फेरि उपस्थित हुने नै छ।)
प्रिय पाठक, म चाहन्छु कि यो सामाग्रीबाट तपाईलाई एउटा अनौठो र रोचक जानकारी प्राप्त होस्ः
चिहान बगाएको पहिरो
सुनिलस्मिृति गाउँपालिकाको वडा नं. ६ स्थित गजुलमा एउटा पहिरो छ, बाक्दुला पहिरो। यहाँका स्थानीयहरु बाक्दुलासँग परिचित नै छन्। बाक्दुलाको साँघुरो बाटोमा गोठालाहरु कुद्न खूब सिपालु छन्। सामान्य मानिसको आँखा डराउँछन्। हतासिन्छन्। आत्तिन्छन्। तर यहाँका गोठालाहरुको त पैतला पनि सजिलै चल्छन् चिप्लने बाटोमा पनि।
बाक्दुलाको इतिहास भने आजको होइन, करिब २१ वर्षअघि गएको पहिरो हो, यो।
त्यतिबेला गाउँमा केही घरहरु मात्र थिए। बाक्दुलाको बाटो प्रयोग गर्ने भनेकै आसपासका गाउँहरु सिम्लेनी, रिजा, पानीपोखराका स्थानीयहरु थिए। तर भयो के भने करिब...सालमा बाक्दुलामा अनपेक्षित तरिकाले पहिरो गयो, डरलाग्दो। पहिराले कुनै मानवीय क्षति नगरे पनि अन्नबालीको भने राम्रै क्षति गर्यो।
पहिरो पनि ठीक त्यस्तो ठाउँमा गयो, जहाँ मानिस मरेपछि शवलाई गाडिदै आइएको थियो। अर्थात, चिहान पनि पहिरोमै बग्यो। सुरुको पहिरोले चिहानको आधा भाग बगाइसकेको थियो। त्यसपछि केही वर्षयता लगातार वर्खाको समयमा पहिरो गइरह्यो र बाँकी रहेको चिहान पनि बगायो। त्यसो त, पहिरोमा अहिले पनि माटो खसिरहन्छ। तर बगाउँनलाई अब कुनै चिहान बाँकी छैन।
त्यतिबेला गाउँमा घरहरु हिजोआजको जस्तो बाक्लै थिएनन्, माथि टाकुरादेखि तल अवल्धारासम्मा जोड्ने हो भने त्यै लगभग २०, २२ घर मात्र थियो, स्थानीय परम थापाले सुनाए, त्यतिबेला कोही मर्योभने बाक्दुलामै लगेर गाड्ने चलन थियो। तर, पहिरोले मसानघाट नै बगायो।
त्यसपछि उनीहरुले कंकाल र सुन भेटाए।
बाक्दुलामा पहिरो खसेपछि केही समय उक्त बाटो बन्दजस्तै भयो। गाउँलेहरुले वैकल्पिक बाटो प्रयोग गर्न थालेका थिए। तर सधैँ वैकल्पिक बाटो नै प्रयोग गरिरहँन पनि असम्भव नै बन्यो। र त्यसपछि फेरि बाक्दुला पहिरोबाटै यात्रा गनुपर्ने भयो।
गाउँलेहरुले मिलेर पहिरोको बीचबाटै दुई पैतला अट्ने साँघुरो बाटो बनाए। वास्तवमा गाई, भैसीँ, भेडाबाख्राको लागि घाँसपात वा मेलापात जानको लागि पनि उक्त बाटो आवश्यक नै थियो। उक्त बाटो बनाउँदा त्यतिबेला गाउँलेहरुले पहिरोमा विभिन्न कंकाल र शवसँमगै गाडिएका सुनहरु पनि भेटे।
पहिरोको बीचबाट बाटो बनाउँदा गाउँलेहरुले कोदालो दिएर त्यहाँ पुगे। बाटो खन्दा पहिरोले बगाएको चिहानका कंकाल र खप्परहरु भेटिए, स्थानीय सुकलाल (६४)ले भने, त्यतिबेला शवसँगै गाडिएका केही गहनाहरु पनि भेटिए।
बाक्दुलाको अर्को रोचक कुरा के छ भने, यहाँ एउटा बडेमानको ढुंगा छ। त्यो पनि करिब घरभन्दा ठूलो। तर यति ठूलो ढुंगा पहिरोको बीचैमा गएर, त्यो पनि अझै एउटा छेउमा कुनै शालिकझैँ उभिनू अचम्म लाग्दो छ।
तपाईहरुले तस्वीरमा देखेको ढुंगा पहरा भनेर आजभन्दा करिब तीस वर्षपहिले उभिएको हो। बाक्दुलाकको फेदी गाउँ भनेको अवल्धारा हो। यदि कुनै दिन त्यो ढुंगा खसिहालेमा वा झरिहालेमा भने गाउँलाई केही क्षति त गर्छ नै। यसकारण पनि बाक्दुलासँग भने सधैँ त्रसित अवस्थामै बाँच्नु परेको अवल्धाराकै स्थानीय उज्वल थापाले बताए।
थापाको घर सबैभन्दा फेदीमा छ। कहिलेकाहीँ बाक्दुलाको ठूलो ढुंगा खसिहालेमा पशुचौपयालाई मार्ने हो कि भन्ने उनको चिन्ता छ। त्यसैमाथि ढुंगा अड्किएको ठाउँमुनिको बाटोबाटै स्याँला र अवल्धाराका स्थानीयहरु जंगल आउजाउ गरिरहन्छन्।