कानुन बनाउँदा पार्टी हाेइन देश र जनतालाई हेर्नुपर्छ: सांसद जैसवाल

राष्ट्रिय प्रजातन्त्र पार्टीकी युवा नेत्री एवं सांसद वीना जैसवाल संसद्मा समसामयिक विषयमा स्पष्टरूपमा विचार व्यक्त गर्नेेमध्ये एक हुन्। 

तराई मधेसमा रहेको मिटरब्याजसम्बन्धी समस्यालाई सदाका निम्ति अन्त्य गर्न उनले बारम्बार संसद्मा आवाज उठाउँदै आइरहेकी छिन्। 

संसदीय अभ्यासमा सक्रिय भूमिका निर्वाह गर्ने सांसद जैसवाल आफू तथा आफ्नो पार्टीले जनताको चासोका विषय तथा सामसामयिक विषयमा सदनमा खरो ढङ्गले प्रस्तुत हुँदै आएको बताउँछिन्। 

'निर्वाचनका क्रममा जनतासमक्ष गरेको प्रतिबद्धता, आफ्नो पार्टीले अगाडि सारेको मुद्दा तथा समसामयिक विषयलाई हामीले सदनमा उठाइरहेका छौँ। निर्वाचनको बेला जे मुद्दा उठाइएको थियो, त्यही विषय हामीले दोहोर्याइरहेका छौँ', उनी भन्छिन्। 

गत वर्ष मङ्सिरमा निर्वाचन सम्पन्न भएर संसद् गठन भएको पनि झण्डै एक वर्ष पुग्न लागेको छ तर सांसद जैसवाल संसद्मा सांसदको भूमिकालाई लिएर सन्तोष मान्ने अवस्थामा  छैनन्। उनी भन्छिन्, 'झण्डै एक वर्षको संसद्को अभ्यास हेर्दा त्यति सन्तोषजनक लागिरेहेको छैन।'

सदनमा निर्धक्कसँग जनताले उठाएका विषय राख्न नपाएको सांसद जैसवालको गुनासो छ। सदनमा भइरहेको अवरोध तथा समय अभावका कारण आफूले जनताको मुद्दा सदनमा उठाउन नसकेको उनी बताउँछिन्। 

'आकस्मिकरूपमा घटेका घटनाबाट जनतामा परेको असरका बारेमा कुरा उठाउन खोज्दा सदन अवरोध भइरहेको हुन्छ। जनताको अपेक्षा बढी छ। उनीहरूले आफ्नो जनप्रतिनिधिले सदनमा ती कुरा उठाइदिए हुन्थ्यो भन्ने आशा गर्छन्। जनताको कुरा सदनमा राख्छुभन्दा कहिले अवरोध हुने त कहिले पालो नपाउने भइरहेको छ', सांसद जैसवाल भन्छिन्। 

संसद्को शून्य समयमा कहिलेकाहीँ पालो आए पनि एक मिनेटमा सबै विषय राख्न नसकिने उनको भनाइ छ। 'सांसदले भोग्नुपरेको समस्या जनतामा राख्दा उहाँहरुले पनि नबुझ्ने अवस्था छ। यद्यपि जनताको मुद्दा उठाइरहेका छौँ। पछिल्लो ११ महिनाको संसदीय अभ्यासलाई हेर्दा सोचेजस्तो भइरहेको छैन', सांसद जैसवाल  भन्छिन्। 

संसद्को मुख्य भूमिका कानुन निर्माण नै भएकाले देश र जनताको हितमा हुने कानुन निर्माण गर्नुपर्छ। कानुन निर्माण गर्दा पार्टी, विचार र व्यक्ति नभई देश र जनतालाई हेर्नुपर्नेमा सांसद जैसवालको  जोड छ। 

'देश जनताका पक्षमा दीर्घकालसम्म टिकाउ हुने कानुन निर्माण गर्नुपर्छ । कुनै पनि नीति, नियम, कानुनले लामो समयसम्म प्रभावकारी काम गरोस् भन्नका लागि देश र जनताको हित हेरिनुपर्छ। पटकपटक कानुन परिवर्तन गरिरहँदा समय बर्बाद हुन जान्छ', उनी भन्छिन्। 

विसं २०४६ फागुन २२ गते पर्साको वीरगञ्जमा जन्मनुभएकी सांसद जैसवाल  उच्च शिक्षा अध्ययनकै क्रमदेखि राजनीतिमा आबद्ध हुँदै आइरहेकी छिन्। सांसद जैसवालले व्यवस्थापन विषययमा स्नातकोत्तर गरेकी छिन्। 

मधेसी समूहअन्तर्गत् समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी उनी  २०७८ सालदेखि राप्रपामा आबद्ध छिन्। 

प्रतिपक्षी भनेको संसदीय प्रक्रियामा अवरोध सिर्जना गर्ने पक्ष हो भन्ने भाष्य चिर्न आवश्यक रहेको सांसद जैसवालको भनाइ छ। 

'कहिलेकाहीँ प्रमुख प्रतिपक्षीबाट कुनै पनि हालतमा संसद् चल्न नदिएर प्रक्रियामा ढिलाइ होस् भन्ने सोच राखिएको पनि देखिन्छ, आमजनतामा पनि एउटा भाष्य के बनेको छ भने प्रतिपक्ष भनेको संसदीय अभ्यासमा ढिलाइ गर्ने, संसद् अवरुद्ध गर्ने भन्ने छ तर मलाई त्यस्तो लाग्दैन। प्रतिपक्षले जनताको प्रत्यक्ष सरोकार भएको विषयमा सरकारको धारणा माग गर्नुपर्छ', उनी भन्छिन्। 

प्रकाशित मिति: : 2023-10-27 10:49:00

प्रतिकृया दिनुहोस्